काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई प्रदूषणमुक्त बनाउँदै काठमाण्डौलाई सुरक्षित, हरित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने घोषणा गरेका छन्।
‘काठमाण्डौ जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण, वायु प्रदूषण न्यूनीकरण र सहरी वातावरण सुधारका लागि संघीय सरकारले स्थानीय तहसँग सहकार्य गरेर ठोस कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।
काठमाण्डौ क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसदसमेत रहेका श्रेष्ठले अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनका कारण उपत्यकाको प्राकृतिक स्वरूप गम्भीर संकटमा परेको बताए।
बाल्यकालमा बागमती र विष्णुमतीको स्वच्छ पानी पिएको र ती नदीमा नुहाएको स्मरण गर्दै उनले अहिले तिनै नदी प्रदूषित र संकटग्रस्त बनेको देख्दा दुःख लाग्ने गरेको सुनाए।
उनले पछिल्ला दशकमा बढेको अव्यवस्थित कंक्रिट संरचना, खुला जमिनको अतिक्रमण र पोखरी मासिने क्रमले काठमाण्डौको वातावरणीय जोखिम बढाएको उल्लेख गरे।
वर्षाको पानी जमिनमा सोसिने प्राकृतिक प्रणाली कमजोर हुँदा सहरी बाढीको जोखिम बढेको र धुलो–धुवाँका कारण ऐतिहासिक सम्पदासमेत प्रभावित भएको उनको भनाइ थियो।
आगामी मनसुनअघि नै नदी संरक्षणको काम सुरु गरिने
श्रेष्ठले बागमती र विष्णुमतीसहित उपत्यकाका नदीहरूको संरक्षणका लागि प्रकृतिमा आधारित योजना कार्यान्वयन गर्ने बताए।
नदीलाई कंक्रिटका पर्खालभित्र सीमित गर्नुको सट्टा प्राकृतिक बहाव कायम राख्ने र नदी प्रणालीको पुनर्स्थापनामा जोड दिइने उनको भनाइ छ।
यसका लागि विष्णुद्वार, वाग्द्वार, नागार्जुन र गोदावरीलगायतका जलाधार क्षेत्र तथा मुहान संरक्षणलाई प्राथमिकता दिइनेछ।
जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाण्डौ महानगरपालिका तथा नदी प्रणालीसँग जोडिएका आसपासका १७ नगरपालिकासँग समन्वय गरेर आगामी मनसुनअघि नै काम सुरु गर्ने उनले घोषणा गरे।
बाढीको जोखिमबारे घरघरमा पूर्वसूचना पुर्याइने
सरकारले सहरी बाढी र हिमनदीजन्य विपद्को जोखिम कम गर्न पूर्वसूचना प्रणाली थप प्रभावकारी बनाउने भएको छ।
जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको पूर्वानुमान तथा जोखिम मूल्यांकन प्रणाली सुधार गरिने श्रेष्ठले जानकारी दिए।
बाढी आउनुअघि नै सम्बन्धित वडा र घरपरिवारसम्म सूचना पुग्ने व्यवस्था मिलाउन महानगरपालिका तथा अन्य स्थानीय तहसँग सहकार्य गरिनेछ।
हिमनदी पग्लिने क्रम, हिमपहिरो र जोखिमयुक्त हिमचट्टानको अनुगमनमा वैज्ञानिक, प्राविधिक, अभियन्ता तथा युवालाई सहभागी गराइने पनि उनले बताए।
पछिल्लो ४६ दिनभित्र तीनवटा नदी करिडोरमा ठूला ढुंगा र गेग्रानसहितको बाढी आएको घटनालाई उनले जलवायु संकटको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गरे।
सडकमा रैथाने रूख, घरघरमा आकाशे पानी संकलन
काठमाण्डौको बढ्दो तापक्रम नियन्त्रण र भूमिगत पानीको सतह जोगाउन सरकारले हरित पूर्वाधार निर्माणमा जोड दिने भएको छ।
श्रेष्ठका अनुसार घरघरमा आकाशे पानी संकलन गर्ने प्रणाली, पानी सोस्न सक्ने पैदलमार्ग तथा खुला स्थान र मुख्य सडक किनारमा रैथाने प्रजातिका रूख रोप्ने कार्यक्रम अघि बढाइनेछ।
