Trending
Prev Story
Next Story

सीमान्त साहित्य सम्मेलन, जुम्लाले जुराएको भेट

Ekantipur •
November 21, 2026 • 09:32 AM
3
3 reads 0 reactions

हामीले जुम्ला पुग्नुअघि नै जुम्लाबारे अनेक सुनेका थियौं । कर्णालीको कठिन भूगोल, त्यहाँको जीवनसंघर्ष, ऐतिहासिक सभ्यता, भाषा, संस्कृति र स्वाभिमानका कथा । तर सुन्नु र पुग्नुमा फरक हुँदो रहेछ ।

सीमान्त साहित्य सम्मेलन, जुम्लाले जुराएको भेट

हामीले जुम्ला पुग्नुअघि नै जुम्लाबारे अनेक सुनेका थियौं । कर्णालीको कठिन भूगोल, त्यहाँको जीवनसंघर्ष, ऐतिहासिक सभ्यता, भाषा, संस्कृति र स्वाभिमानका कथा । तर सुन्नु र पुग्नुमा फरक हुँदो रहेछ ।

काठमाडौँ — कुटिरो रिसर्च सेन्टरले जुम्लामा आयोजना गर्न लागेको सीमान्त साहित्य सम्मेलनको निम्तो झापासम्म आइपुग्यो, मसम्म आइपुग्यो, तर जिन्दगीका बाह्र वर्ष नेपाल बाहिर बसेकी मेरा लागि  जुम्ला जाने बाटो केवल एउटा भूगोलसम्म पुग्ने बाटो थिएन । त्यो यात्रा आफैमा अनेक प्रश्न, अनुभूति र सम्भावनाहरूको खोजी पनि  थियो । र कठिना पनि थियो, एउटा लामो यात्रा ।

करिब ३६ घण्टाको  गाडीको लगातार  यात्रा, तराईका फाट हुँदै, नेपाल विभिन्न वन, राष्ट्रिय निकुञ्ज  छिचोल्दै, पहाडका घुम्तीहरू पार गर्दै, नदीका किनारलाई पछाडि छोड्दै र बस्तीहरू छिचोल्दै जुम्ला पुगियो ।

जुम्ला हिमाली भूगोलको एउटा जिल्ला मात्रै नभई इतिहास, सभ्यता, संस्कृति र जीवनदर्शनको विशिष्ट भूमि हो । यहाँको माटोमा समयका अनेक तहहरू देख्दै गएँ, म । यहाँका बस्ती, भाषा, परम्परा र जनजीवनले नेपाली समाजको विविधतालाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ  ।

यहाँ संघर्ष छ, तर संघर्षसँगै स्वाभिमान पनि छ । तराईका ठूलो सहर झै अग्ला घर छन् । सुव्यवस्थित होटलहरु छन् । छेउमा कलकल बगिरहेकी तिला नदी छिन् । तिलाको वारिपारी देखिएको किसानको सिर्जनशीलता छ । बाटो मात्रै हेरौं भने जुम्ला भौगोलिक विकटता झलिरहेको छ, तर त्यही भूगोलभित्र जीवनलाई निरन्तरता दिने अद्भुत सामर्थ्य पनि छ ।

यात्रा एक ठाउँबाट अर्को ठाउँ पुग्नु मात्रै होइन रहेछ । यो मानिस, समाज, संस्कृति र समयलाई नजिकबाट बुझ्ने अवसर पनि हो । कतिपय यात्राले नयाँ ठाउँ चिनाउँछन्, कतिपयले नयाँ मानिससँग भेट गराउँछन् र कतिपय यात्राले आफ्नै सोच्ने तरिकामाथि पुनर्विचार गर्न बाध्य बनाउँछन् । जुम्लाको यो यात्राले मलाई नयाँ ठाउँ चिनायो, नयाँ  साथी बनायो र आफ्नै चेतना माथि पुनर्बिचार गर्न बाध्य तुलायो ।

