कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीबाट प्रहरीले सात हजार ८२६ किलो ८१० ग्राम गाँजा बरामद गर्यो। विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुर उदयपुरको टोलीले मैनामैनीको भित्री सडकखण्डमा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो। ट्रकमा कालो प्लास्टिकले छोपेर प्लास्टिककै बोरामा २४६ वटा प्याकेट बनाइ लोड गरिएको गाँजा फेला परेको थियो। बरामद गाँजा र ट्रक आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा बुझाइएको थियो।
उक्त ट्रक भेन्चर हायर पर्चेजमार्फत पर्वत पाण्डेले राष्ट्रिय वाणिज्य बैंक इटहरीबाट ऋण लिएर खरिद गरेको अभिलेखमा उल्लेख छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले कोसी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीलाई पत्राचार गरी ट्रक कसको नाममा दर्ता छ भन्ने विवरण मागेको थियो। कार्यालयले कात्तिक १८ गते नै सबै विवरण खुलाएर पठाइसकेको जनाएको छ। यातायात व्यवसायीका अनुसार उक्त ट्रक पाण्डेबाट अहिले बराह क्षेत्रकै चौधरी थरका एक व्यक्तिले खरिद गरिसकेका छन्। प्रहरीले भने ट्रक चालकको पहिचान भइसकेकाले चाँडै पक्राउ पर्ने दाबी गरेको छ।
‘ट्रक चालकको पहिचान भइसकेको छ। चालक पक्राउ परेपछि गाँजा कसको हो भन्ने पत्ता लाग्नेछ,’ इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक अश्विन तोलांगीले भने।
ठुलो परिमाणमा ट्रकमै फेला परेको गाँजा भोजपुरमा उत्पादन भएको प्रहरी स्रोतको भनाइ छ। प्रहरीका वरिष्ठ अधिकारी भने यसबारे केही खुलाउन चाहन्नन्। तस्करीमा संलग्न गिरोहले भोजपुरमा उत्पादित गाँजा रानीटार हुँदै उदयपुरबाट भारत लैजाने गरेको प्रहरी स्रोतको भनाइ छ। पहाडबाट तराई झारिएको गाँजा नियन्त्रणमा लिने क्रममा असोज ३ गते बिहान करिब ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० जाल्पापुरस्थित चम्राही टोलको बाँसघारीनजिक सडकमा शंकास्पद अवस्थामा राखिएको एक टाटा पिकअप गाडी फेला पार्यो। प्रहरी टोली नजिक पुग्दा उक्त गाडीवरपर उभिएका ५/६ जना भागेका थिए। प्रहरीले तीमध्ये एक जनालाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार को १ च ८२७९ नम्बरको पिकअप गाडीको छेउमा कालो प्लास्टिकले बेरेर सेतो बोराभित्र राखिएको गाँजाका दुई पोका फेला परेका थिए। पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका–५ का रामबहादुर यादवले नजिकैको बाँसघारीमा थप गाँजा लुकाएर राखिएको र भारततर्फ लैजान संकलन तथा ओसारपसार गर्न आएको बताएका थिए। उनकै जानकारीका आधारमा प्रहरीले स्थानीय मरिम मियाँको जग्गामा रहेको बाँसघारीमा खोजतलास गर्दा थप ४५ पोका गाँजा फेला पारेको थियो। प्रारम्भमा फेला परेका दुई पोका र बाँसघारीबाट बरामद गरिएका ४५ पोका गरी जम्मा ४७ पोका गाँजाको तौल एक हजार ४५४ किलो ८७० ग्राम पुगेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित पिकअप गाडी र पक्राउ परेका यादवको साथबाट एउटा मोबाइल फोनसमेत बरामद गरेको थियो। पक्राउ परेका यादव यस क्षेत्रबाट गाँजा भारतसम्म पुर्याउने भूमिकामा संलग्न व्यक्तिमध्ये एक रहेको प्रहरीको भनाइ छ।
