Trending
Prev Story
Next Story

विचार | ट्रम्प, सी र पुटिनबीचको शिखर वार्ताले ल्याएको तरंग

Ekantipur •
November 23, 2026 • 01:33 AM
4
4 reads 0 reactions

अमेरिका, चीन र रसियाका राष्ट्रपतिबीचको शिखर वार्ता कुनै निश्चित मुद्दाको समाधान खोज्ने सामान्य छलफलभन्दा पनि बहुध्रुवीय विश्व व्यवस्थाको उदयको प्रारम्भिक चरणमा भएको महत्त्वपूर्ण वार्ताका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

विचार | ट्रम्प, सी र पुटिनबीचको शिखर वार्ताले ल्याएको तरंग

अमेरिका, चीन र रसियाका राष्ट्रपतिबीचको शिखर वार्ता कुनै निश्चित मुद्दाको समाधान खोज्ने सामान्य छलफलभन्दा पनि बहुध्रुवीय विश्व व्यवस्थाको उदयको प्रारम्भिक चरणमा भएको महत्त्वपूर्ण वार्ताका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

गत मंसिर ३ गते चीनको बेइजिङबाट हवाई दूरीमा झन्डै दुई हजार किलोमिटरको दूरीमा अवस्थित सेन्जेन सहरमा अमेरिका, चीन र रसियाका राष्ट्रपतिबीच त्रिपक्षीय शिखर वार्ता भयो । यसले संकेत गरेको नयाँ विश्व राजनीतिले जी–२० मार्फत सुरु भएको नयाँ ढंगको बृहत् बहुपक्षीय कूटनीतिको युगको औचित्य र भविष्यमै प्रश्न उठाएको हो ? जी–२० सन् १९९० को दशकको अन्त्यतिर एसियालगायत विश्वका विभिन्न देशमा देखिएको आर्थिक संकटको समाधान खोज्न विकसित र तीव्र गतिमा आर्थिक विकास गरिरहेका २० प्रमुख अर्थतन्त्रको बहुपक्षीय साझा मञ्च हो । बदलिँदो विश्व शक्ति सन्तुलन र प्रमुख शक्तिराष्ट्रहरूबीच विकसित हुँदै गएको नयाँ रणनीतिक समीकरणले जी–२० को अस्तित्व र सान्दर्भिकतामा चुनौती खडा गरेको हो भने अबको विश्वव्यवस्था कस्तो हुनेछ ?

त्रिदेशीय शिखरवार्ता र यस क्रममा विकसित राजनीतिले दुई नयाँ भविष्यलाई प्रस्ट संकेत गरेका छन् । पहिलो, चीनले बडो कूटनीतिक तरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा बहुपक्षीयताको मुद्दालाई आफ्नो पोल्टोमा पारेको देखिन्छ । तर यो चीनको एकल मुद्दा बन्यो भन्ने पक्कै होइन । तत्कालका लागि अमेरिका र रसिया बृहत् बहुपक्षीयताको पक्षमा नरहेको अवस्थामा चीनको रणनीति र त्यसमा युरोप तथा एसियाका शक्तिराष्ट्रको प्रतिक्रिया आगामी दिनको विश्व राजनीतिको शक्ति सन्तुलनमा निर्णायक हुने पक्काजस्तै देखिन्छ । त्यसले नै दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संगठनहरू र बहुपक्षीय मञ्चहरूको भावी दिशा र भूमिकासमेत निर्धारण गर्नेछ । यस अर्थमा चीनले सबैभन्दा धेरै अपनत्व लिन खोजिरहेको बहुपक्षीय अन्तर्राष्ट्रिय राजनीतिमा जी–७ राष्ट्रका अर्थमन्त्रीहरूको प्रमुख सक्रियताका सुरुआत भएको जी–२० लाई कति महत्त्व र प्राथमिकता दिन्छ भन्ने विषय आगामी दिनमा चीनको राजनीतिक मनोभाव बुझ्ने एक प्रमुख आधार हुनेछ । शब्द ‘बहुपक्षीय’ नै रहे पनि यसको सिद्धान्त र अभ्यासको स्वरूप परिवर्तन हुन सक्ने सम्भावना छ । त्यसैले यसतर्फ सचेत रहनु हाम्रो राष्ट्रिय स्वार्थसँग पनि प्रत्यक्ष जोडिएको विषय हो ।

