परिवारको साथ र निरन्तर मेहनतले सुरु भएको बगैंचा अहिले घरखर्च, छोराछोरीको शिक्षा र किसानको भविष्यको भरोसा बनेको छ।
पाल्पा — चार वर्ष मलेसियामा बिताएका रिब्दीकोट गाउँपालिका–५, पालुङमैनादीका लुमबहादुर कुँवरलाई पछिल्ला दिनमा सुन्तला टिप्न, ग्रेडिङ गर्न, बजार निकासी गर्न भ्याइनभ्याई छ । विदेशमा पसिना बगाएर फर्किएका उनले गाउँमै केही गर्ने सोच बनाएर सुन्तला खेती सुरु गरे ।
सुरुमा थोरै बोटबाट थालेको खेती अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । आठ सयभन्दा बढी सुन्तलाका बोट लगाएका ५८ वर्षीय कुँवरका बारीमा यस वर्ष पनि लटरम्म सुन्तला फलेका छन् । फल्न थालेका डेढ सय बोटबाटै राम्रो आम्दानी हुने भएपछि उनी खेती विस्तार गर्दै अघि बढेका छन् ।
पालुङ्मैनादीमा सुन्तला अन्यत्रभन्दा केही छिटो निकाल्ने भएकाले अहिले काममा आतुर रहेको उनले बताए । तर यसको स्वादमा भने कुनै परिवर्तन छैन । चिसो ठाउँ भएकाले यहाँको सुन्तलाको मिठासपन हुन्छ । ‘छिटो निकासी भएजस्तो देखिएको छ,’ उनले भने, ‘तर सुन्तलाको मिठासमा कुनै कमी छैन ।’ २०७१ सालमा मलेसियाबाट घर फर्किएका कुँवरले २०७३ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्न थालेका हुन् ।
यसवर्ष २६ क्विन्टल निकासी भइसकेको छ भने अझै १५ क्विन्टल भन्दा बढी बाँकी नै छ । अहिले बोटबाटै प्रतिकिलो ८० रुपैयाँ भाउ पाएको उनले बताए । विदेशमा काम गरेर कमाएको अनुभव र गाउँमै बसेर केही गर्ने इच्छाले आफूलाई कृषितर्फ आकर्षित गरेको उनले बताए । सुरुमा खेतीबाट कति आम्दानी होला भन्ने निश्चित थिएन । तर, निरन्तरको मेहनत र अनुभवले अहिले उनको बगैंचा आम्दानीको भरपर्दो आधार बनेको छ ।
उनले सुन्तलासँगै गोलभोडा, काँक्रो र खुर्सानी खेती पनि गर्दै आएका छन् । करिब पाँच हजार खुर्सानीका बोटबाट यस वर्ष १२ क्विन्टल उत्पादन भएको छ । तरकारी खेतीले पनि घरखर्च चलाउन सहयोग पुगेको छ । सुन्तलाका बोट हुर्काउने, रोगकिराबाट जोगाउने, मलजल गर्ने र फल टिप्ने काममा परिवारको साथ पाएका छन् । खेतीमा परिवारका सदस्यको सक्रियताले उनलाई थप हौसला दिएको छ । ‘निरन्तरको मिहिनेतले गाउँमै बसेर पनि आम्दानी राम्रै गर्न सकिन्छ भन्ने लाग्छ,’ उनले भने ।
कुँवरको जस्तै मेहनतले पालुङमैनादीका अन्य किसानको जीवनशैली पनि फेरिँदै गएको छ । गाउँका धेरै किसानले मकै, कोदो र गहुँ लगाउने बारीमा सुन्तलाका बोट हुर्काएका छन् । अहिले बारीका बोटमा पहेँलपुर सुन्तला देखिन्छन् । कतिपय किसानका लागि सुन्तला खेती नियमित आम्दानीको माध्यम बनेको छ । घरखर्च, छोराछोरीको पढाइदेखि जग्गा र घरघडेरी जोड्नेसम्मको आधार सुन्तलाको आम्दानी बनेको छ । रिब्दीकोट गाउँपालिका–७ कै अर्का किसान जनक आचार्यको बगैंचामा पनि यस वर्ष सुन्तला लटरम्म फलेका छन् । अकबरे खुर्सानीका साथै सुन्तला लगाएका आचार्यका सक्रिय ४ सय ३० र सानासमेत गरी झण्डै ७ सय भन्दा बढी बोट छन् । गत वर्ष १६ लाख ३५ हजार रुपैयाँको सुन्तला बिक्री गरेका उनले यसवर्ष कम्तीमा १८ लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य राखेका छन् ।
