Trending
Prev Story
Next Story

गाँजा तस्करीको जालो

Nagarik News •
November 23, 2026 • 12:24 AM
1
1 reads 0 reactions

अहिले ठुलो परिमाणमा गाँजा बरामद भएको समाचार आउनु प्रहरी सक्रियताको एउटा प्रमाण हुन सक्छ तर त्यसले गाँजाको उत्पादन र तस्करीको जालो समाप्त भएको सुनिश्चित गर्दैन।

गाँजा तस्करीको जालो

नेपालमा गाँजा खेती, उत्पादन, बिक्रीवितरण र ओसारपसार कानुनतः प्रतिबन्धित छ। कानुनले निषेध गरेको यो कारोबार ग्रामीण क्षेत्रमा फैलिँदै जानु र पटक पटक ठुलो परिमाणमा गाँजा बरामद हुनुले राज्यको नियमन तथा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ।

पछिल्लो समय पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेका घटनाले यसको खेती, संकलन, भण्डारण र सीमापार तस्करीको जालो कति संगठित रूपमा फैलिएको छ भन्ने देखाएको छ।

अझ चिन्ताजनक पक्ष त यसको अनुसन्धानका क्रममा तस्करीमा प्रहरी संगठनका केही कर्मचारी, जनप्रतिनिधि र दलका केही नेतासमेतको साँठगाँठ रहेको आशंका सार्वजनिक हुनु हो। राज्यको सुरक्षा र प्रशासनिक जिम्मेवारीमा रहेका व्यक्ति नै अवैध कारोबारको संरक्षणमा संलग्न छन् भने कानुन कार्यान्वयनको अवस्था कति कमजोर छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीबाट प्रहरीले सात हजार ८२६ किलो ८१० ग्राम गाँजा बरामद गर्‍यो। त्यसअघि कात्तिक १ गते सुनसरीको इनरुवा नगरपालिका–४ स्थित एक घरबाट करिब नौ सय किलो गाँजा बरामद भएको थियो। यी घटनाको अनुसन्धानका क्रममा बरामद गाँजा भारतीय बजारमा पुर्‍याउने उद्देश्यले संकलन तथा भण्डारण गरिएको तथ्य सार्वजनिक भएको छ।

धनकुटा, भोजपुर र उदयपुरका पहाडी तथा ग्रामीण क्षेत्रमा उत्पादन भएको गाँजा विभिन्न माध्यमबाट सुनसरी हुँदै भारतीय बजारसम्म पुर्‍याउने गरिएको अनुसन्धानबाट खुलेको छ। गाउँका किसानलाई भेला गरी तस्करीमा संलग्न व्यक्तिहरूले गाँजा भारतसम्म कसरी पुर्‍याउने भन्ने विषयमा छलफल गर्दाको सार्वजनिक भिडियोले कारोबारको संरक्षणमा संस्थागत पहुँचसमेत प्रयोग भएको आशंका जन्माएको छ। यद्यपि आरोप सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न मिल्दैन। निष्पक्ष अनुसन्धान, प्रमाणको परीक्षण र कानुनी प्रक्रियाबाट वास्तविकता बाहिर ल्याउनुपर्छ।

आरोपमाथि स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु आवश्यक छ। दोषी देखिने प्रहरी कर्मचारी, जनप्रतिनिधि वा राजनीतिक व्यक्तिलाई पद र पहुँचका आधारमा उन्मुक्ति दिनुहुँदैन। बरु कानुनको रक्षक नै कानुन उल्लंघनमा संलग्न भएको प्रमाणित भए अरूभन्दा कडा कारबाही हुनुपर्छ ।

गाँजा तस्करी नियन्त्रण गर्न बरामद र पक्राउलाई सफलताको मापदण्ड मान्ने प्रवृत्तिमा पनि सुधार आवश्यक छ। अहिले ठुलो परिमाणमा गाँजा बरामद भएको समाचार आउनु प्रहरी सक्रियताको एउटा प्रमाण हुन सक्छ तर त्यसले गाँजाको उत्पादन र तस्करीको जालो समाप्त भएको सुनिश्चित गर्दैन। खेती गर्ने किसान, संकलनकर्ता, भण्डारणकर्ता, ढुवानीकर्ता, सीमापार कारोबार गर्ने व्यक्ति र यसलाई संरक्षण गर्ने समूहसम्म पुगेर अनुसन्धान गर्नुपर्छ।

