‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने नाराका विश्व मत्स्य दिवसको अवसरमा जब्दीघाटनमा माछाका भुरा छाडिएको हो ।
बर्दिया — विश्व मत्स्य दिवसको अवसरमा बबई नदीमा दश हजार माछाका भुरा छोडिए
विश्व मत्स्य दिवसको अवसरमा बबई नदीमा १० हजार माछाका भुरा छोडिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले शनिबार बिहान गुलरिया नगरपालिका–४ स्थित बबई नदीको जब्दीघाटमा माछाका भुरा छोडेको हो ।
‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने मूल नाराका साथ नदीमा माछाका भुरा छोडेर विश्व मत्स्य दिवस मनाइएको छ ।
जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकी प्रमुख कमला अधिकारीले बताइन् । ‘जलवायु परिवर्तनको प्रभाव नदी, नाला, सिमसार क्षेत्र र जलचर प्राणीमा देखिन थालेको छ,’ उनले भनिन्, ‘अनियमित वर्षा, नदीको बहावमा आउने परिवर्तन, बाढी तथा खडेरीले माछाको प्राकृतिक बासस्थान र प्रजनन प्रक्रियामा प्रतिकूल असर पुर्याइरहेको छ ।’
प्राकृतिक मत्स्य उत्पादनमा मात्र होइन, जलचर जैविक विविधता र यसमा आश्रित समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिएको उनको भनाइ छ । 'अव्यवस्थित तरिकाले माछा मार्ने प्रवृत्ति, विषादी तथा विद्युतीय करेन्ट प्रयोग, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन, जथाभावी उत्खननले माछाको प्राकृतिक बासस्थान विनाश भई माछाको अस्तित्व संकटमा रहेको छ । जलचर सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले भनिन् ।
रैथाने माछाको अस्तित्व हराउन नदिन समयमै सरोकारवालाले ध्यान दिन जरुरी रहेको गुलरिया नगरपालिका–४ का वडाध्यक्ष सुरेश गौतमले बताए । ‘नदीमा अव्यवस्थित रूपमा माछा मार्ने चलन रहेकोले माछाका भुरा नदीमा छोड्दा रैथाने प्रजातिका माछा लोप हुँदैनन्,’ जिल्ला मत्स्य व्यवसाय संघका अध्यक्ष गणेश लम्सालले भने, ‘आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्न जरुरी छ ।’
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।