संखुवासभाको चिचिला गाउँपालिकास्थित सुन्दर पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा शनिबारदेखि ‘चिचिला महोत्सव ’ सुरु भएको छ।
संखुवासभा — संखुवासभाको चिचिला गाउँपालिकास्थित सुन्दर पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा शनिबारदेखि ‘चिचिला महोत्सव ’ सुरु भएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले शनिबार एक समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन्।
महोत्सवले यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय उत्पादनलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ, मन्त्री लिथेपले भने चार दिनसम्म सञ्चालन हुने महोत्सवले मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र चिचिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने छ । प्रकृति, पर्यटन, संस्कृति, साहित्य, खेलकुद र संगीतको संगमका रूपमा सुरु भएको चिचिला महोत्सवले सङ्खुवासभाको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने उनले बताए । उनले पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए ।
पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, मौलिक कला–संस्कृतिको संरक्षण तथा स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबारबाट ८ गतेसम्म चार दिन सञ्चालन हुनेछ।
महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज, खाद्यान्न, पशुपन्छीजन्य सामग्री तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री वितरणका लागि कम्तीमा ३० वटा स्टल राखिएका छन् । शेर्पा, राई, गुरुङलगायत विभिन्न जातजातिका मौलिक परिकारको स्वाद लिन सकिने फुड फेस्टिभल पनि महोत्सवको आकर्षण बनेको छ।
साहित्य, संगीत र संस्कृतिलाई पनि महोत्सवमा विशेष प्राथमिकता दिइएको छ। साहित्यिक कार्यक्रममा नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) लगायत कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकारहरू सहभागि छन्। त्यसैगरी मंसिर ६ गते दिउँसो ३ बजेदेखि खुला नृत्य प्रतियोगिता सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
सांगीतिक कार्यक्रमतर्फ चर्चित गायक राजेश पायल राईसहित जादगर शेर्पा, शेरबहादुर गुरुङ, कुसुम गुरुङ, दर्शन राई, राज बाहकोटी, पवित्रा गुरुङ, भोलामान गुरुङ, सोनियल साम्पाङ, सबिन संसर र जितेन्द्र राईलगायत कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सवको समापनका दिन राजेश पायल राईको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
मत्स्यपोखरी तथा चिचिला गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शनीसमेत आयोजना गरिएको छ।
चिचिला गाउँपालिकाको आयोजना, कोशी प्रदेश सरकारको प्रायोजन तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको समन्वय र सहयोगमा सुरु भएको महोत्सवले मत्स्यपोखरी क्षेत्रको पर्यटकीय सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्व शेर्पाले बताए ।