दोस्रो, तीन देशका नेताले तत्कालका लागि भए पनि आफ्ना राजनीतिक कठिनाइबाट जोगिन र विश्व राजनीतिको केन्द्रमा आफूलाई राखिरहन सेन्जेन शिखर वार्ता वा यस्तै प्रकारका फोरमहरूलाई उपयोग गर्ने सम्भावना छ । अहिले उनीहरू एकै ठाउँमा जुट्नु र कुनै ठोस सहमतिबिना पनि वार्ता पूर्ण उपलब्धिमूलक भनिनुलाई आधार मानेर विश्वभर यसरी नै विश्लेषण भइरहेको तथ्य पनि मनन गर्न आवश्यक छ ।

शब्दजाल जसरी बुने पनि तत्कालका लागि बृहत् बहुपक्षीय अन्तर्राष्ट्रिय राजनीतिभन्दा त्रिमूर्ति राजनीतिले राजनीतिक भाष्य र सम्बन्धहरूलाई निर्धारण गर्ने देखिन्छ । अहिलेको विश्वव्यवस्थालाई यहाँभन्दा बाहिर बसेर व्याख्या गर्न कठिन छ । खासमा, सेन्जेन शिखर वार्ताको अवसर एसिया–प्रशान्त क्षेत्रका २१ वटा अर्थतन्त्रका राष्ट्रप्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरू सहभागी एपेक शिखर सम्मेलनले जुराएको थियो । उक्त सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यङ पनि सहभागी थिए । त्रिदेशीय शिखर वार्तामा कोरियाली प्रायद्वीपको मुद्दा उठ्ला वा नउठ्ला कि भन्नेबारेमा उनीसहित सिंगो कोरियाको ध्यानाकर्षण भएको थियो । एक हप्तासम्म कोरियाली सञ्चारमाध्यममा यही नै प्रमुख समाचार बनिरह्यो ।

एपेक शिखर सम्मेलनमा सहभागी भएका दक्षिण कोरियाली राष्ट्रपतिले सबैभन्दा धेरै समय र ऊजा त्रिपक्षीय शिखरवार्ता अगाडि तीनै जना राष्ट्रपतिसँग संवाद गर्नमा खर्च गरे, ताकि त्रिपक्षीय वार्तामा दक्षिण कोरियालाई असर पर्ने गरी कोरियाली प्रायद्वीपका बारेमा छलफल नहोस् । यसै अवसरमा कोरिया र रसियाका राष्ट्रपतिबीच सात वर्षमा पहिलो पटक प्रत्यक्ष संवाद भएको थियो । जबकि सन् २०२५ जुनमा दक्षिण कोरियाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका म्यङले डेढ वर्षको अवधिमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तीन पटक र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग चार पटक प्रत्यक्ष भेटवार्ता गरिसकेका छन् । अर्थात्, सबै शक्तिराष्ट्रसँग द्विपक्षीय र त्यसलाई आधार मानेर बहुपक्षीय फोरमहरूमा सक्रिय हुनैपर्ने कूटनीति संसारका प्राय: सबै देशलाई विकल्प नभई तत्कालको एकमात्र मार्ग बनेको छ ।

त्रिपक्षीय वार्तामा कसलाई कति लाभ ?

