उपसमितिहरुको बैठकमा प्रतियोगिताका क्रममा खेलाडीलाई चोटपटक लागे तत्काल उपचार सेवा उपलब्ध गराउने फिजियोथेरापिस्टसहित दक्ष स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिका सचिव मधुसूदन बस्नेतले बताए ।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खेलस्थलमै मेडिकल सेन्टर स्थापना गरिने भएको छ। आज बसेको मुख्यमन्त्री मंगल बहादुर शाही
र पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीको आथित्यतामा उपसमितिहरुको बैठकमा प्रतियोगिताका क्रममा खेलाडीलाई चोटपटक लागे तत्काल उपचार सेवा उपलब्ध गराउने फिजियोथेरापिस्टसहित दक्ष स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिका सचिव मधुसूदन बस्नेतले बताए ।
उनका अनुसार खेलस्थलमै प्राथमिक उपचारको व्यवस्था मिलाउनुका साथै आवश्यकताअनुसार फिजियोथेरापी सेवा र औषधि उपलब्ध गराइनेछ। खेलका क्रममा सामान्य घाउचोट लागेमा अस्पतालसम्म लैजानुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले मेडिकल सेन्टरबाटै उपचार गर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए।
‘खेलका क्रममा खेलाडीलाई चोटपटक लाग्न सक्छ। सामान्य घाउचोट भएमा अस्पताल पठाउनुपर्ने अवस्था नआओस् भनेर यहीँबाट उपचार गर्ने हिसाबले दक्ष प्राविधिक परिचालन गर्छौँ। फिजियोथेरापी सेवा दिने र आवश्यक परे चिकित्सकको प्रेस्क्रिप्सनअनुसार औषधिसमेत वितरण गर्ने तयारी छ,’ बस्नेतले भने। मेडिकल सेन्टर स्थापनाका लागि आवश्यक बेड तथा सामग्री जुटाउन नगरपालिका, नेपाली सेना र सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको उनले जानकारी दिए। उनका अनुसार सुरक्षा निकायसँग बेड तथा आवश्यक सामग्री सहयोग मागिएको छ।
अन्य आवश्यक सामग्री प्रदेश खेलकुद परिषद्ले व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ। तर मेडिकल सेन्टर स्थापना गर्ने स्थान अस्पतालमा रहेकाले सामग्री लैजान र व्यवस्थापन गर्न केही कठिनाइ भएको बस्नेतले बताए। आवश्यक सामग्री राख्ने ठाउँको चाबी उपलब्ध नहुँदा काम प्रभावित भएको उनको भनाइ छ।
‘मेडिकल सेन्टर स्थापना गर्ने ठाउँ अस्पतालमा भएकाले सामान ल्याउनसमेत चाबी पाउन समस्या भएको छ। सम्बन्धित पक्षसँग समन्वय गरेर चाबी उपलब्ध गराउने र सामग्री ल्याएर स्थापना गर्ने काम अघि बढाइरहेका छौँ,’ उनले भने।
उनका अनुसार आवश्यक सामग्री जुटाएर मेडिकल सेन्टर स्थापना गरेपछि प्रतियोगिताका क्रममा खेलाडीलाई खेलस्थलमै तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुनेछ। सामान्य चोटपटकका लागि अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने र खेलाडीको उपचारलाई प्रभावकारी बनाउने लक्ष्यसहित स्वास्थ्य व्यवस्थापनको तयारी भइरहेको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।