यही गाँजा प्रकरणमा ठुलो समूहको संलग्नता देखिएपछि जिल्ला अदालत सुनसरीबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ। जिल्ला प्रहरी कार्यालयले असोज १२ गते सुनसरीकै विभिन्न स्थानका अख्तर मियाँ, दिलवर भन्ने दिलमहमद मियाँ, एकराज भन्ने महमद मजिव मन्सुरी, अफताप आलम, इस्लाम आलम, रामसेर मन्सुरी, सञ्जय सिद्दिकी, तैयव आलम, हरि मेहता र मिलन राईविरुद्ध पक्राउ अनुमति लिएको थियो तर अहिलेसम्म उनीहरू पक्राउ परेका छैनन्। पक्राउ अनुमति लिइएका यी व्यक्तिहरू अहिले पनि गाँजा भारत लैजान सक्रिय रहेको बताइन्छ।
कात्तिक १ गते इनरुवा नगरपालिका–४ स्थित एउटा घरबाट प्रहरीले करिब ९०० किलो गाँजा बरामद गर्यो। घरभित्र लुकाएर राखिएको अवस्थामा इनरुवा–४ का बुलबुल यादवको घरबाट प्रहरीले ३० बोरा गाँजा बरामद गरेको थियो। घटनास्थलबाट प्रदेश १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको थियो। प्रहरीले बुलबुलसहित दुहवी नगरपालिका–१० का कुन्दन यादव र इनरुवा नगरपालिका–९ का सन्तोष यादवलाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये कुन्दनले भारतसम्म सम्पर्क राखेर गाँजा सीमापार गराउने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। धनकुटा, भोजपुर र उदयपुरका पहाडी तथा ग्रामीण क्षेत्रमा लगाइएको गाँजा उत्पादन गरी बिक्री गर्ने उपयुक्त समय भएकाले एकपछि अर्को गर्दै गाँजा बरामद हुने क्रम बढेको छ।
धनकुटाका सहिदभूमि र साँगुरीगढी गाउँपालिका, भोजपुरका आमचोक र हतुवागढी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडा र बस्तीमा गाँजा खेती हुने गरेको छ।
धनकुटाको सहिदभूमि गाउँपालिकाका सात वटै वडामा गाँजा खेती हुने गरेको छ। वडा १, २ र ३ अन्तर्गतका छिन्ताङ क्षेत्र, वडा ४ र ५ का खोकु तथा ६ र ७ का आँखीसल्ला क्षेत्रमा गाँजा खेती हुने गरेको छ।
सहिदभूमि गाउँपालिकाको मध्यपहाडी हावापानी र माटो गाँजाको प्राकृतिक तथा व्यावसायिक वृद्धिका लागि अनुकूल मानिन्छ। यही कारण यहाँ उत्पादित गाँजालाई कतिपयले उच्च गुणस्तरको ठान्ने गरेका छन्। विश्वका धेरै देशमा यहाँको गाँजा लोकप्रिय रहेको जानकारहरू बताउँछन्।
धनकुटाकै साँगुरीगढी गाउँपालिकाका विभिन्न वडामा पनि गाँजा खेती हुने गरेको छ। साँगुरीगढी–१ र २ को बुढीमोरङ, ३ को खुवाफोक, ४ को फाक्सिव, ५ को डाँडाबजार, ६ का केही स्थान, ७ र ८ को महाभारत तथा ९ र १० को आहाले क्षेत्रमा गाँजा खेती हुने गरेको छ।
