अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेको झन्डै ९ महिना भइसकेको छ । अहिले यो युद्ध पश्चिम एसियाभर विस्तार भएको छ
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कागजी नभएर वास्तविक सम्झौता गर्न चाहेको बताएका छन् । इरानले ५१ वर्षदेखि विश्वमा दादागिरी गरिरहेको आरोप पनि उनले बताए ।
'अहिले उनीहरूले सम्झौता गर्न चाहेका छन् । तर मलाई स्वीकार्य हुने खालको सम्झौता गर्न खोजिरहेका छैनन् । हामी नक्कली होइन, वास्तविक सम्झौता गर्न चाहन्छौँ,' ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । इरानले कहिल्यै आणविक हतियार नपाउने अडान उनले दोहोर्याए । अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेको झन्डै ९ महिना भइसकेको छ । अहिले यो युद्ध पश्चिम एसियाभर विस्तार भएको छ । पछिल्ला दिनहरूमा इरान र अमेरिकाबीच ठूलो युद्ध भएको छैन । तर इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियामाथि लगातार आक्रमण गरिरहेको छ ।
अरब राष्ट्रहरूले पूर्ण युद्ध रोक्न मध्यस्थता प्रयास गरिरहेका छन् । एक कूटनीतिज्ञका अनुसार हर्मुज जलमार्गमा आवागमन सहज बनाउने र यसको बदलामा इरानमाथिको प्रतिबन्धलाई खुकुलो बनाउने विषय वार्ताको टेबुलमै छ । आणविक वार्तालाई लिएर पनि समाधान खोजिँदै छ ।
छिटफुट आक्रमणका घटना भने भइरहेकै छन् । यसै साता केश्म टापुस्थित रिभोलुसनरी गार्डको क्षेप्यास्त्र अखडामा अमेरिकी आक्रमणको बदलामा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सेनाका आधार इलाकामा आक्रमण गरेको छ । यद्यपि, विश्लेषकहरूका अनुसार दुवै पक्ष ठूलो युद्धमा फर्कन अनिच्छुक देखिन्छन् । अमेरिकाले इरानी तेल रोक्न जलसेनाको नाकाबन्दी र आर्थिक दबाब कायमै राखेको छ । यसले सम्झौताको सम्भावनालाई थप पेचिलो बनाएको छ ।