हामीले जुम्ला पुग्नुअघि नै जुम्लाबारे अनेक कुरा सुनेका थियौं । कर्णालीको कठिन भूगोल, त्यहाँको जीवनसंघर्ष, ऐतिहासिक सभ्यता, भाषा, संस्कृति र स्वाभिमानका कथा । तर सुन्नु र पुग्नुमा फरक हुँदोरहेछ । कुनै ठाउँबारे पढ्नु र त्यहाँका मानिससँग बसेर संवाद गर्नुमा पनि फरक हुन्छ । भूगोलको नक्सामा देखिने ठाउँ र मानिसहरूको स्मृतिमा बाँचेको ठाउँ एउटै हुँदैन ।

त्यसैले यस यात्रामा हामी केवल एउटा साहित्य सम्मेलनमा सहभागी हुन होइन, जुम्लालाई नजिकबाट बुझ्न पनि पाईरहेका थियौं । स्वागतदेखि अतिथि व्यवस्थापनसम्म भ्याउने विवेन्द्र नेपालीको क्षमतानै हामीले जुम्लाको क्षमता हो भनि बुझ्यौँ ।

पहाडको उचाइभन्दा पनि त्यहाँ बाँचिरहेका मानिसहरूको धैर्य ठूलो पायौं । कठिन जीवनलाई सहज बनाउने उनीहरूको सीप र सामर्थ्य तारिफ योग्य भेट्यौं ।

सीमान्त साहित्य सम्मेलनका हरेक सेसनले विकासका सूचकाङ्कमा पछाडि पारिएका भूगोलमा पनि जीवनका आफ्नै दर्शन, ज्ञान र सौन्दर्य हुन्छन् भन्ने प्रमाणित गर्दै लिइरहेका थिए । त्यहाँको सम्भावना, मौलिकता र ज्ञानलाई हामी बुझ्ने चेष्टा गरिरहेका थियौँ । सायद, यही देखाउनका लागि पनि सीमान्त साहित्य सम्मेलनको आवश्यकता थियो ।

सीमान्त साहित्य सम्मेलनको मूल उद्देश्य साहित्यिक सिर्जना प्रस्तुत गर्नु मात्र थिएन भन्ने कुरा यसको अवधारणाले नै स्पष्ट भैसकेका थियौं । यो साहित्यका माध्यमबाट समाजका विविध आवाजलाई एउटै संवादमा ल्याउने प्रयत्न देखिन्थ्यो  ।

सम्मेलनहरू प्रायः निर्धारित समयभित्र सञ्चालन हुन्छन् । उद्घाटन, मन्तव्य, कार्यपत्र, टिप्पणी, कविता, गजल र समापन । कार्यक्रमको औपचारिक संरचना यस्तै हुन्छ । तर कुनै सम्मेलनको वास्तविक महत्त्व त्यसको कार्यक्रम तालिकाले मात्र निर्धारण गर्दैन । त्यहाँ उठेका प्रश्न, भएका बहस र सहभागीहरूबीच विकसित भएको वैचारिक सम्बन्धले त्यसको अर्थ निर्माण गर्छ ।

सीमान्त साहित्य सम्मेलनले मेरो पनि मनमा केही प्रश्नहरू उठाएको छ । साहित्यमा सीमान्तको प्रतिनिधित्व कसरी हुन्छ ? सीमान्तका मानिसले आफ्नै कथा आफै लेख्न पाएका छन् कि छैनन् ? उनीहरूको भाषालाई साहित्यिक भाषाको मान्यता दिइएको छ कि छैन ? गाउँको जीवन, श्रम र अनुभवलाई साहित्यको विषय बनाउँदा हामी त्यसलाई कुन दृष्टिले हेर्छौं ?