‘गतवर्ष भन्दा भाउ पाइएको छ,’ उनले भने, ‘बोटमा राम्रो फलेको छ । विगतका वर्षभन्दा यसपटक उत्पादन राम्रो छ ।’ बोट पहेँलो हुने र माथिबाट सुक्दै जाने समस्या सुरु भएको छ । कतिपयको बोट मर्ने समस्या छ । केही वर्ष बोट मरेर चिन्तित बनेका आचार्यले अहिले तीनै बोटबाट आम्दानी लिन थालेका छन् । मरेका र कमजोर भएका ठानिएका केही बोटमा समेत राम्रो फल लागेको उनले बताए ।
रिब्दीकोट–७ पालुङमैनादी तुलबहादुर कुँवरले पनि २ सयभन्दा बढी बोटबाट राम्रो आम्दानी लिएका छ्न् । किसानको बजारिकरणका लागि जगदीश कुावरले सहयोग गरेका छन् । उनले बुटवल, भैरहवा, कपिलवस्तु लगायतका स्थानमा बिक्री गर्दै सघाएका छन् । पालुङमैनादी मात्र होइन, रैनादेवी छहराको अमलावास, मुझुङ, सोमादी र भुवनपोखरीका किसान पनि व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । ती गाउँमा गहुँ, मकै र कोदो लगाउने बारीमा सुन्तलाका बोट विस्तार भएका छन् । कतिपय किसानले सुन्तलासँगै आलु तथा मौसमी तरकारी खेती पनि गर्छन् । यसले एउटै बारीबाट फरक–फरक समयमा आम्दानी लिन सहयोग पुगेको छ ।
पश्चिम भेगमा बढी चिसो हुने भएकाले यहाँका सुन्तला अन्य ठाउँको तुलनामा ढिलो पाक्ने भएकाले माघको अन्तिमसम्म पनि बोटमै फल रहन्छ । बजारमा एकैपटक धेरै सुन्तला पुग्दा मूल्य घट्ने भएकाले ढिलो उत्पादन हुने यहाँको सुन्तलाले बजारमा छुट्टै पहिचान बनाएको किसानको भनाइ छ । पोखरा, नेपालगन्ज, भैरहवा, नारायणगढ र आसपासका बजारबाट व्यापारी बगैंचामै पुगेर सुन्तला खरिद गर्ने प्रचलन रहेको रैनादेवी छहरा–४, अमलावासका कमल घिमिरेले बताए ।
कतिपयले किलोका आधारमा तौल गरेर लैजान्छन् भने धेरैजसोले बगैंचै ठेक्कामा लिन्छन् । सुन्तला खेतीबाट किसानको जीवनमा आएको परिवर्तनलाई नजिकबाट देखेका सुन्तला जोन सञ्चालक समिति अध्यक्ष नित्यानन्द पोखरेल यसलाई गाउँको आर्थिक अवस्था सुधार्ने खेतीका रूपमा लिन्छन् । उनका अनुसार २०५३ सालतिरबाट सुन्तलाका बोट लगाउन सुरु गरेका किसानले अहिले एउटै सिजनमा लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
‘सुरुमा सुन्तला लगाउँदा धेरैले गाली पनि गरेका थिए,’ अमलावासका किसानसमेत रहेका पोखरेलले भने, ‘अहिले भने किसानलाई पेन्सनजस्तै भएको छ । फल लागेपछि थोरै बोट हुनेले पनि १५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । धेरै किसानले वार्षिक ५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्न थालेका छन् ।’
