पुथाउत्तरगंगा–२ को जुस्मर, हार्दिबाङ, रल र तिज्याङका बासिन्दा वडा कार्यालय आउजाउ गर्न विकट भूगोल, हिउँ र खोलाको बाटो हिँडेर पाँच दिन खर्चनु परेको छ।
रुकुम पूर्व — कुनै पनि बस्तीबाट वडा कार्यालय पुग्न कति समय लाग्ला ? सहज अनुमान हुन्छ, केही घण्टा । तर रुकुम पूर्वका केही गाउँबस्तीका बासिन्दा वडा कार्यालय पुगेर आधारभूत सेवा लिन पाँच दिन हिँड्न बाध्य छन् ।
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ का केही बस्तीबाट विकट हिमाली भूगोल र पहाडी पहरा छिचोल्दै दुई दिन हिँडेपछि बल्ल वडा कार्यालय पुगिन्छ । फर्किन पनि उत्तिकै समय लाग्छ । काम सक्न थप एक दिन लाग्दा सामान्य सरकारी सेवा लिन कम्तीमा पाँच दिन खर्चिनुपर्ने बाध्यता छ ।
यहाँका जुस्मर, हार्दिबाङ, रल र तिज्याङका बासिन्दालाई वडा कार्यालयबाट सेवा लिन तथा सरकारी कागजात बनाउन जाँदा कम्तीमा पाँच दिन लाग्ने गरेको हो। उनीहरुले कहिले खोला तर्दै त कहिले हिउँले ढाकिएको बाटो छिचोल्दै सेवा लिन जाने गरेका छन् । जिल्लाकै छेउमा रहेको गाउँ तिज्याङकी ६४ वर्षीया किउचरी रोकामगर आफू दुई दिनमा वडा कार्यालय पुग्न नसक्ने बताउँछिन् । 'म बूढी मान्छेलाई त वडासम्म पुग्न कम्तीमा तीन दिन लाग्छ अनि फर्किन पनि त्यति नै दिन,’ उनले दुःखेसो पोखिन्, ‘हाम्रो गाउँमा फोन पनि लाग्दैन । अनुमानका भरमा वडा कार्यालय पुग्यो, कर्मचारी नै नभेटिँदा एकपटक त अरू तीन दिन बसेर नौ दिनमा घर फर्किए,' उनले भनिन् ।
वडा कार्यालय जान भनेर घरबाट हिँडेकी किउचरी एक सातासम्म घर नफर्किएपछि उनका आफन्त उनलाई खोज्दै वडा कार्यालय रहेको ठाउँसम्मै पुगेका थिए । उनीहरुले त्यहाँ पुगेपछि मात्रै कार्यालयमा कर्मचारी नभेटिएको र शनिबार–आइतबारसमेत परेकाले काम सकेर फर्किन त्यति समय लागेको थाहा पाएका थिए ।
साविकको रन्मामैकोट गाविसका वडा ४ र ५ गाभेर हालको पुथाउत्तरगंगा गाउँपालिका–२ बनाइएको हो । साविकको वडा ४ रहेको पेल्मामा अहिले वडा कार्यालय छ । यही कार्यालय पुग्न जुस्मर, हार्दिबाङ, रल र तिज्याङका सर्वसाधारणलाई मुस्किल परिरहेको छ । त्यसैले यस भेगका बासिन्दाले साविकको वडा ५ लाई छुट्टै वडा बनाउनुपर्ने, त्यो सम्भव नभए पायक पर्ने वडा १ मा गाभ्नुपर्ने माग उठाइरहेका छन् ।
वडा नम्बर १ मैकोटमा पर्छ । वडा २ का यी चार बस्तीवासीलाई मैकोटकै बाटो छिचोलेर आफ्नो वडा कार्यालय पुग्नुपर्छ । हार्दिबाङका जोखनलाल कामी भन्छन्, ‘हाम्रो बस्तीबाट करिब दुई–तीन घण्टा हिँडेपछि मैकोट पुगिन्छ । हामी त्यहाँको वडा कार्यालय हेर्दै–हेर्दै पेल्मा पुग्छौं,’ उनले भने ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को जुस्मर बस्ती । तस्बिरः महेश केसी/कान्तिपुर
जुस्मर र हार्दिबाङका बासिन्दा पहिलो दिन पैदल हिँडेर वडा १ को पुसरमा बास बस्न पुग्छन् । भोलिपल्ट थप एक दिन हिँडेपछि पेल्मा पुगिन्छ । रल र तिज्याङका बासिन्दाका लागि भने यो यात्रा झनै कठिन छ । तिज्याङकी किउचरी भन्छिन्, ‘हामीलाई हार्दिबाङतिर भएर जाँदा मैकोटमा बास बस्नुपर्छ । अनि भोलिपल्ट दिनभरि कस्सिएर हिँडेपछि पेल्मा पुगिन्छ । अर्को बाटो चाहिँ दिनभरि उकालो चढेर पहिलो दिन दुलेमा बास बस्ने अनि दोस्रो दिन ओरालो झरेर पेल्मा पुग्ने हो।’ रल र तिज्याङका बासिन्दाका लागि यी दुवै बाटा कठिन छन्।
