Trending
Prev Story
Next Story

स्थायित्वका लागि पूर्वका उद्योगीको खबरदारी, कठोर सुधार गर्ने अर्थमन्त्री र गभर्नरको वाचा

Ekantipur •
November 20, 2026 • 05:02 PM
3
3 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा अर्थमन्त्री, गभर्नर र उद्योगी व्यवसायीले आर्थिक सुधार, नीतिगत स्थिरता र निजी क्षेत्रको मनोबल उकास्ने विषयमा बहस गरे । अर्थमन्त्रीले सुधारका मार्गचित्र अघि सारे भने उद्योगीहरूले सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै लगानीको वातावरण बनाउन आग्रह गरे ।

स्थायित्वका लागि पूर्वका उद्योगीको खबरदारी, कठोर सुधार गर्ने अर्थमन्त्री र गभर्नरको वाचा

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा अर्थमन्त्री, गभर्नर र उद्योगी व्यवसायीले आर्थिक सुधार, नीतिगत स्थिरता र निजी क्षेत्रको मनोबल उकास्ने विषयमा बहस गरे । अर्थमन्त्रीले सुधारका मार्गचित्र अघि सारे भने उद्योगीहरूले सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै लगानीको वातावरण बनाउन आग्रह गरे ।

विराटनगर — स्थायित्व कायम गरी अर्थतन्त्र चलायमान गराउनुपर्ने पूर्वका उद्योगीहरूको चासोलाई सम्बोधन गर्दै मुलुकको वित्त र मौद्रिक निकायका प्रमुखहरूले त्यसमा कठोर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक सुधार र निजी क्षेत्रको मनोबल उकास्नका लागि आफूहरू नीतिगत र व्यावहारिक समस्या समाधान गर्न तयार रहेको उनीहरूको भनाइ छ ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा शुक्रबार गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ विषयक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले, गभर्नर विश्वनाथ पौडेल, उद्योगी व्यवसायी र प्रदेश सरकारका अधिकारीहरूले अर्थतन्त्रको वर्तमान समस्या पहिचान गर्ने र समाधानको उपाय खोजी भएको बताएका हुन् । मुख्यगरी उद्योगीले मनोबल नबढेको, लगानीको वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् भने, अर्थमन्त्रीले कठोर सुधार गर्ने ८ बुँदे मार्गचित्र नै अघि सारेका छन् । जसमा रूपान्तरणकारी बजेटदेखि निरन्तर आर्थिक सुधार, निजी क्षेत्रको लगानी विस्तार, सुशासन कायम, उत्पादन लागत घटाउने, रोजगारी बढाउने र मूल्यवृद्धिको दबाब कम गर्नेसम्मका विषय छन् ।

चालु वर्षको बजेटलाई सरकारले नियमित आयव्ययको दस्ताबेजमा सीमित नराखेको र त्यसलाई आर्थिक रूपान्तरणको आधार बनाउने प्रयास गरेको मन्त्री वाग्लेले बताए । कर प्रणालीलाई सरल र प्रतिस्पर्धी बनाउने, उद्योगको उत्पादन लागत घटाउने, लगानी प्रक्रियाका अवरोध हटाउने, सार्वजनिक निर्माण प्रणालीमा सुधार गर्ने, वित्तीय क्षेत्रलाई सुदृढ बनाउने र नयाँ आर्थिक सम्भावनालाई प्रोत्साहन गर्ने दिशा बजेटले लिएको अर्थमन्त्री वाग्लेको भनाइ छ ।

‘सरकारको दायित्व अर्थतन्त्रमा केही समयका लागि उत्साह सिर्जना गर्नु मात्र नभई लगानी र उत्पादनलाई निरुत्साहित गर्दै आएका संरचनागत समस्याको समाधान गर्नु हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘व्यवसाय विस्तार गर्न अनुचित प्रभाव होइन, क्षमता र प्रतिस्पर्धा निर्णायक हुन्छ । हामी सुशासनको लाभ लगानीकर्ता, उद्यमी, श्रमिक र आम नागरिकसम्म पुर्‍याउन चाहन्छौं ।’

निजी क्षेत्रले पनि लगानीको दिशा र व्यावसायिक सोचमा परिवर्तन ल्याउनुपर्ने उनले बताए । आयात गरेर बेच्ने गतिविधि मात्र विस्तार हुँदै जाने र स्वदेशभित्र उत्पादन, प्रशोधन, नवप्रवर्तन तथा निर्यात अपेक्षित रूपमा नबढ्ने हो भने अर्थतन्त्रको आधार बलियो नबन्ने अर्थमन्त्रीको भनाइ छ । ‘अब व्यापारको विस्तारसँगै उत्पादनको विस्तार हुनुपर्छ, सरकारले लगानी गर्न पहुँच नचाहिने, नियम पालना मात्रै गरे पुग्ने अवस्था बनाइरहेको छ,’ उनले भने ।