साहित्यिक संस्थाहरूले नयाँ प्रतिभालाई कति अवसर दिएका छन् ? र सबैभन्दा महत्त्वपूर्ण कुरा, साहित्यले समाजमा विद्यमान असमानतालाई केवल वर्णन गर्छ कि त्यसलाई बदल्ने चेतना पनि निर्माण गर्छ ? यि प्रश्नको धङधङी अझै चलिरहेको छ ।

हामीले साहित्यलाई केवल मनोरञ्जन वा सौन्दर्यको माध्यमका रूपमा बुझ्यौं भने यसको सामाजिक भूमिका साँघुरिन्छ । साहित्यले मानिसलाई आनन्द दिनुपर्छ, तर त्यससँगै उसलाई सोच्न पनि बाध्य बनाउनुपर्छ । एउटा कविताले पाठकलाई भावुक बनाउन सक्छ, तर त्यही कविताले उसलाई आफ्नो समयको अन्यायबारे सचेत पनि बनाउन सक्छ । एउटा कथाले कुनै पात्रको जीवन सुनाउन सक्छ, तर त्यसले समग्र समाजको संरचनामाथि प्रश्न पनि उठाउन सक्छ ।

नेपालको साहित्यलाई हेर्दा एउटा रोचक पक्ष देखिन्छ । साहित्य देशभरि लेखिन्छ, तर साहित्यिक बहसका केन्द्रहरू सीमित ठाउँमा बढी केन्द्रित छन् । जस्तोकि काठमाडौं, पोखरा, चितवन, बिर्तामोड, सुर्खेत, धनगढी तर  सिर्जना गर्ने मानिसहरू गाउँगाउँमा छन् । र उनीहरूका सिर्जनाले चर्चा पाउने मञ्चहरू सबै ठाउँमा समान रूपमा उपलब्ध छैनन् । प्रतिभा भूगोलअनुसार जन्मिँदैन, तर अवसरको वितरण पनि  भूगोलअनुसार असमान देखिन्छ ।

राजधानीमा बसेर साहित्यको केन्द्र निर्माण गर्न सजिलो छ । त्यहाँ प्रकाशन संस्था छन्, साहित्यिक संगठन छन्, सञ्चारमाध्यम छन्, पुस्तक बजार छ र साहित्यकारहरूको नियमित जमघट हुने ठाउँहरू छन् ।

तर देशका दुर्गम बस्तीमा बसेर सिर्जना गरिरहेका लेखकका लागि आफ्नो आवाज स्थापित गर्नु त्यति सहज छैन । उनीहरूसँग सिर्जना हुन सक्छ, विचार हुन सक्छ, अनुभव हुन सक्छ, तर ती कुरा सार्वजनिक बहसमा ल्याउने अवसर नहुन सक्छ ।

त्यहाँ हामीले  केही यस्ता कवि, लेखक र कलाकार साथी भेट्यौँ, जो सामाजिक मुद्दामा अथक लागिरहनु भएको छ । तर केन्द्रिय बहस संचारमा उहाँहरु कतै हुनुहुन्न । यही असमानताले साहित्यमा पनि केन्द्र र सीमान्तको बहस जन्माएको हुन सक्छ ।

सीमान्त भन्नाले भौगोलिक रूपमा टाढा रहेको ठाउँ वा किनाराकृत समुदाय मात्रै बुझिँदैन । सीमान्त सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक र वैचारिक पनि हुन्छ । आफ्नो भाषा बोल्दा उपेक्षित हुने समुदाय, आफ्नो इतिहास सुनाउँदा नसुनिने मानिस, आफ्नो अनुभवलाई साहित्यको विषय मान्न तयार नभएको समाज र अवसरबाट टाढा राखिएका सिर्जनाकर्मी सबै कुनै न कुनै रूपमा सीमान्तकृत छन् ।

त्यसैले सीमान्त साहित्यको चर्चा गर्दा कर्णाली वा जुम्लाको कुरा गरेर पुग्दैन । यो त समाजले कसलाई केन्द्रमा राखेको छ र कसलाई किनारमा छोडेको छ भन्ने प्रश्नसँग जोडिन्छ । त्यस कार्यक्रममा उपस्थित जुम्ला, कालिकोट, दैलेख, अछाम, बाँके,  कैलालीका लेखक तथा कविको सबैको चर्चाको विषय पनि सिमान्त साहित्य नै रह्यो ।