विशेषगरी यसको आर्थिक कारोबार, लगानीको स्रोत, सम्पर्क सञ्जाल र भारतीय बजारमा रहेका खरिदकर्ताको पहिचान गर्न सके मात्रै तस्करीको जरोसम्म पुग्न सकिन्छ। सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउने, स्थानीय सूचना संयन्त्रलाई प्रभावकारी बनाउने र नेपाल तथा भारतका सुरक्षा निकायबिच सूचना आदानप्रदान तथा समन्वय विस्तार गर्ने काम पनि उत्तिकै आवश्यक छ ।

अर्कातर्फ, गाँजा खेतीमा संलग्न ग्रामीण किसानको अवस्थालाई पनि राज्यले बेवास्ता गर्नुहुँदैन। पहाडी तथा दुर्गम क्षेत्रमा रोजगारी र आम्दानीका विकल्प सीमित हुँदा कतिपय किसान छिटो आम्दानी हुने लोभमा अवैध खेतीतर्फ आकर्षित भएको हुन सक्छन्। उनीहरूलाई कानुनको दायरामा ल्याउनु आवश्यक छ तर दण्डात्मक कारबाही मात्रै समस्याको स्थायी समाधान हुन सक्दैन।

गाँजा खेती हुने क्षेत्र पहिचान गरी त्यहाँका किसानलाई वैकल्पिक नगदेबाली, फलफूल, जडीबुटी तथा अन्य कृषि उत्पादनतर्फ आकर्षित गर्नुपर्छ। कृषि प्राविधिक सहयोग, उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सके किसानलाई अवैध खेतीबाट वैध आम्दानीतर्फ फर्काउन सकिन्छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले यसका लागि एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्छ।

गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने बहस पनि बेलाबेलामा उठ्ने गरेको छ। गाँजाका औषधीय तथा औद्योगिक उपयोगका सम्भावनाबारे अध्ययन र अनुसन्धान गर्नुपर्ने विषयलाई नकार्न मिल्दैन। विश्वका केही मुलुकले निश्चित मापदण्ड र नियमनका आधारमा यसको उपयोगलाई अनुमति दिएका पनि छन्। यसको अर्थ नेपालमा पनि पर्याप्त अध्ययन, पूर्वाधार, नियमन र नियन्त्रणको व्यवस्था नगरी खेती तथा बिक्रीवितरण खुला गरिनुपर्छ भन्ने होइन। औषधीय प्रयोजन, वैज्ञानिक अनुसन्धान र औद्योगिक उपयोगका सम्भावनालाई छुट्टाछुट्टै अध्ययन गरी आवश्यक नीतिगत निर्णय गर्न सकिन्छ ।

कानुनको प्रभावकारिता प्रहरीको सक्रियतामा मात्र निर्भर हुँदैन। राजनीतिक नेतृत्वको इमानदारी, प्रशासनिक निष्पक्षता, स्थानीय सरकारको जिम्मेवारी र नागरिकको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अवैध कारोबारबाट लाभ लिने समूहलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति अन्त्य नगरेसम्म नियन्त्रण अभियान प्रभावकारी हुन सक्दैन। त्यसैले गाँजा तस्करीको जालो भत्काउन उत्पादनदेखि सीमापार कारोबारसम्मको सञ्जाल पहिचान गरी कारबाही गर्नुपर्छ।

जीविकोपार्जनको वैकल्पिकको अभावमा कानुनले प्रतिबन्ध लगाएको गाँजा खेती गर्न बाध्य हुने र प्रहरी प्रशासन, जनप्रतिनिधि र राजनीतिक नेतृत्वको साँठगाँठ अवैध कारोवार र अशुलीमा संलग्न हुनु लज्जाजनक कुरा हो। यस्तो अपराधमा संलग्न जोसुकैलाई कानुनी कठघरामा उभ्याउनुपर्छ। राज्यको उपस्थिति तस्करीबाट लाभ लिने समूहको संरक्षणमा होइन, कानुनको शासन स्थापित गर्न र नागरिकको जीवनस्तर उकास्न देखिनुपर्छ।

प्रकाशित: ७ मंसिर २०८३ ०६:०९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
13h ago
भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

काठमाण्डौ । सुनसरीको धरानमा भारतीय नम्बर प्लेटको गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले नियमित...

#गाँजा
Compare →
Ekantipur
19h ago
स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले स्कार्पियो चालकलाई पक्राउ गरेको छ ।

#गाँजा
Compare →
Hamro Patro News
20h ago
धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ह...

#गाँजा
Compare →
Onlinekhabar
2d ago
सर्लाहीमा अवैध गाँजा खेती नष्ट

सर्लाहीमा अवैध गाँजा खेती नष्ट

६ मंसिर, जनकपुरधाम । प्रहरीले मधेश प्रदेशमा अवैध गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ र १५ स्थित चुरे क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो …

#गाँजा
Compare →

Related Stories

Opinion & Editorial
Build #2612