कात्तिक ९ मा एक साताका लागि चीन गएका फक्ताङलुङ गाउँपालिका–७ याङमाका सातजना हिउँले सीमाक्षेत्रको बाटो बन्द हुँदा डिङजे काउन्टीको रिउमै आफन्तकहाँ बसेका छन्।
ताप्लेजुङ — नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली फर्कन पाएका छैनन् ।
चीनले एक्स्काभेटर मेसिनलगायतको प्रविधिबाट कतिपय स्थानको हिउँ पन्छाए पनि सीमा क्षेत्रकै हिउँ भने पन्छाएको छैन । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार नेपालतर्फको हिउँ पन्छाउन मेसिन छैन । उपकरण बिना यो क्षेत्रको हिउँ हटाएर बाटो खुलाउने सम्भावना पनि कम भएको उनले बताए । ‘हिउँले बाटो बन्द भएपछि हाम्रा ७ जना उतै रिउँतिरै बसिरहेका छन्,’ छेतेनले भने, ‘पछिल्ला दिनमा मज्जाले घाम लागेकाले हिउँ कम होला र फर्काउन सकिएला भन्ने लागेको छ ।’
वडा कार्यालयका अनुसार ल्हामु शेर्पा, लोप्साङ शेर्पासहित ५ महिला र २ पुरुष रिउमा छन् । उनीहरु याङमाका हुन् । कात्तिक ९ मा उनीहरु आफन्त भेट्न रिउ गएका थिए। त्यहाँ पुगे लगत्तैदेखि हिउँ पर्न थालेको हो । कात्तिक अन्तिम साता हिमपात बढेपछि बाटो संचालनमा ल्याउनै कठिन भएको छेतेनले बताए ।
सामानयतया चीन जाँदा एक साताको समय लिएर जाने गरिएको छ । तर उनीहरु त्यहाँ पुगेपछि परेको हिउँ छिचोल्न सक्ने अवस्था नभएकाले उतै रोकिएका छन् । ‘रिउमा आफन्त छन् त्यतै बसेका छन्,’ छेतेनले भने, ‘बस्ने सुविधा त्यहाँको सरकारले निःशुल्क दिएको छ ।’
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।