यस्तै भोजपुरको आमचोक गाउँपालिका–५ को पावला, ६ र ७ को देवानटार, ८ र ९ को दुम्माना तथा १० को पाङ्चा क्षेत्रमा पनि गाँजा खेती हुने गरेको छ। भोजपुरकै हतुवागढी गाउँपालिका–२ को रानीवास, ३ को सिन्द्राङ, ४ का सबै टोल, ५ र ६ को होम्ताङ तथा ७ को पाल्तेपानी क्षेत्रमा पनि गाँजा खेती हुने गरेको छ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका–७ अन्तर्गत मैनामैनीको नागेथाम क्षेत्र र आसपासका बस्तीमा समेत गाँजा खेती हुने गरेको छ। यी क्षेत्रमा उत्पादित गाँजा भारतसम्म पुर्याउन प्रतिवोट १५ देखि २५ रुपैयाँसम्म रकम उठाएर विभिन्न समूहलाई बुझाउने गरिएको कारोबारमा संलग्न व्यक्तिहरूले बताएका छन्। यस्तो रकम किसानबाटै उठाउने गरिएको छ।
धनकुटा सहिदभूमि छिन्ताङकी एक किशोरीका अनुसार उनको परिवारले वर्षमा गाँजा खेतीबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको छ। यस वर्ष प्रहरी–प्रशासन, राजनीतिक दलका नेता र तस्करीमा संलग्न व्यक्तिलाई रकम बुझाउन एक लाख रुपैयाँ दिइसकेको उनले बताइन्। धनकुटा र भोजपुर क्षेत्रबाट यस वर्ष २५ करोड रुपैयाँभन्दा बढी रकम किसानबाट संकलन भइसकेको आरोप लगाउँदै एक स्थानीयले भने, ‘गाँजा खेतीलाई वैधानिक बनाउनुपर्छ। हामी कर तिर्छौं। दलालमार्फत पैसा बुझाउनुपर्ने नत्र प्रहरीको फन्दामा पर्ने क्रम रोकिनुपर्यो।’
किसानबाट संकलन गरिएको रकम जिल्ला हुँदै प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखसम्म पुग्ने गरेको आरोप छ। ती किसानका अनुसार रकम उठाएर प्रहरीसम्म पुर्याउने समूहमा सहिदभूमिका अशोक राई, तीर्थराज राई र रघु राई छन्। यस्तै साँगुरीगढी–९ का देवराज राई र १० का एकेबहादुर राई पनि त्यसमा संलग्न रहेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी नारायण रञ्जितकारले सहिदभूमि गाउँपालिकामा प्रायः धेरैले गाँजा खेती गर्ने गरेको पाइए पनि नियन्त्रणका लागि प्रयास भइरहेको बताए। उनले प्रहरी–प्रशासनले किसानबाट पैसा लिएको भन्ने आरोप निराधार भएको दाबी गरे। ‘म धनकुटा आएपछि पाँच–छवटा अपरेसन गरेपछि खोटाङतिर र इलामतिरबाट लगेको देखिन्छ। प्रहरीको मिलेमतो छैन,’ उनले भने।
व्यापारीले किसानसँग प्रतिकेजी पाँच हजारदेखि सात हजार रुपैयाँसम्ममा गाँजा खरिद गर्ने गरेका छन्। भारत पुर्याउँदा प्रतिकेजी नौ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। सहजै बढी कमाइ हुने भएकाले ठुलो समूह गाँजा कारोबारमा संलग्न हुने गरेको छ। झुम्का कारागारमा कैद सजाय भुक्तान गरी छुटेका एक पूर्वकैदीका अनुसार गाँजा कारोबारमा धेरै पक्षको संलग्नता हुने भएकाले साना कारोबारी मात्रै पक्राउ पर्ने र मुख्य नाइकेहरू उम्किने गरेका छन्। उनले गाँजा कारोबारलाई ‘सेटिङमा चल्ने’ धन्दाको संज्ञा दिए। ‘साना मात्र पक्राउ पर्छन्, यसमा मुख्य नाइके कहिल्यै पक्राउ पर्दैनन्,’ उनले भने, ‘प्रहरीले कारबाहीका नाममा गाँजा फाँडेको नाटक गर्छन् तर फाँडेको गाँजा पनि काम लाग्छ।’