साहित्यले समाजका सबै आवाजलाई समान महत्त्व दिन सक्नुपर्छ । कुनै एउटा वर्ग, भाषा, भूगोल वा समुदायको अनुभव मात्र साहित्यको मानक बन्नु हुँदैन । साहित्यको शक्ति नै विविध अनुभवलाई एउटै मानवीय धरातलमा जोड्न सक्नुमा छ । भन्नेमा सबै एक मत देखिनु हुन्थ्यो ।

अर्को दिन कुटिरोका साथिहरुले पाउनालाई गुठिचौर घुमाउन लैजाने कुरा भयो । त्यो यात्राले मलाई जुम्लाको जीवनलाई नजिकबाट हेर्न मानिस र प्रकृतिबीचको सम्बन्ध बुझ्न मद्दत गर्‍यो । जुम्ला खलंगा देखि करब एक घण्टाको यात्रा मेरा लागी सपनाको यात्रा जस्तै थियो  ।

ऋतुको परिवर्तनसँगै बदलिने खेतीपाती, हिमालसँग जोडिएको जनजीवन, स्थानीय खानपान, भाषा र सांस्कृतिक अभ्यासले यहाँको मौलिकता निर्माण गरेको प्रस्ट देखिन्थ्यो । घरको छत माथि धान चुटिरहेको दृश्य आफ्नै आँखाले देख्न पाइयो । औद्योगिक युगमा पनि मान्छे पाखुराका भरमा खेतीपाती गरिरहेका छन् । यी सबै कुरा साहित्यका विषय हुन् । अझ भनौँ, साहित्यले खोजिरहेको जीवनको वास्तविकता यस्तै ठाउँमा भेटिन्छ ।

सीमान्त कथा केन्द्रमा बसेर पनि लेख्न सकिन्छ । तर त्यसका लागि भूगोल मात्र होइन, त्यहाँको इतिहास, भाषा, संस्कृति र जीवन बुझ्नुपर्छ । टाढाबाट अभाव देख्नु र नजिकबाट जीवन बुझ्नु फरक कुरा हुन लाग्छन्, मलाई ।

सीमान्तकृत केवल पीडा र अभावका पात्र होइनन् । उनीहरूसँग आफ्नै ज्ञान, दृष्टि, सिर्जना र सम्भावना छन् । साहित्यले उनीहरूलाई सहानुभूतिको पात्र होइन, आफ्नै आवाज र अस्तित्व भएका पूर्ण मानिसका रूपमा प्रस्तुत गर्नुपर्छ । उनीहरूबारे लेखिनु मात्र पर्याप्त छैन, उनीहरूलाई आफैं लेख्ने, बोल्ने र प्रकाशित हुने अवसर पनि चाहिन्छ ।

कर्णालीलाई अभाव र दुर्गमताको परिचयमा मात्र सीमित गर्नु पनि उचित हुँदैन । यहाँको इतिहास, संस्कृति, स्थानीय ज्ञान र जीवनदृष्टि पनि उत्तिकै महत्त्वपूर्ण छन् । विकास सडक र भवनमा मात्र होइन, भाषा, संस्कृति र सिर्जनशीलताको सम्मानमा पनि देखिनुपर्छ।

कुनै सम्मेलनको मूल्य त्यसको भव्यताले होइन, त्यसले जन्माएका विचार र त्यसपछिको निरन्तरताले निर्धारण गर्छ ।  कुटीरोको परिकल्पना र पहलमा आयोजित सीमान्त साहित्य सम्मेलनले उठाएका प्रश्नलाई अब प्रकाशन, अभिलेखीकरण, संवाद र स्थानीय स्रष्टाको सिर्जनालाई पाठकसम्म पुर्‍याउने कामसँग जोड्न सक्नु भयो भने यो धेरै ठूलो काम हुनेछ ।