यसका लागि काठमाण्डौ महानगरपालिकाले उपयुक्त स्थान पहिचान गरेपछि संघीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
उनले लोपोन्मुख अवस्थामा पुगेका पुराना ढुंगेधारा (हिटी) र राजकुलो पुनर्स्थापनामा काठमाण्डौ महानगरपालिकाले गरेको प्रयासको प्रशंसासमेत गरे।
विद्युतीय यातायात विस्तार र प्रदूषण नियन्त्रणमा जोड
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले काठमाण्डौको वायु प्रदूषण नियन्त्रणका लागि विद्युतीय सार्वजनिक यातायात विस्तार, स्वच्छ इँटाभट्टा प्रवर्द्धन र खुला रूपमा फोहोर जलाउने गतिविधि नियन्त्रण गरिने बताए।
वायु गुणस्तरसम्बन्धी तथ्यांक नागरिकको पहुँचमा खुला राखिने र जाडोयाममा बढ्ने प्रदूषण नियन्त्रणका लागि अक्टोबरअघि नै आवश्यक तयारी पूरा गर्ने योजना रहेको उनले जानकारी दिए।
त्यस्तै, फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने गरी टेकुस्थित बायोग्यास प्लान्ट शीघ्र सञ्चालनमा ल्याउने योजनासमेत अघि सारिएको छ।
यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाण्डौ महानगरपालिकाबीच भएको समझदारी कार्यान्वयन गर्दै घरबाटै फोहोर वर्गीकरण गर्न नागरिकलाई प्रोत्साहित गरिनेछ।
हरित बन्ड र जलवायु कोषमार्फत लगानी जुटाइने
सहरी वातावरण सुधार र जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक वित्तीय स्रोत जुटाउन सरकारले हरित बन्ड तथा अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालनमा जोड दिने भएको छ।
श्रेष्ठका अनुसार ‘जलवायु वित्त शिखर सम्मेलन’मार्फत हरित लगानी आकर्षित गर्न नगर विकास कोषसँग सहकार्य गरिनेछ।
भोटेकोशी क्षेत्रमा आएको विपद्ले आपत्कालीन उद्धारसँगै विपद्पछिको पुनर्लाभका लागि तत्काल परिचालन गर्न सकिने वित्तीय संयन्त्रको आवश्यकता स्पष्ट पारेको उनले बताए।
जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता विपद्को ठूलो क्षति नेपालीले व्यहोर्नुपरेको भन्दै उनले जलवायु न्यायको मुद्दासमेत उठाए।
‘काठमाण्डौको गल्ती अरू सहरले नदोहोर्याऊन्’
श्रेष्ठले तीव्र सहरीकरण भइरहेका देशका अन्य नगरपालिकालाई काठमाण्डौमा भएका कमजोरीबाट पाठ सिक्न आग्रह गरे।
नदी, पोखरी, खुला क्षेत्र र प्राकृतिक जलनिकास संरक्षण नगरी गरिने सहरी विकास दीर्घकालमा जोखिमपूर्ण हुने उनको भनाइ थियो।
उनले प्रविधिको उपयोग र परम्परागत ज्ञानको संयोजनबाट जलवायु संकटको सामना गर्न सकिने बताए। कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिनै विपद्सम्बन्धी सूचना पठाउन सक्ने सञ्चार प्रणाली विकास गरेको उदाहरण दिँदै उनले नवीन प्रविधिमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए।
श्रेष्ठले भविष्यको काठमाण्डौलाई हरियालीयुक्त सडक, सुरक्षित साइकल लेन, स्वच्छ नदी करिडोर, पुनर्जीवित ऐतिहासिक बस्ती र पर्याप्त खुला स्थान भएको आधुनिक सहरका रूपमा विकास गर्ने परिकल्पना प्रस्तुत गरे।
उनले नागरिकले सहज रूपमा हिँडडुल गर्न सक्ने, बालबालिकाले सुरक्षित रूपमा खेल्न पाउने, ज्येष्ठ नागरिकले खुला पार्कमा समय बिताउन सक्ने र आधुनिक व्यापारिक गतिविधिसमेत फस्टाउने सहर निर्माणका लागि सबै तहका सरकार तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।