६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह गरे ।
मन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ छ । उनले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताइन् ।
‘हामीले आफ्ना कमजोरीहरू पनि औंल्याउनुपर्ने समय आएको छ । म यो सङ्गठनलाई पनि भन्न चाहन्छु, हामीले विश्वास गुमाएका छौं, सनातनीहरूको । यस्तै समयमा हामी चुकेका छौं,’ उनले भनिन्, ‘हिन्दुहरूको पक्षमा उभिन हामी कहिले काहीँ चुकेका छौं । अबको यो सङ्गठनले र राप्रपाले पनि गौहत्या हुँदाखेरि कहिले पनि मौन त बसेको छैन, तर अब हामी सडकमा आउनुपर्छ ।’
उनले गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्ने बताइन् । हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले संसदमा आवाज उठाउने र संसदबाहिर धार्मिक गुरुहरूले आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।
‘गौहत्या हुँदाखेरि हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदाखेरि हामीले त्यसको विरोधमा सडक आउनुपर्छ, हिन्दुहरूको हत्या हुँदाखेरि हामी खुलेर आवाज उठाउनुपर्छ । अबको सङ्गठनले हिन्दूहरूको व्यावहारिक रुपमै रक्षा गर्नको लागि आवाज उठाउनुपर्छ,’ उनले भनिन्, ‘हाम्रो यही समयमा यही कालमा हिन्दू राष्ट्र स्थापना गर्न सकियोस् । यहाँहरूको आवाज हामी सदनमा राखेर निरन्तर आवाज उठाइराख्छौँ । यहाँहरूले सदन बाहिरबाट हामीलाई सहयोग गर्दिनुहुन अपिल गर्दछु ।’