Trending
Prev Story
Next Story

बलेका भवन, बाँकी प्रश्न र अघि बढ्नुपर्ने समय

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

हिल्टनबाट सुरु गरौं । तिहारको झिलिमिलीमा हिल्टनको बाहिरी भाग मधुरो उज्यालोमा देखिन्थ्यो । भित्र भने अँध्यारो थियो । सुनसान । मानौं, भवन आफैं केही समयदेखि मौन छ । बाहिरबाट बालिएका बत्तीले त्यसको अस्तित्वलाई फेरि देखिने बनाएका …

बलेका भवन, बाँकी प्रश्न र अघि बढ्नुपर्ने समय

तिहारको झिलिमिलीमा हिल्टनको बाहिरी भाग मधुरो उज्यालोमा देखिन्थ्यो । भित्र भने अँध्यारो थियो । सुनसान । मानौं, भवन आफैं केही समयदेखि मौन छ । बाहिरबाट बालिएका बत्तीले त्यसको अस्तित्वलाई फेरि देखिने बनाएका थिए । तर, ती उज्यालोले भित्रको रिक्तता छोप्न सकेका थिएनन् । अलि अगाडि, टङ्गालतिर बढ्दै गर्दा भाटभटेनी झलमल्ल देखियो । उज्यालोको चरममा । टाढैबाट आँखा तान्ने गरी ।

हिल्टन र भाटभटेनी । दुवै भवन जेनजी आन्दोलन क्रममा आगजनीमा परेका थिए । दुवैका भित्ताले आगोको ताप सहेका थिए । तिहारको समयमा तिनै भवनमा उज्यालो फर्किएको थियो । एउटामा मधुरो, अर्कोमा भरपूर ।

आगोले क्षति पुर्‍याएका भवनमा फेरि बत्ती बल्नु केवल भौतिक पुनर्निर्माणको विषय थिएन । त्यसमा सामान्य जीवनतर्फ फर्कने प्रयास थियो । मानिसहरूको श्रम, लगानी र आशा फेरि जोड्ने चाहना थियो । भत्किएको संरचना उठाउन सकिन्छ, कारोबार पुन: सुरु गर्न सकिन्छ र समयसँगै धेरै कुरा आफ्नो लयमा फर्कन सक्छन् ।

तर, समाजको सन्दर्भमा एउटा प्रश्न बाँकी रहन्छ ।

हामीले भौतिक संरचनालाई त पुनर्निर्माण गरौंला, तर ती घटनाले उजागर गरेका प्रश्नबाट के सिक्यौं ?

जेनजी आन्दोलनलाई केही भवनमा लागेको आगो, फुटेका सिसा वा सडकमा उत्रिएको भिडका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । त्यो लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि र परिवर्तनको आकांक्षाको अभिव्यक्ति थियो । अवसरको असमानता, सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास, जवाफदेहिता अभाव र सीमित पहुँचभित्र घुमिरहेको अवसरको वितरणले युवापुस्तामा निराशा बढाएको थियो ।

आन्दोलन क्रममा भएका क्षति र त्यसको मानवीय तथा आर्थिक मूल्य पनि बिर्सन मिल्दैन । तर, क्षति चर्चा गर्दै त्यसको पृष्ठभूमिमा रहेका प्रश्न ओझेलमा पार्नु पनि उचित हुँदैन । दुवै पक्ष बुझेर अघि बढ्नु नै परिपक्व समाजको बाटो हो ।

समय सधैं एकै ठाउँमा रहँदैन । पुस्ता बदलिन्छन्, अपेक्षा बदलिन्छन्, सोच्ने तरिका बदलिन्छ । सूचना र प्रविधि पहुँचले नयाँ पुस्तालाई संसारसँग जोडेको छ । उनीहरू अब अवसर, पारदर्शिता र सम्मानका विषयमा पहिलेभन्दा फरक अपेक्षा राख्छन् । उनीहरूको प्रश्न पनि फरक छ । उनीहरूले खोजेको भविष्य पनि फरक छ ।

त्यसैले परिवर्तनको चाहनालाई केवल एउटा आन्दोलनको समयसँग जोडेर हेर्नु हुँदैन । त्यो निरन्तर चलिरहने सामाजिक प्रक्रिया हो ।

हामीकहाँ परिवर्तनको चर्चा गर्दा प्राय: पात्र र पदको कुरा धेरै हुन्छ । को आयो, को गयो, कसले नेतृत्व गर्‍यो भन्ने विषयले प्राथमिकता पाउँछ । तर संस्थाको कार्यशैली, निर्णय प्रक्रिया पारदर्शिता र नागरिकप्रतिको उत्तरदायित्वमा कति परिवर्तन आयो भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ ।

नयाँ अनुहार आउनु सकारात्मक हुन सक्छ । तर। नयाँ सोच र काम गर्ने संस्कार पनि सँगसँगै आउनुपर्छ । सार्वजनिक पदलाई जिम्मेवारीका रूपमा बुझ्ने, अवसरलाई न्यायोचित ढङ्गले वितरण गर्ने र नागरिकको आवाज सुन्ने अभ्यास संस्थागत हुनुपर्छ ।

परिवर्तनको अर्थ विगतलाई अस्वीकार गर्नुमात्र होइन । विगतका अनुभवबाट सिकेर भविष्यलाई अझ राम्रो बनाउनु पनि हो ।