पछिल्ला तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको छ । जसअनुसार कात्तिक मसान्तसम्म पनि वित्तीय प्रणालीमा करिब १६ खर्ब रुपैयाँभन्दा अधिक तरलता थुप्रिएको छ । ब्याजदर इतिहासकै सबैभन्दा न्यून विन्दुमा छ । यस्तो अवस्थामा पनि लगानी विस्तार हुन नसक्नुलाई निजी क्षेत्रको बढ्न नसकेको मनोबलसँग जोडेर हेरिएको छ ।

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राज्यले उद्यमीप्रति उदार दृष्टिकोण राख्नुपर्ने बताए । मुलुकमा धेरैभन्दा धेरै उद्यमी आवश्यक रहेको भन्दै उनले व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘व्यवसायको आफ्नै संयन्त्र हुन्छ र राज्यको चाहना धेरैभन्दा धेरै व्यक्ति उद्यमी बनून्, अरूलाई रोजगारी दिऊन् र आफ्नो परिवारको जीवनस्तर सुधारून् भन्ने हुनुपर्छ,’ उनले भने ।

पौडेलका अनुसार राज्यले व्यापार व्यवसाय गर्ने मान्छे धेरै होऊन् भन्ने चाहन्छ, उनीहरूले अरूलाई जागिर दिऊन्, घरपरिवार राम्रोसँग चलाऊन् र उनीहरूका छोराछोरी सडकमा आउनुपर्ने अवस्था नहोस् भन्ने राज्यको चाहना हुनुपर्छ ।

राज्यलाई अझ धेरै उद्यमी आवश्यक भए पनि उनीहरू कसरी उत्पादन गर्ने भन्ने स्पष्ट नीति र योजना नरहेको उनले बताए । उद्यमशीलता विकासका लागि व्यवसायीप्रति राज्यको दृष्टिकोण उदार हुनुपर्ने उनको भनाइ छ । ‘राज्यलाई झन् धेरै उद्यमी चाहिएको छ, तर कसरी बनाउने भन्नेचाहिँ काम गर्न बाँकी छ,’ उनले भने ।

गभर्नर पौडेलले अहिले लगानी गर्न उपयुक्त समय रहेको पनि बताए । ‘पर्याप्त तरलता छ । ब्याजदर न्यून छ । राष्ट्र बैंक यही ब्याजदर कायम राख्न चाहन्छ, मुद्रास्फीति पनि कम छ । यसकारण ढुक्क भएर लगानी गर्नुस्,’ उनले भने । लगानीका लागि बैंकले सम्भाव्यता भएको आयोजना खोज्ने भएकाले पैसा छ भन्दैमा मनपरी ऋण नदिने पनि उनले प्रस्ट्याए ।

जहिले पनि निसानामा निजी क्षेत्र पर्न थालेको र सरकारले सुरक्षाको प्रत्याभूति दिए पनि व्यवहारमा त्यो नदेखिएकाले आफूहरूको आत्मबल बढ्न नसकेको निजी क्षेत्रले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले नयाँ सरकार बनेपछि कानुनहरू परिवर्तन भएको र त्यसको कार्यान्वयन तल्लो तहबाटै भए/नभएको हेर्न जरुरी रहेको बताए ।

‘म महासंघको अध्यक्ष भइरहेका बेला निजी क्षेत्रको मनोबल बढाउने सम्बन्धमा कानुन परिमार्जनका कुरा लेखेर दिएका थियौं, अहिलेको सरकार आएपछि शासकीय सुधारका १०० बुँदे कार्यक्रममा राखेर मन्त्रिपरिषद्बाट हुबहु पास भएको थियो,’ ढकालले भने, ‘व्यवसायीको मनोबल उकास्ने भनेर परिवर्तन भएका कानुनहरू कार्यान्वयनमा नआएको अवस्था छ ।’

सरकारले ल्याएका र परिमार्जन गरेका कानुनहरू वास्तविक रूपमा कार्यान्वयनमा आएका छन् कि छैनन्, हेर्न जरुरी रहेको उनको भनाइ छ । ‘निजी क्षेत्रको लगानी बढाउन, आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्नका लागि सरकार लागिरहेको कुरा विभिन्न मन्त्रीले भन्दै आएका छन्,’ उनले भने, ‘आम सर्वसाधारण, व्यवसायीका लागि भनेर ल्याइएको लगानी प्रवर्द्धन गर्ने कानुन तल्लो तहबाटै कार्यान्वयन भयो कि भएन भनेर हेर्न जरुरी छ । उद्योगको क्षमता बढाउने, लगानी बढाउने र नयाँ उद्योग खोल्ने कुरा त्यसैमा निर्भर रहन्छ ।’