त्रिपक्षीय शिखर वार्ताको वास्तविक विजेता को हो भन्नेबारे विश्वभर चर्चा भइरहेको छ । कसले जित्यो वा हार्‍यो भनेर ठोस निष्कर्ष निकाल्न सकिने अवस्था नरहे पनि यस ऐतिहासिक वार्ताले कुन देशलाई कस्तो रणनीतिक लाभ दियो भन्ने विषयमा विश्वव्यापी बहस जारी छ ।

यसका दुई आयाम रमाइला छन् । पहिलो, पात्र–विशेष, त्यसमा पनि शक्तिराष्ट्र र तिनका नेतृत्वबीचको सम्बन्ध तथा स्वार्थलाई केन्द्रमा राख्ने, तर विश्वव्यापी संरचना, संस्था, मूल्य र मान्यतालाई गौण ठान्ने अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण संसारभर नै लोकप्रिय बन्दै गएको तथ्य यस शिखर वार्ताको सन्दर्भमा फेरि प्रमाणित भएको छ । यो नयाँ परिघटना भने होइन । सन् २००४–०५ तिर चीनको उदय शान्तिपूर्ण हुँदैन भन्ने जोन मियारसाइमर र शान्तिपूर्ण हुन सक्छ भन्ने डेभिड काङबीचको बहसले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो चर्चा पाएको थियो । त्यसयता चीन विश्वको पहिलो शक्तिराष्ट्र बन्न सक्छ कि सक्दैन र त्यसका आधार के हुन् भन्ने प्रश्न अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख विषय बनेको छ र आकलन गर्न सक्ने व्यक्ति नै प्रमुख विश्लेषक मानिने गरिएको छ ।

देशहरूबीचको सम्बन्धमा पारस्परिक निर्भरता, ऐतिहासिक सम्बन्ध, राजनीतिक प्रणालीको समानता, विश्व शान्तिप्रतिको प्रतिबद्धता, शान्ति र सहकार्यका लागि स्थापित संस्था एवं संगठन वा एकअर्कालाई हेर्ने दृष्टिकोण निर्णायक हुन्छन् भन्ने सिद्धान्तकेन्द्रित बहस र छलफलले पाउने महत्त्व निरन्तर ह्रासोन्मुख छ । अहिलेको घटनाक्रमलाई पनि त्यही बहसको निरन्तर शृंखलाका रूपमा बुझ्नुपर्छ । खासमा दोस्रो विश्वयुद्ध लगत्तै जसरी विश्व राजनीतिलाई विश्लेषण गरिन्थ्यो, आज त्यही दृष्टिकोण हाबी हुँदै गएको छ ।

दोस्रो, तत्कालका लागि यसलाई कुनै निर्णायक नतिजा दिने शिखर वार्ताका रूपमा भन्दा पनि नयाँ विश्व व्यवस्थाको उदयको संकेत दिने एउटा प्रारम्भिक क्षितिजका रूपमा बुझ्नु र हामी नेपालीले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई तयार पार्नु नै बुद्धिमत्तापूर्ण हुन्छ । तीन शक्तिराष्ट्रका राष्ट्रपतिहरूबीचको वार्ताबाट कसले आफ्नो रणनीतिक स्वार्थ कति पूरा गर्न सके भन्ने प्रश्नले विश्वव्यापी रूपमा चर्चा पायो । तर, यसलाई कुनै निश्चित मुद्दाको समाधान खोज्ने सामान्य छलफलभन्दा पनि बहुध्रुवीय विश्व व्यवस्थाको उदयको प्रारम्भिक चरणमा भएको महत्त्वपूर्ण वार्ताका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

शिखर वार्ता सम्पन्न गरी वासिङ्टन फर्किएलगत्तै ट्रम्पले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गर्दै आफ्नो एसिया भ्रमण अत्यन्तै सफल भएको दाबी गरे । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशन भइरहेका विश्लेषणहरू हेर्दा ट्रम्पले यस वार्ताबाट कुनै ठोस कूटनीतिक नतिजा हासिल गरेनन्, बरु मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोर्नुपरेको धक्कापछि अमेरिकी आन्तरिक राजनीतिमा सिर्जित दबाबसँग जुध्न कूटनीतिक रणनीतिमार्फत आफूकेन्द्रित राजनीतिक वातावरण सिर्जना गर्न खोजेका र त्यसमा अत्यन्तै सीमित सफलता प्राप्त भएको टिप्पणी गरिएको पाइन्छ ।

