नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ३५० देखि ४०० जनासम्म आउन थालेपछि कार्यालयले रातिसम्म र शनिबार पनि सेवा दिइरहेको छ।
सल्यान — दसैंतिहार सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ । दसैंतिहारपछि जिल्लाका विभिन्न पालिकाबाट नयाँ नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउनेको संख्या बढेपछि प्रशासनमा भीड लागेको हो ।
दसैंअघि विभिन्न कामका लागि दैनिक १ सय ५० जनासम्म सेवाग्राही आउने गरेकामा अहिले ३ सय ५० देखि ४ सयसम्म पुग्ने गरेका छन् । सेवाग्राहीको चाप बढेपछि सीमित कर्मचारीको भरमा सेवा प्रवाह गर्न कार्यालयलाई कठिन भएको छ । त्यसैले जिल्ला प्रशासन कार्यालय सल्यानले बिहानदेखि राति ८–९ बजेसम्म सेवा दिँदै आएको छ । शनिबार पनि कार्यालय खोलेर सेवा दिइएको छ ।
नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन आउनेसँगै दसैंतिहारपछि विदेश जान तयारी गरेका राहदानी बनाउनेहरू, लोकसेवा खुलेपछि विभिन्न सिफारिस लिन आउनेहरू र कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट एकैपटक ठूलो संख्यामा आएका सेवाग्राहीका कारण चाप बढेको प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीले बताइन् । उनका अनुसार अहिले दैनिक करिब ४ सय जना विभिन्न सेवा लिन आउने गरेका छन् ।
‘शुक्रबार मात्र हामीले १ सय १८ जनालाई नयाँ नागरिकता, ६५ जनालाई नागरिकताको प्रतिलिपि, १ सय १० जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता, १५ जनालाई कार्ड वितरण, १६ जनाको अद्यावधिक, ७३ जनाको इन्क्वाइरी, ३५ जनाको राष्ट्रिय परिचयपत्रमा मोबाइल नम्बर परिवर्तन, २० जनाको अनलाइन फाराम, ३६ जनाको राहदानी सिफारिस र ४१ जनालाई राहदानी वितरण गरेका छौं,’ उनले भनिन्, ‘कार्यालयबाटै २५ जनाको राहदानी अनलाइन फाराम भरेका छौं भने ४३ जनालाई विविध प्रशासनिक सिफारिस तथा प्रमाणीकरणको काम गरेका छौं ।’
सेवाग्राही बढेपछि उनीहरू समस्यामा नपरून् र आएकै दिन सेवा लिएर घर फर्कन सकून् भनेर बिहान ८ बजेदेखि राति ९–१० बजेसम्म सेवा दिइरहेको उनले बताइन् । ‘शुक्रबार कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट आएको टोलीको काम भ्याउन नसकेपछि शनिबार बिदाको दिनमा पनि बिहान १० बजेदेखि कार्यालय खोलेर सेवा दिइरहेका छौं,’ उनले भनिन् ।
केसीका अनुसार तीन दिनको अवधिमा मात्रै ४ सय ५ जनाले नयाँ नागरिकता लिएका छन् भने २ सय ३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यस्तै, ४ सय ५० जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । ‘अन्य सेवा लिने पनि उत्तिकै छन्,’ उनले भनिन् ।
कार्यालयमा सीमित कर्मचारी र सेवाग्राहीको चाप बढेपछि आएका सेवाग्राही खाली हात फर्कन नपरोस् र खलंगामा बास बस्नुपर्ने अवस्था नआओस् भनेर कार्यालय समयपछि र सार्वजनिक बिदाका दिनमा समेत सेवा दिइरहेको उनको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द विष्टले सेवाग्राही बढेपछि सीमित कर्मचारीलाई बिहानदेखि बेलुकी अबेरसम्म सेवा दिन कठिन भएको बताए । एउटै कर्मचारीले विभिन्न प्रकृतिका काम गर्नुपर्दा दिउँसो खाजा खाने फुर्सदसमेत नहुने उनले जानकारी दिए । ‘दुर्गम बस्तीबाट सेवाग्राही एकै दिनमा काम सकेर घर फर्कने हिसाबले विभिन्न किसिमका कष्ट उठाएर आएका हुन्छन् । नागरिकतालगायत अन्य सेवाका लागि उनीहरूले अर्को दिन पर्खनु नपरोस् भनेर बिदाको दिनमा पनि सेवा दिइरहेका छौं,’ उनले भने ।
शुक्रबार बिहान नयाँ नागरिकता बनाउन कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट आएका नवीन बोहोराले भीडभाडका कारण कर्मचारीले एकै दिनमा सबै काम भ्याउन नसकेपछि शनिबार नागरिकता बनाएको बताए । कार्यालयका कर्मचारीले कार्यालय समयपछि पनि राति अबेरसम्म बसेर सेवा दिएकोमा खुसी लागेको उनले बताए । जिल्ला प्रशासन कार्यालय सल्यानमा विभिन्न सेवा लिन आएका अन्य सेवाग्राहीले पनि पहिलाको तुलनामा अहिले सेवा सहज भएको र विगतमा जस्तो दुःख भोग्न नपरेको बताएका छन् ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।