उनका अनुसार गाउँमा सुन्तला खेती गर्ने किसानको संख्या बढ्दो छ । विदेश गएका कतिपय युवा फर्किएर यही खेतीमा लागेका छन् । थोरै जग्गामा पनि दीर्घकालीन आम्दानी लिन सकिने भएकाले किसानको आकर्षण बढेको हो । खेतीले नगद आम्दानी दिन थालेपछि गाउँमै बसेर परिवारसँगै काम गर्ने वातावरणसमेत बनेको छ ।
तर, किसानका समस्या भने उस्तै छन् । रोगकिराको प्रकोप, बोट मर्ने समस्या, मलखादको अभाव, सिँचाइ र कामदार नपाउने समस्याले उत्पादनमा असर पार्ने गरेको छ । उत्पादन राम्रो भए पनि बजार मूल्यमा एकरूपता नहुँदा किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन् । कतिपयले व्यापारीले भनेको मूल्यमा बगैंचा नै ठेक्कामा दिनुपर्ने बाध्यता छ । उचित मूल्यको प्रतीक्षामा बोटमै सुन्तला राख्दा अर्को वर्षको उत्पादनमा असर पर्ने चिन्ता पनि छ ।
किसानले उत्पादनको आधारमा अनुदान र प्रोत्साहन दिनुपर्ने माग गर्दै आएका छन् । सबै किसानलाई एकै प्रकारको अनुदान दिनुभन्दा वास्तविक उत्पादन, खेतीको क्षेत्रफल र किसानको मेहनतका आधारमा सहयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । रोगकिरा नियन्त्रणका लागि नियमित प्राविधिक सेवा, गुणस्तरीय बिरुवा, मलखाद, सिँचाइ र बजार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने छहरा, अमलावासका टिकाराम पोखरेलले बताए ।
सुन्तला भण्डारणको समस्या पनि किसानका लागि चुनौती बनेको छ । माघसम्म बोटमै रहने सुन्तला उचित मूल्य नपाए पनि अर्को बालीका लागि समयमै टिप्नुपर्ने अवस्था आउँछ । बोटमा धेरै समय फल राख्दा अर्को वर्षको उत्पादन घट्न सक्ने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको सुन्तला जोन सञ्चालक समिति अध्यक्ष पोखरेल बताउँछन् । कोल्डरुम र कोल्डस्टोरको व्यवस्था भए किसानले केही समय सुन्तला भण्डारण गरेर बजार मूल्यअनुसार बिक्री गर्न सक्ने उनको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सुन्तला जोन कार्यक्रमले पछिल्ला वर्षमा किसानलाई प्राविधिक तथा भौतिक सहयोग गर्दै आएको छ । जोन कार्यालय प्रमुख सन्तोषकुमार चौधरीका अनुसार क्षेत्र विस्तार, थोपा सिँचाइ, यान्त्रिकीकरण, पावर स्प्रेयर, माइक्रोन्युट्रिन्ट, बगैंचा सुदृढीकरण र कोल्डरुम निर्माणमा सहयोग गरिएको छ । यसवर्ष १५ हेक्टर अर्थात् तीन सय रोपनीमा क्षेत्र विस्तार भएको छ । चालु आर्थिक वर्षमा एक हजार रोपनी अर्थात् ५० हेक्टरसम्म विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । ‘किसानलाई प्राविधिक सहयोग र यान्त्रिकीकरणसँगै यसवर्ष प्याकेजिङमा पनि सहयोग गर्ने कार्यक्रम छ,’ उनले भने ।
गतवर्ष जिल्लामा आठ हजार सात सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष जिल्लामा सुन्तलाको कारोबार ५८ करोड रुपैयाँ बराबर भएको थियो । जिल्लाको चापपानी, छहरा, मुझुङ, पालुङमैनादी, भुवनपोखरी, जल्पा, बन्दीपोखरा र नायरनमतलेसमा सुन्तला खेती हुँदै आएको छ ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।