उनका अनुसार फाँडिएको गाँजा सुकाएपछि पनि प्रयोग गर्न सकिने भएकाले त्यसको उचित व्यवस्थापन र नष्ट गर्ने प्रक्रियामै प्रश्न उठ्ने गरेको छ। गाँजाको मुख्य बजार भारत भएकाले कारोबारमा अवरोध आउँदा कारोबारी समूहले किसानसँग मूल्य घटाउने गरेको उनको भनाइ छ। ‘कुनै कठिनाइ हुँदा कारोबारीले भाउ घटाउँछन्। त्यसको फाइदा उनीहरूलाई नै हुन्छ। किसानले भने उत्पादनको उचित मूल्य पाउँदैनन्,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले पनि प्रायः पहाडमा खेती हुने र तराई झार्ने क्रममा पक्राउ पर्ने गरेकाले मुख्य व्यक्तिलाई पक्राउ गर्न कठिन हुने गरेको बताए। ‘मुख्य व्यक्तिहरूले सोझासिधालाई प्रयोग गर्ने गर्छन्। जसले गर्दा बढी मात्रामा तिनै व्यक्ति पक्राउ पर्ने गरेका छन्,’ उनले भने।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार आठ जिल्लाबाट कुल ३१ हजार ८२० किलो ७३४ ग्राम गाँजा बरामद भएको छ। गाँजा कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९६ जना पक्राउ परेका छन्।
यस अवधिमा सुनसरीबाट आठ हजार ६२३ किलो ३०५ ग्राम गाँजा बरामद भएको छ। सबैभन्दा बढी ४४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले पहाडबाट झारिएको गाँजा नियन्त्रणमा लिन प्रयास गर्दा पनि ठुलो नाफा हुने भएकाले गिरोहले उच्च जोखिम मोलेर भारत पु¥याउने गरेको बताए। ‘ठुला सवारीसाधन पक्राउ पर्न थालेपछि पछिल्लो समय गाँजा ओसार्न बढी मात्रामा मोटरसाइकल प्रयोग गर्न थालेका छन्,’ उनले भने।
यस्तै उदयपुरमा सबैभन्दा बढी १२ हजार ३४८ किलो ४६८ ग्राम गाँजा बरामद भएको छ। यस अवधिमा १३ जना पक्राउ परेका छन्। उदयपुरको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक अश्विन तोलांगीका अनुसार बेलका नगरपालिका–७ को भौगोलिक विकटता र प्रहरीको सहज पहुँच नपुग्दा त्यस क्षेत्रमा गाँजा खेती हुने गरेको छ। विकट भूगोलका कारण प्रहरी टोली उक्त क्षेत्रमा कमै पुग्ने गरेको उनले बताए।
तोलांगीका अनुसार रातिको समयमा धनकुटा र भोजपुरबाट गाँजा कोसी नदी आसपासका क्षेत्रमा झार्ने गरिएको छ। त्यसरी ल्याइएको गाँजा उदयपुर हुँदै सप्तरीबाट भारततर्फ लैजाने गरिएको उनको भनाइ छ। कोसी नदी आसपासका क्षेत्रबाट सुनसरी हुँदै पनि गाँजा भारत पुर्याउने गरिएको उनले बताए।
गाँजा ओसारपसारका क्रममा तस्करले नयाँ तरिका अपनाउने गरेको पनि प्रहरी निरीक्षक तोलांगीले जानकारी दिए। कतिपय अवस्थामा गाँजालाई प्लास्टिकमा प्याक गरेर कोशी नदीमा बगाउँदै ल्याउने गरिएको उनले बताए। धनकुटामा तीन हजार १०५ किलो ८८५ ग्राम गाँजा बरामद भएको छ। गाँजा कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी हेमन्त भण्डारीले समयसमयमा गाँजा फँडानी गर्न मातहतका निकायलाई निर्देशन दिँदै आए पनि खेती गर्ने क्रम नरोकिएको बताए। यस अवधिमा भोजपुरमा २४४ किलो ७७० ग्राम गाँजा बरामद भएको छ। एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राकेश राईले गाँजा फँडानी गरिरहे पनि खेती निरन्तर भइरहेकोमा आश्चर्य व्यक्त गरे। ‘हामी पनि अनुसन्धानकै क्रममा छौं। आफैं लगाउने गरिएको हो वा उम्रने गरेको हो,’ उनले भने।
