क्षमताभन्दा बढी यात्रु वा मालसामान बोक्ने, कागजात नबोक्ने तथा मापसे गर्ने चालकसमेत कारबाहीमा परेका छन्।
बैतडी — जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ७१ सवारीसाधनबाट जरिवानाबापत १ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कात्तिक महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने १ सय ५ जीपकारबाट १ लाख ८ हजार ५ सय रुपैयाँ, ३१ मोटरसाइकलबाट २६ हजार, १२ ट्रकबाट १५ हजार, ६ ट्रयाक्टरबाट ५ हजार ५ सय, ६ बसबाट ४ हजार ५ सय र ११ तीनपांग्रे अटोबाट ९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक यज्ञराज पन्तले जानकारी दिए ।
क्षमताभन्दा बढी यात्रु वा मालसामान बोक्ने, सवारीसाधनका कागजात नबोक्ने, प्रयोजनविपरीत सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लापरबाही गर्ने चालकलाई कारबाही गरिएको उनले बताए।
यस्तै, एक महिनाको अवधिमा जिल्लाभर पाँचवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुई दुर्घटना चालकका कारण, दुई सवारीसाधनका कारण र एक दुर्घटना यात्रुका कारण भएको हो ।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।