भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले भने, 'हाम्रा युवाको हातमा रोजगारी र अवसर पुग्नुपर्छ । विद्यार्थीका सपनाले नयाँ क्षितिज पहिल्याउनुपर्छ । उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ ।'
नयाँ दिल्ली — प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भारतबीचको समझदारी र प्रतिफल किसानका खेतमा समृद्धिका रुपमा देखिनुपर्ने बताएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भने, 'आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल हाम्रा किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । हाम्रा युवाको हातमा रोजगारी र अवसर पुग्नुपर्छ । विद्यार्थीका सपनाले नयाँ क्षितिज पहिल्याउनुपर्छ । साथै, हाम्रा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।'
उनले भर्खरै प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न गरेको र शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यका साथ भएको वार्तामा बहुआयामिक द्विपक्षीय सम्बन्धका सबै पक्षमा खुला, सार्थक र भविष्यकेन्द्रित छलफल भएको बताए । नेपाल–भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको र प्रमुख पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यास पनि गरिएको उनले जानकारी गराए ।
'यी ऐतिहासिक उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछन् भन्नेमा म विश्वस्त छु । अहिलेको आवश्यकता भनेको हाम्रो दिगो सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि सुदृढ आधारस्तम्भ निर्माण गर्नु हो,' उनले भने ।
आपसी सम्मान, अटल विश्वास र निरन्तर सद्भाव नेपाल–भारत सम्बन्धका आधारस्तम्भ भएको उनको भनाइ थियो । 'हाम्रो यो अतुलनीय सम्बन्धको केन्द्रमा दुवै देशका जनता छन् । नेपाल र भारतबीचको सम्बन्ध हिमालयझैँ अटल र समुद्रझैँ विशाल छ । यो सम्बन्ध यति गहिरो छ कि शब्दमा व्यक्त गर्नसमेत कठिन छ,' उनले भने ।
भरपर्दो र विश्वासिलो छिमेकीका रूपमा भारतले प्राकृतिक विपत्ति र कठिन परिस्थितिमा सधैँ पहिलो उद्धारकर्ताका रूपमा साथ दिँदै आएको उनले स्मरण गरे । यसका लागि म भारत सरकार र त्यहाँका जनताप्रति उनले हार्दिक आभार पनि व्यक्त गरे ।
'हाम्रा हिमाल स्वच्छ पानीका स्रोतका रूपमा यस क्षेत्रका लाखौँ मानिसको जीवन धानिरहेका छन् । हिमालबाट गंगासम्म बग्ने स्वच्छ नदीहरूले हामीलाई हाम्रो भविष्य र नियतिको स्मरण गराउँछन्,' उनले भने, 'यसले जलवायु परिवर्तनका चुनौती सामना गर्न सामूहिक प्रयास गर्नुपर्ने आवश्यकतालाई पनि उजागर गर्छ ।'