यसैगरी झापामा ५५७ किलो ६९६ ग्राम गाँजा बरामद भएको छ। झापामा गाँजा बरामद भए पनि त्यसमा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन्। मोरङमा चार हजार १२० किलो गाँजा बरामद भएको छ। गाँजा कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा २५ जना पक्राउ परेका छन्।
इलाममा एक हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद भएको छ। गाँजा कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। खोटाङमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ। गाँजा कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
पहाडबाट तराई झार्ने र भारत पुर्याउने गाँजाका अनेक रुट
पहाडी जिल्लामा उत्पादन हुने गाँजा तराई हुँदै भारत पुर्याउन कारोबारी समूहले विभिन्न मार्ग प्रयोग गर्ने गरेको पाइएको छ। धनकुटाको मूलघाट पुल, भेडेटार, सुनसरीका धरान, चतरा र उदयपुरको रामपुर ठोक्सिलालाई गाँजा ओसारपसार तथा भण्डारणका सम्भावित प्रमुख केन्द्रका रूपमा लिइन्छ। धनकुटाबाट संकलन गरिएको गाँजा मूलघाट पुल आसपास जम्मा गर्ने र त्यहाँबाट सवारीसाधन तथा नदीको माध्यमबाट तराई झार्ने गरिएको छ। यसको एउटा प्रमुख मार्ग भेडेटार हुँदै धरान आउने गरेको बताइएको छ। धरान पुगेपछि विष्णुपादुका क्षेत्र र बगरकोट आसपासका स्थानमा गाँजा सुरक्षित रूपमा भण्डारण गर्ने गरिएको छ। धरानसम्म गाँजा चारपांग्रे सवारीसाधनमा ल्याउने गरिएको बताइएको छ।
पहाडबाट चतरा र धरान झारिएको गाँजा सुनसरीको लौकही, कोसी रिफ्रेन्समेन्ट सेन्टर, घुस्की, कप्तानगन्ज, गौतमपुर, अमडुवा र चिमडी नाकाबाट भारतसम्म पुर्याउने गरिएको खुलेको छ। पछिल्लो समय कोसी रिफ्रेन्समेन्ट सेन्टर क्षेत्रमा गाँजा कारोबारीको बढी चहलपहल हुने गरेको छ।
सुनसरीको ६२ किलोमिटर सीमा क्षेत्रमा नेपाल प्रहरीसँगै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका ११ वटा सीमा सुरक्षा गुल्म छन्। सशस्त्र प्रहरी ५१ स्थानमा ड्युटीमा खटिने गरेको छ। एउटा स्थानमा खटिएको टोलीले दुई किलोमिटर क्षेत्र निगरानी गर्नुपर्ने हुन्छ। यो क्षेत्रमा ५२ वटा ठाउँबाट आवतजावत गर्न सकिने अवस्था छ। तर पनि सशस्त्र प्रहरीले लागुऔषधसँगै गाँजा नियन्त्रणमा सक्रियता देखाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणका गणपति एसपी लवकुमार सापकोटाले बताए। ‘सशस्त्र प्रहरीले मात्रै सुनसरीमा पछिल्लो चार महिनामा दुई हजार २९५ किलो ३१३ ग्राम गाँजा पक्राउ गरेको छ। चार जनालाई पक्राउ गरेको छ,’ एसपी सापकोटाले भने।
पछिल्लो समय धरानबाट इटहरी हुँदै पूर्वतर्फ लैजान जोखिम बढेपछि कारोबारी समूहले मोरङको केराबारी हुँदै भारत पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न थालेको पाइएको छ। पछिल्लो दुई सातादेखि केराबारीको बाटो प्रयोग हुन थालेको स्थानीयले बताएका छन्। केराबारीको डाँगी क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधनमा नयाँ अनुहारका अपरिचित व्यक्तिहरू आउजाउ गर्न थालेको स्थानीयको भनाइ छ।
