लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको अर्थमन्त्री वाग्लेको दाबी।
नयाँदिल्ली — भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्दाको सुखद अनुभव सुनाएका छन् । भारतका उद्योगी श्रीकान्त सोमानी, पन्जाब बैंकका अशोध चन्द्र, एसियन पेन्ट्स नेपालका प्रनिनिधिलगायत लगानीकर्ताले नेपालमा लगानी गर्दा आफूहरूलाई राम्रो अनुभव भएको र थप लगानी विस्तार गर्ने तयारी रहेको जनाए ।
भारतीय उद्योग परिसंघ (सीआईआई) ले आइतबार नयाँ दिल्लीमा आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय लगानीकर्ताले नेपालमा लगानीको राम्रो सम्भावना रहेको पनि बताए । सोही क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । सरकारले लगानीका लागि आवश्यक सबै सुधार गर्ने उनको प्रतिबद्धता छ ।
सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आग्रह छ । ‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दछु,’ वाग्लेले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।’ नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि अर्थमन्त्री वाग्लेले प्रस्ट्याए ।
लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको अर्थमन्त्री वाग्लेको दाबी छ ।
कार्यक्रममा भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले दुई देशको सम्बन्ध, व्यापार र लगानीबारे चर्चा गरे । ‘प्रधानमन्त्री वालेन्द्र शाह जति छिटो हिँड्छन्, मुलुकमा विकासको गति पनि सोही गतिमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘नेपालको क्रिकेट पूर्वाधारमा भारतका लगानीकर्ता प्रोत्साहित छन् ।’ शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसंग निकाल्दै उनले भारतका लगानीकर्ताका लागि नेपालको क्रिकेट पूर्वाधारमा लगानीको प्रशस्त सम्भावना रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीच व्यापार, पारवहन, पूर्वाधार, ऊर्जा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न प्राथमिकता अघि सारे । नेपाली उद्योगले भारतमा भोगिरहेका व्यापारिक अवरोध समाधानका लागि दुवै देशका निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने उनको भनाइ छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि नेपाली उद्योगले भारतीय बजारमा अपेक्षित पहुँच पाउन नसकेको उनले जनाए ।
उनका अनुसार भारतले गत वर्ष ९४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो । नेपालले भने भारतीय लगानी आकर्षित गर्न नीतिगत सुधार र लगानी प्रक्रियालाई सहज बनाउने काम गरिरहेको छ । हाल १ सय २ वटा उद्योगमा स्वचालित प्रक्रियाबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था गरिएको र ५९ वटा ऐन तथा करिब ५ सय कानुनी प्रावधान संशोधनको प्रक्रियामा रहेको उनले बताए ।
भारतीय लगानीकर्ताका लागि नेपाल राम्रो गन्तव्य मुलुकका रूपमा रहेकाले ढुक्क भएर लगानी विस्तार गर्न महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि आग्रह गरिन् । ‘नेपाल र भारतबीच व्यापार विस्तारका लागि अझै पनि विभिन्न नीतिगत तथा प्रक्रियागत अवरोध विद्यमान छन् । ती अवरोधको समाधान हाम्रो प्रमुख प्राथमिकता हुनुपर्छ,’ उनले भनिन् ।
नेपाल भारतीय लगानीका लागि स्वाभाविक र आकर्षक गन्तव्य भएको लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबको भनाइ छ । भौगोलिक निकटता, स्थिर विनिमय दर र नेपाली उत्पादनले भारतीय बजारमा पाउने भन्साररहित पहुँचलाई लगानीका आधारका रूपमा लिन सकिने उनले जनाइन् ।
नेपालमा १ सय २ उद्योगलाई स्वचालित स्वीकृति प्रणालीमा समेटिएको र उद्योग दर्ता १५ दिनभित्र हुने व्यवस्था रहेको उक्याबले बताइन् । ५३ परियोजनामा करिब १ खर्ब ६७ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी स्वीकृत भएको र २८ आयोजना निर्माणाधीन रहेको उनको भनाइ छ । जलविद्युत्, सौर्य ऊर्जा, हरित डेटा सेन्टर, कृषि प्रशोधन, रेलमार्ग, पर्यटन र खेल पूर्वाधारमा भारतीय लगानीको सम्भावना औंल्याउँदै उनले पुँजी, प्रविधि र बजार पहुँच भएका भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्षले वीरेन्द्रराज पाण्डेले नेपालमा भारतीय लगानी भित्र्याउन औद्योगिक सहकार्यमा जोड दिए । नेपाल–भारत आर्थिक साझेदारीलाई परम्परागत व्यापारभन्दा माथि उठाएर लगानी, औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । नेपालको अर्थतन्त्र ४५ अर्ब अमेरिकी डलरबाट १ सय अर्ब डलर पुर्याउने लक्ष्य हासिल गर्न ठूलो पुँजी, औद्योगिक विस्तार र निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उनले जनाए । जलविद्युत्, नवीकरणीय ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिमा भारतीय लगानीको सम्भावना रहेको उनले औंल्याए ।
नेपाल–भारतबीच प्राकृतिक सम्बन्ध रहेको र यसलाई संस्थागत गर्न अपरिहार्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालको धारणा छ । अब नेपाल–भारतबीचको सम्बन्धलाई आर्थिक उन्नतिको आधार बनाउनुपर्ने उनको भनाइ छ ।
बाढीप्रभावितको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सहकार्य
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघबीच नेपालका बाढीप्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार भारतीय उद्योग परिसंघले भारत सरकार तथा आफ्ना सदस्य उद्योगसँग समन्वय गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नेछ । महासंघले नेपाल सरकार, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गर्नेछ ।
सम्झौताअन्तर्गत पहिलो चरणमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने र दुई अस्पताललाई आधारभूत जीवनरक्षा सुविधासहितका एम्बुलेन्स हस्तान्तरण गर्ने योजना छ । यी कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ ।
दोस्रो चरणमा बाढीप्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना, कृषि तथा साना व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने, सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गर्ने योजना छ । प्रभावित लघु, घरेलु तथा साना उद्योगको पुनरुत्थान, वित्तीय तथा बजार पहुँच विस्तार र नेपाली तथा भारतीय उद्योगबीच व्यावसायिक साझेदारी प्रवर्द्धन गरिने पनि बताइएको छ ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।