हामीले निर्माण गरेका संरचना, संस्थाहरू र सामाजिक सम्बन्ध सबै समय अनुसार परिमार्जन हुनुपर्छ । हिजो उपयुक्त देखिएका अभ्यास आज पर्याप्त नहुन सक्छन् । संसार अगाडि बढिरहेको छ । हाम्रो सोच, कार्यशैली र संस्थागत क्षमता पनि त्यसैअनुसार विकसित हुनुपर्छ ।

आन्दोलनपछि सामान्य अवस्थामा फर्कने चाहना स्वाभाविक हो । व्यवसाय चलुन्, रोजगारीका अवसर फर्किउन्, लगानीको वातावरण बनोस्, सार्वजनिक जीवन सहज होस् । तर, सामान्य अवस्थामा फर्कनुमात्र उपलब्धि होइन । विगतका कमजोरी सच्याएर अझ विश्वासिलो र समावेशी अवस्था निर्माण गर्नु हाम्रो लक्ष्य हुनुपर्छ ।

हामीलाई विकास चाहिएको छ, तर विकाससँगै विश्वास पनि चाहिएको छ । पूर्वाधार चाहिएको छ, तर त्यसको लाभ सबै नागरिकसम्म पुग्ने व्यवस्था पनि चाहिएको छ । आर्थिक गतिविधि बढ्नुपर्छ, तर अवसर केही सीमित घेरामा मात्र केन्द्रित हुनु हुँदैन ।

यी विषय कुनै एक पुस्ता, राजनीतिक दल वा सरकारको मात्र जिम्मेवारी होइनन् । राज्यका संस्था, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको साझा दायित्व हुन् ।

भवन पुनर्निर्माण गर्न इँटा, सिमेन्ट, श्रम र पूँजी चाहिन्छ । तर, विश्वास पुनर्निर्माण गर्न समय, व्यवहार र निरन्तरता चाहिन्छ । त्यो एकै पटक पूरा हुने काम होइन । साना तर विश्वसनीय कामबाट त्यसको सुरुवात हुन्छ ।

सायद, अब हामीले घटनालाई मात्र सम्झिरहने होइन, त्यसबाट प्राप्त सन्देशलाई व्यवहारमा उतार्ने समय आएको छ । असहमति सुन्ने, फरक विचार सम्मान गर्ने र परिवर्तनका लागि शान्तिपूर्ण तथा संस्थागत बाटो बलियो बनाउने अभ्यास आवश्यक छ ।

समय अघि बढिसकेको छ । भवनहरू पनि आफ्नो लयमा फर्कनेछन् । व्यवसाय फेरि चल्नेछन् । नयाँ लगानी आउनेछन् । नयाँ पुस्ताले नयाँ सम्भावना खोज्ने छ । तर, यो सबैसँगै हाम्रा संस्थाहरू पनि बदलिनुपर्छ । पुराना कमजोरी दोहोर्‍याउँदै नयाँ भविष्य निर्माण गर्न सकिँदैन ।

हिल्टन र भाटभटेनीका दृश्यले मलाई यही सम्झाए । तिहारमा ती भवनमा देखिएको उज्यालो क्षणिक पर्वको सजावट मात्र थिएन । त्यसले भौतिक संरचनासँगै सामान्य जीवन र आशा पनि फर्कन सक्छन् भन्ने संकेत दिएको थियो । तर त्यससँगै समाजको विश्वास, संस्थाको विश्वसनीयता र भविष्यप्रतिको आशा पनि फर्कनुपर्छ ।

तिहारमा हामीले घर, आँगन र सहर उज्यालो बनायौं । अब त्यो उज्यालोको अर्थ हाम्रो व्यवहार र संस्थाहरूमा पनि देखिनुपर्छ ।

आगोपछि भवन उठाउन सकिन्छ । असहमतिपछि संवाद सुरु गर्न सकिन्छ । निराशापछि आशा पलाउन सक्छ । त्यसका लागि विगतमा अड्किरहनु भन्दा त्यसबाट सिकेर अघि बढ्न सक्नुपर्छ ।

देशलाई अब केवल पुनर्निर्माण होइन, नयाँ ढङ्गले निर्माण गर्ने सोच चाहिएको छ ।

किनकि, हामीले समयलाई पछाडि फर्काउन सक्दैनौं । तर, समयसँगै आफूलाई बदल्न अवश्य सक्छौं । अघि बढ्नु भनेको सबै कुरा बिर्सनु होइन । आवश्यक कुरा सम्झेर, कमजोरी स्वीकारेर र सुधारको बाटो रोजेर अघि बढ्नु हो ।

लेखक सुवेदी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#उज्यालो #तिहार
Compare →
Hamro Patro News
21h ago
वडा कार्यालयको नयाँ भवनबाट सेवा

वडा कार्यालयको नयाँ भवनबाट सेवा

भोजपुरको साल्पासिलिछो गाउँपालिका –४ खाटाम्माको नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ । विगत लामो समयदेखि पुरानो तथा कच्चा जस्तापाता, झ्याल, ढोका, भत्किएक...

#भवन
Compare →
Ekantipur
4d ago
सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।

#भवन
Compare →

Related Stories

Technology
Build #2612