मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका हेमबहादुर महतका आफन्त र तिला गाउँपालिकाका प्रतिनिधिबीच समझदारी बनेपछि आफन्तले बन्द फिर्ता लिएका हुन् ।
जुम्ला — तिला गाउँपालिकाको सरकारी मोटरसाइकलले ठक्कर दिँदा चन्दननाथ–७ का हेमबहादुर महतको मृत्युपछि उनका आफन्तले न्यायको माग गर्दै गरेको खलंगा बजार र कर्णाली राजमार्ग बन्द २७ घण्टापछि खुलेको छ । तिला गाउँपालिकाका प्रतिनिधि र मृतकका आफन्तबीच आइतबार समझदारी भएपछि आफन्तले बन्द फिर्ता लिएका हुन् ।
पालिकाले सरकारी सवारीसाधन दुरुपयोग गर्न नदिने र घटनाका दोषीलाई विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै उनीहरूले बन्द फिर्ता लिएका हुन् । प्रहरी प्रशासनले छिटोभन्दा छिटो दोषीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउने र उचित क्षतिपूर्ति दिने सहमतिपछि बजार र यातायात सेवा खुलेको स्थानीय राजबहादुर महतले जानकारी दिए ।
पहिलो चरणमा स्थानीय प्रहरी प्रशासन, मृतकका आफन्त, तिला गाउँपालिकाका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिबीच छलफल भएको थियो । उक्त छलफलबाट कुनै निष्कर्षमा नपुगेपछि तिला गाउँपालिकाका प्रतिनिधि र मृतकका आफन्तबीच आपसी समझदारी भएको उनको भनाइ छ ।
मृतकका आफन्तले न्यायको माग गर्दै शनिबार अपराह्न ४ बजेदेखि जुम्ला बजार र कर्णाली राजमार्ग बन्द गराएका थिए । आइतबार बिहानैदेखि भएका विभिन्न चरणका छलफलबाट पीडित पक्ष र तिला गाउँपालिकाबीच सहमति जुटेपछि बन्दका सबै कार्यक्रम फिर्ता लिइएको पीडित पक्षका अगुवा नृपेन्द्र महतले बताए ।
पीडित पक्षलाई उचित राहत प्रदान गर्ने, घटनाको सम्पूर्ण जिम्मा लिने र किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउ गर्ने सहमति भएको उनको भनाइ छ । यता, तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले मृतक परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सहमति भएको बताए । दुःखद घटना घटेकोमा दुःख व्यक्त गर्दै पीडित पक्षसँग भएको सहमतिअनुसार क्षतिपूर्ति दिने उनको भनाइ छ ।
मृतकका आफन्तको आन्दोलनका कारण बजार तथा सडक बन्द हुँदा लामो तथा छोटो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन अलपत्र परेका थिए । आइतबार बिहान सुर्खेत, नेपालगन्ज र काठमाडौंका लागि छुट्नुपर्ने कुनै पनि सवारीसाधन छुटेनन् ।
डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।