कुनै पनि साहित्यिक कार्यक्रम आयोजना गर्नु सामान्य काम होइन । अझ आफ्नो भूगोल र समुदायको आवाजलाई राष्ट्रिय बहससँग जोड्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गर्नु झन् चुनौतीपूर्ण हुन्छ । त्यसका लागि आर्थिक स्रोत मात्र पर्याप्त हुँदैन। इच्छाशक्ति, निरन्तर श्रम, सम्बन्ध निर्माण गर्ने क्षमता र उद्देश्यप्रतिको इमानदारी चाहिन्छ । यस अर्थमा सीमान्त साहित्य सम्मेलनको प्रथम संस्करण आयोजना गर्नु आफैमा एउटा महत्त्वपूर्ण पहल थियो।

महेश नेपाली र कुटिरो रिसर्च सेन्टरको टोलीले यस अभियानलाई व्यवहारमा उतार्न गरेको प्रयत्न सम्मानयोग्य छ । एउटा विचारलाई सार्वजनिक अभियानमा बदल्न त्यसको परिकल्पना गर्ने मानिस मात्र भएर पुग्दैन । त्यसलाई सम्भव बनाउने सामूहिक हातहरू पनि चाहिन्छन् । कसैले योजना बनाउँछ, कसैले समन्वय गर्छ, कसैले व्यवस्थापन गर्छ, कसैले सहभागीहरू जोड्छ र कसैले कार्यक्रम सफल बनाउन पर्दापछाडि रहेर निरन्तर काम गर्छ । त्यो सिङ्गो टिमलाई मनै देखि धन्यवाद दिन्छु ।

इतिहास सधैँ ठूला मञ्चमा बोल्नेहरूले मात्र लेख्दैनन् । कहिलेकाहीँ इतिहास उनीहरूले पनि लेख्छन्, जसले अरूका आवाज सुनिने मञ्च निर्माण गर्छन् । महेश नेपाली र कुटिरो रिसर्च सेन्टरको टोलीको यो पहललाई त्यसै अर्थमा हेर्नुपर्छ । साहित्यलाई सीमित घेराबाट बाहिर निकालेर नयाँ भूगोल, नयाँ अनुभव र नयाँ पुस्तासँग जोड्ने प्रयत्न आफैमा सकारात्मक हस्तक्षेप हो । यो सम्मान योग्य छ ।

जुम्लाबाट फर्किँदा एउटा कुरा अझ स्पष्ट भयो: सीमान्तलाई केन्द्रमा ल्याउनु मात्र समाधान होइन, केन्द्र र सीमान्तबीचको असमान सम्बन्ध बदल्नु आवश्यक छ । कुनै मानिसले आफ्नो आवाज सुनाउन राजधानी पुग्नुपर्ने, आफ्नो सिर्जना चिनाउन शक्तिकेन्द्र धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।

सीमान्तमा जन्मिएको आवाज कमजोर हुँदैन । त्यसले केन्द्रले नदेखेका सत्य देखाउन सक्छ । त्यसलाई सुन्ने समाज र सम्मान गर्ने साहित्यिक संस्कारको निर्माण हुनुपर्छ । सायद, सीमान्त साहित्य सम्मेलनको सार पनि यही हो: भूगोल  होइन, दृष्टि बदलौँ । यसपालिको यात्राले मेरो दृष्टि बदलिदियो । धन्यवाद, जुम्ला धन्यवाद जुम्ली ।

सन्तोषी झापाकी ढकाल लामो समयदेखि नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी छिन्नु । गजल विधाकी उनी समाजिक विज्ञानमा निबन्धमासमेत कलम चलाउँछ‍िन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गरेका थिए।

#सम्मेलन #भेट
Compare →
Hamro Patro News
19h ago
जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्ला । जुम्लामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरप...

#जुम्ला
Compare →
Onlinekhabar
1d ago
सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु

४ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय हेमबहादुर महत रहेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे जुम्ला …

#जुम्ला
Compare →

Related Stories

Politics & Governance
Build #2612