हुलुमालेस्थित सेन्ट्र पार्कमा भएको माल्दिभ्स रोड रेसमा सन्ताेषी श्रेष्ठले हाफ म्याराथन र ५ किमिमा स्वर्ण जितिन् । पुरुष हाफ म्याराथनमा नेपालका सन्तोष विक्रम बिष्टभन्दा एक सेकेन्डले पछाडि रहे ।
काठमाडौं — माल्दिभ्समा भएको १७ औं संस्करणको धिरागु रोड रेड २०२६ मा नेपाली धाविका सन्तोषी श्रेष्ठले दुई विधामा कोर्स रेकर्डसहित स्वर्ण पदक जितेकी छन् । उनले महिला हाफ म्याराथन र ५ किमिमा स्वर्ण जितेकी हुन् ।
हुलुमालेस्थित सेन्ट्र पार्कमा भएको रोड रेसमा विभिन्न देशका खेलाडीसहित ५ हजार ५ सयको सहभागिता थियो । दुई वर्षअघि दुवै विधामा स्वर्ण जितेकी सन्तोषीले हाफ म्याराथन १ घन्टा २६ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । माल्दिभ्सका आइसाथ जिनानी इब्राहिम र फाथिमथ सिजाले रजत र कांस्य पदक जितेका थिए ।
केन्याका टाइरु चेगेले एक घण्टा १८ मिनेट १६ सेकेन्डमा पुरुष हाफ म्याराथन पूरा गरे । उनीभन्दा एक सेकेन्डले नेपालका सन्तोष विक्रम बिष्टभन्दा पछाडि रहे। सन्ताेष गत वर्षका विजेता हुन् । चेगेले ५ किमि दाैड पनि जिते । सन्ताेषविक्रम ५ किमिमा पनि दाेस्राे नै भएका थिए । माल्दिभ्सका धावक सिफाज मोहम्मदले हाफ म्याराथनमा तेस्रो स्थान हासिल गरे ।
१० किमि खुलामा माल्दिभ्सका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । पुरुषतर्फ हुसेन फजिल हारुन र महिलातर्फ आइसाथ रिसमी विजयी भए। यी दुवै खेलाडीले ५ किलोमिटर विधामा पनि तेस्रो स्थान हासिल गरे । १० किलोमिटर मास्टर्स विधामा करिम माकोक र जारा रियाज विजयी भए भने हाफ म्याराथनकाे मास्टर्स विधामा असवान अली र हुस्ना मोहम्मदले पहिलो स्थान हात पारे ।
यो रेस एम्स र वर्ल्ड एथलेटिक्स मान्यताप्राप्त प्रतियोगिता हो । यस वर्ष चार विधा थपिएको थियो । विजेताका लागि कुल २ लाख ९६ हजार माल्दिभियन रुफिया नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
हाफ म्थाराथन विजेताले २५ हजार, रजतले १५ हजार र कांस्यले १० हजार एमभीआर पाएका थिए । ५ किमिका स्वर्ण विजेताले १० हजार रजतले ८ हजार र कांस्यले ६ हजार पाएका थिए । सन्ताेषीले दुवै विधामा गरी करिब २३ सय अमेरिकी डलर पुरस्कार जितिन् ।
ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।