बर्खामा खोला बढेर आवतजावतमा मुस्किल हुने र हिउँदमा हिउँ परेर बाटो छेकिने गरेको स्थानीय बताउँछन् । वडा कार्यालय पुगेपछि पनि तत्कालै काम हुन्छ भन्ने निश्चित छैन । त्यसैले कहिलेकाहीँ रित्तै फर्किनुपरेको रलकी देवी घर्तीले दुःखेसो पोखिन् । उनले भनिन्, ‘एक महिनाअघि छोराको जन्मदर्ता गराउन भनेर पेल्मा हिँडेकी म बल्लबल्ल बाँचेँ । मौसमबारे थाहा भएन । दुले पुगेको त्यही रातिदेखि ठूलो पानी पर्यो । कति नै पर्ला र भनेर निस्किहालेँ, तर वर्षा रोकिएन । जंगलमा बस्ने ठाउँ नभएपछि छोरासँगै पानीमा भिज्दै पेल्मा पुगेँ । त्यो बेला बिरामी भएको छोरो बल्ल निको हुँदैछ ।’
वडा कार्यालय पायक पर्ने ठाउँमा नहुँदा स्थानीयले यस्ता सास्ती मात्र होइन, अरू थुप्रै समस्या पनि भोगिरहेका छन् । यी बस्तीमा गाडी पुग्नु त परको कुरा, सजिलोसँग हिँड्ने गोरेटो बाटोसम्म छैन । विद्यालय, अस्पताल र सञ्चार सुविधाबाट समेत उनीहरू वञ्चित छन् ।
वडा कार्यालयको यो समस्या जसरी पनि समाधान हुनुपर्ने माग राख्दै आफू स्थानीयसहित पटक–पटक गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति तथा प्रदेश र संघ सरकारसमक्ष पुगेको वडा २ का अध्यक्ष जगत घर्तीले बताए । उनी हार्दिबाङका स्थानीयसमेत हुन् । ‘कहीँबाट पनि नमिल्ने यो भूगोलको विभाजन कसरी भयो, हामी अचम्ममा छौं । अब यस्तो भइरहनु हुँदैन भनेर दबाब दिन हामी पुग्नुपर्ने सबै ठाउँ पुगिसक्यौं । बताउनुपर्ने सबैलाई भनिसक्यौं,’ अध्यक्ष घर्तीले भने, ‘हाम्रो यो माग र आधारभूत अधिकारको परिपूर्तिका लागि अब अन्तिम संघर्षको तयारीमा छौं । यदि यसमा सरकार गम्भीर भएन भने आगामी चुनावमा हामी भाग नलिने अवस्था पनि बन्न सक्छ ।’ गत असार ४ गते प्रकाशित राजपत्रमा ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ जारी गरिएको छ ।
वडा कार्यालयको सेवा लिन हिँडेका पुथाउत्तरगंगा गाउँपालिका–२ रलका स्थानीय । तस्बिरः महेश केसी/कान्तिपुर
भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का दफा ३, ४, ६, ७ र ८ मा भएका व्यवस्थाका आधारमा गाउँपालिका तथा नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने कार्यलाई व्यवस्थित गर्न उक्त मापदण्ड जारी गरेको हो । यही मापदण्डअनुसार चार बस्तीका बासिन्दाको आवश्यकता सम्बोधन गर्नुपर्ने स्थानीयको माग छ ।
यी चार बस्तीमा करिब पाँच सयभन्दा बढी जनसंख्या छ । यहाँ सडक पुगेको छैन । सामान्य स्वास्थ्य उपचारका लागि समेत स्थानीयले एक दिन हिँडेर मैकोट पुग्नुपर्ने बाध्यता छ । रलमा बालशिक्षासम्म पढाइ हुने ठाउँ छ भने तिज्याङमा कक्षा ३ र हार्दिबाङमा कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ ।
रल र तिज्याङमा विद्युत् र टेलिफोन सुविधासमेत छैन । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष टिकासाई घर्तीले पुथाउत्तरगंगा गाउँपालिकाका वडा १ देखि ६ सम्मका साथै ७ र ९ गरी आठवटा वडालाई समेटेर छुट्टै गाउँपालिका बनाउनुपर्ने मागसमेत उठेको बताए । ‘यी वडाका नागरिकलाई हालको पालिका केन्द्र तकसेरासम्म सेवा लिन जान मुस्किल छ । यसकारण सुरुवातमै प्रस्ताव गरिएको र अहिले पनि आवश्यकता रहेकाले उल्लेखित आठवटा वडाको छुट्टै पालिका हुनुपर्छ भन्ने हाम्रो माग छ । यो भयो भने वडा २ को अहिलेको समस्या समाधान गर्न पनि सहज हुन्छ,’ उनले भने ।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।