यस्तो त्रिपक्षीय वार्ताको प्रस्ताव अघि सारेका रुसी राष्ट्रपति पुटिन र त्यसको आयोजना तथा सञ्चालनमा नेतृत्वदायी भूमिका खेलेका चिनियाँ राष्ट्रपति सीले भने आ–आफ्ना रणनीतिक स्वार्थ पूरा गर्न सफलता हासिल गरेको विश्लेषण गर्नेहरू धेरै छन् । युक्रेन युद्धपछि बहुपक्षीय ठूला अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन कम गरेका र सहभागी हुँदा पनि निष्क्रिय देखिने पुटिनले यो त्रिपक्षीय शिखर वार्तालाई अन्तर्राष्ट्रिय मञ्चमा सानदार पुनरागमनको अवसरमा उपयोग गर्न उनी सफल भएको विश्लेषण गरिएको छ ।

विश्लेषकहरूका अनुसार त्रिपक्षीय वार्ताबाट राष्ट्रपति सीले सबैभन्दा रणनीतिक लाभ पाएका छन् । तीन वटै देशका राष्ट्रपति एउटै टेबुलमा बसेका भए पनि तीनै देशका झन्डा आफ्नो ठीक पछाडि रहने गरी राष्ट्रपति सी टेबुलको केन्द्रमा थिए भने दायाँ–बायाँ अमेरिकी र रुसी राष्ट्रपतिलाई राखेर उनले वार्ता सञ्चालन गरेका थिए । यो तस्बिर चीनको बदलिएको हैसियत र राष्ट्रपति सीको कूटनीतिक समन्वय क्षमता प्रदर्शनका लागि पर्याप्त रहेको तर्क गरिएको छ । अहिले यस्ता निष्कर्ष निकालिए पनि आउँदो डिसेम्बर १४ र १५ मा मियामीमा हुने जी–२० शिखर सम्मेलनका क्रममा पुन: त्रिपक्षीय वार्ता हुन सक्छ वा सक्दैन र भए त्यसले कस्तो कूटनीतिक चित्र प्रस्तुत गर्छ भन्ने कुराले अहिलेका धेरै विश्लेषणलाई पुनर्विचार र परिमार्जन गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्छ ।

त्रिपक्षीय शिखर वार्ताको सन्दर्भमा सबैभन्दा बढी चर्चा सन् १९४५ को ऐतिहासिक ‘याल्टा सम्मेलन’को भएको थियो । युक्रेनको क्रिमिया प्रायद्वीपमा अवस्थित याल्टा सहरमा सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्य्रांकलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन एउटै टेबुलमा बसेर दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए । याल्टा सम्मेलनले साना देशहरूको भविष्यबारे ठूला शक्तिराष्ट्रहरूले आफूखुसी निर्णय गर्ने र विश्व राजनीतिमा देशहरूको भूमिका उनीहरूको शक्ति र सामथ्र्यले निर्धारण गर्ने शक्ति असन्तुलनको राजनीतिक मान्यतामा आधारित नयाँ विश्व व्यवस्थाको बीजारोपण गरेको थियो । शीतयुद्ध हुँदै यो व्यवस्था संस्थागत भयो र यसको निरन्तरता आज पनि कायम छ । सेन्जेन सम्मेलनले पनि युक्रेन, उत्तर कोरिया जस्ता देशहरूका बारेमा निर्णय गर्न सक्ने अपेक्षाका बीच यसलाई दोस्रो याल्टा सम्मेलनको संज्ञा दिएको थियो । औपचारिक रूपमा त्यस्तो निर्णय नभए पनि अनौपचारिक रूपमा त्यस्ता निर्णय भएको त होइन भन्ने शंका यथावत् छ ।