त्यस्तै कोसी नदी आसपासका पहाडी क्षेत्रबाट झारिएको गाँजा भरिया तथा नदीको माध्यमबाट तराई ल्याउने गरिएको छ। कतिपय अवस्थामा गाँजालाई प्लास्टिकमा बेरेर नदीमा बगाएर ल्याउने गरिएको छ।
यसरी ल्याइएको गाँजा सुनसरीको चतरा क्षेत्रमा संकलन तथा भण्डारण गर्ने गरिएको खुलेको छ। चतरामा बराहक्षेत्र मन्दिर आसपास र त्यसभन्दा तलका जंगल क्षेत्रमा गाँजा राख्ने गरिएको छ। कतिपय कारोबारीले कोसी नदी किनारमा खाल्डो खनेर समेत गाँजा लुकाउने गरेको खुलेको छ। पहाडबाट झारिएको गाँजाको कारोबार तथा ठुलो परिमाणमा किनबेच हुने प्रमुख केन्द्र धरान र चतरा रहेको दाबी गरिएको छ।
कोसी नदी आसपासबाट चतरा ल्याइएको गाँजा चतरास्थित कोसी पुल क्षेत्र हुँदै उदयपुरबाट सप्तरी भएर भारत पुर्याउने गरिएको छ। यसका कारण उदयपुरको रामपुर ठोक्सिला क्षेत्र पनि पछिल्लो समय गाँजा ओसारपसारको अर्को महत्त्वपूर्ण केन्द्रका रूपमा विकास भएको बताइएको छ। यसैगरी धनकुटामा उत्पादित गाँजा तमोर करिडोर हुँदै इलामतर्फबाट झापा पुर्याएर भारत लैजाने अर्को मार्गसमेत प्रयोग हुने गरेको छ। यो मार्गबाट भारत लैजाने गरेको प्रमाण असोज ६ गते इलाममा बरामद भएको ठुलो परिमाणको गाँजा र केही दिनअघि पक्राउ परेका आरोपीको बयानबाट खुलेको हो।
असोज ६ गते मेची राजमार्गको इलाम नगरपालिका–९ गोलाखर्कबाट प्रहरीले १५ क्विन्टल गाँजा बरामद गरेको थियो। तर ना४ख ८९९६ नम्बरको ट्रकका चालक, धनी र गाँजाका कारोबारी फेला परेका थिएनन्। खोजतलासका क्रममा प्रहरीले चालकलाई भोजपुरको आमचोक गाउँपालिका–८ बाट पक्राउ गरेको थियो। सहिदभूमि गाउँपालिका–६ का २४ वर्षीय महेश परियारको बयानका क्रममा इलामबाट पनि भारततर्फ गाँजा लैजाने गरिएको खुलेको हो। यसरी पहाडी जिल्लामा उत्पादन हुने गाँजा तराई झार्ने र विभिन्न वैकल्पिक मार्ग प्रयोग गरी भारत पुर्याउने गरिएको पाइएको छ।
गाँजाको कारोबारमा संलग्न समूहले विभिन्न उपाय अपनाएर नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ। कारोबारमा संलग्न समूहले एउटा उपायका रूपमा गाँजा बोकेको गाडीलाई अगाडि र पछाडिबाट अन्य सवारीसाधनमार्फत स्कर्टिङ गर्दै सीमापार पु¥याउने गर्छन्। अर्को तरिकामा गाँजा बोकेको गाडी चालकलाई नै जिम्मा लगाइन्छ। चालकले निश्चित जिम्मेवारी लिएर गाँजा गन्तव्यसम्म पुर्याउने गर्छन्। कारोबारमा संलग्न समूहका सदस्यले प्रहरीको गतिविधि र निगरानीबारे जानकारी संकलन गरी उपयुक्त समय र बाटो छनोट गरेर गाँजा बोकेको गाडी पठाउने पनि गर्छन्।
नेपालको प्रचलित कानुनअनुसार गाँजाको खेती, उत्पादन, बिक्रीवितरण र ओसारपसार पूर्ण रूपमा प्रतिबन्धित तथा गैरकानुनी छ। तर पनि गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने पैरवी बेलाबेलामा हुँदै आएको छ। यसको खेती सहज बनाउँदा कुलत र आपराधिक गतिविधि बढ्ने निश्चित रहेको छ।
प्रकाशित: ३ मंसिर २०८३ ०७:५३ बिहीबार