यस शिखर वार्ताको सबैभन्दा पृथक् पक्ष के थियो भने, युरोपेली शक्तिराष्ट्रहरूको प्रत्यक्ष सहभागिता यसमा रहेन । जर्मन चान्सलर फ्रेडरिक मर्जले त्यसैलाई संकेत गरेर आफ्नो असन्तुष्टि पोख्दै भने, ‘सेन्जेनमा भएको वार्ता वास्तवमा फोटो खिच्ने अवसरमा मात्र सीमित रह्यो । युक्रेन र युरोपको सहभागिताबिना शान्तिवार्ता सफल हुन सक्दैन ।’ यस्ता त्रिपक्षीय शिखर वार्तालाई निरन्तरता दिन तीन देश इच्छुक देखिएको वर्तमान सन्दर्भमा युरोपले लिने रणनीति र त्यसमा एसियाका शक्ति राष्ट्रहरूको सहभागिताले विश्व राजनीतिको शक्ति सन्तुलनको अवस्थालाई निर्धारण गर्ने देखिन्छ ।

दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको चर्चा गर्दा संयुक्त राष्ट्रसंघमा सबै सदस्य राष्ट्रको समान सार्वभौमिक हैसियत रहेको चर्चा गर्ने गरिन्छ । तर सुरक्षा परिषद्का पाँच स्थायी सदस्यलाई दिइएको विशेषाधिकार (भिटो) ले विश्व राजनीतिमा शक्ति असमानताको वास्तविकता उजागर पार्छ । राजनीतिक निर्णयका लागि सुरक्षा परिषद् र आर्थिक विषयहरूमा जी–७ को भूमिका धेरै निर्णायक रह्यो । तर सन् १९९० को दशकको अन्त्यतिर र २००७–०८ को विश्वव्यापी आर्थिक संकटको सामना गर्ने सन्दर्भमा स्थापित प्रमुख आर्थिक शक्तिहरू मात्र पर्याप्त नहुने, उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समेत सक्रिय र निरन्तर सहभागिता रहने साझा मञ्च आवश्यक रहेको मनन गर्दै जी–२० को नयाँ अभ्यासको उदय भएको थियो । यस क्रममा सन् १९९९ मा जी–२० अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको साझा फोरम हुँदै २००८ मा जी–२० राष्ट्रस्तरीय शिखर सम्मेलनमार्फत जी–२० को अभ्यास सुरु भयो ।

जी–२० मा प्रतिनिधित्व गर्ने देशहरूले विश्वको कुल जनसंख्याको करिब दुईतिहाइ (६७ प्रतिशत) र कुल विश्व अर्थतन्त्रको करिब ८५ प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छन् । हालसम्म २० वटा शिखर सम्मेलन गरिसकेको जी–२० लाई संस्थागत गर्ने र थप प्रतिनिधिमूलक बनाउनेभन्दा शक्तिराष्ट्र केन्द्रित जी–३ को युगको घोषणा गर्न उद्यत त्रिदेशीय शिखर वार्ताको भविष्य कस्तो होला र त्यसमा पनि २०२६ डिसेम्बर १४ र १५ मा मियामीमा आयोजना हुने जी–२० शिखर सम्मेलनपछि पनि यसले सेन्जेन एपेक शिखर सम्मेलन जस्तै निरन्तरता पाउला वा नपाउला भन्ने विषयले विश्वको ध्यान तानेको छ ।

सञ्जीव हुमागाईं राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तका अध्येता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

सेन्जेन। चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

#चीन #अमेरिका
Compare →
Nagarik News
3d ago
चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

#चीन #अमेरिका
Compare →

Related Stories

Opinion & Editorial
Build #2612