सरकारले भन्ने र गर्ने कुरामा फरक रहेको निजी क्षेत्रको गुनासो छ । सरकारी पक्ष सबैले निकै राम्रा कुराहरू गर्ने, सबै सुधारको थालनी भयो भन्ने तर व्यवहारमा ती काम नहुने भएकाले सरकारको भनाइप्रति आश्वस्त हुन नसकिएको निजी क्षेत्रको भनाइ छ । यहीकारण अहिले उद्योगमा लगानी गर्ने वातावरण नभएको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले गुनासो गरे । उनले सरकारले उद्योगीहरूलाई लगानी गर्ने वातावरण नबनाएको बताए । स्थानीय सरकारले उद्योगीहरूका समस्या समाधान गर्नुभन्दा पनि सदस्यता तोकेर पैसा उठाइरहेको आरोप उनले लगाए ।

‘गाउँपालिका, नगरपालिकाले आफूखुसी १० लाख, २० लाख सदस्यता तोकेर पैसा उठाइरहेका छन्,’ दुलालले भने, ‘उद्योगीलाई राहत दिनुपर्नेमा उल्टै पैसा उठाइएको छ, एउटा ३ किलोमिटर बाटो बनाइदेऊ भनेर हामीले हजारौं पटक भन्दा पनि बनेको छैन, उद्योगीहरूका समस्या समाधान हुन सकेको छैन ।’

मुलुकमा नयाँ रोजगारी सिर्जना हुन सकेको छैन । उदारीकरणको साढे तीन दशकमा पनि १० हजारभन्दा बढी रोजगारी दिने व्यावसायिक घराना नगन्य छन् । वार्षिक ५ लाख श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको छ । बजार प्रवेश गर्ने श्रमशक्तिको एक चौथाइ संख्यामा मात्र अहिले ठूला व्यावसायिक घरानाले रोजगारी दिएका छन् ।

कार्यक्रममा सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच र नयाँ प्रविधि लिएर आउने युवालाई स्थान दिनुपर्ने पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताए । व्यवसायले समयअनुसार आफूलाई परिवर्तन गर्न नसके प्रतिस्पर्धामा पछि पर्ने उल्लेख गर्दै उनले नवप्रवर्तनलाई आत्मसात् गर्नु सबै व्यावसायिक घरानाका लागि आवश्यक रहेको बताए ।

आफू राज्यमन्त्री रहँदा आफूले स्टार्टअप कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै उनले त्यस क्रममा युवाहरूले देखाएको सिर्जनशीलता र प्राविधिक क्षमताबाट आफू प्रभावित भएको बताए । ‘हामीले पहिले यसको प्रक्रिया एक सातामै कार्यान्वयनमा लैजान्थ्यौं, तर अहिले एक महिना हुँदै यो प्रक्रियामा त्योभन्दा लामो समय पनि लाग्न थालेको छ,’ उनले भने, ‘सरकारी प्रक्रियामा हुने ढिलाइले नयाँ सोच र सिर्जना भएका युवाहरू निराश भएर बिदेसिनुपर्ने अवस्था आएको छ ।’

नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउनुपर्ने बताइन् । ‘कोशीको उत्पादन, विश्व बजारमा पहिचान’ सत्रमा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय नेपाली विद्यार्थी सामान्यदेखि उच्च शिक्षासम्म अध्ययनका लागि विदेश जाने क्रम बढिरहेको उल्लेख गर्दै नेपालमै गुणस्तरीय शैक्षिक संस्था र स्वास्थ्य शिक्षाको विकास गर्न सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताइन् ।

पछिल्ला महिनामा नेपालबाट निर्यात बढेको छ । तर, कुल निर्यातमा ठूलो परिमाण पाम आयल छ, जसको कच्चा पदार्थ आयात हुन्छ, सामान्य प्रशोधनपछि पुनः निर्यात हुन्छ । यसले मुलुकमा न त धेरै रोजगारीको अवसर सिर्जना हुन्छ, न त धेरै मूल्य अभिवृद्धि नै गर्न सकिन्छ ।

खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रकृति गौतमले कृषिबाटै डलर कमाउन सकिने बताइन् । आफ्नो व्यावसायिक अनुभव सुनाउँदै कृषिमा प्रशस्त सम्भावना रहेको उनले उल्लेख गरिन् । कृषि उपजबाट आफूले अन्तर्राष्ट्रिय बजारमा राम्रो आम्दानी गरिरहेको जानकारी दिइन् ।

सन् २०२१ मा धनकुटामा एभोकाडो कुहिएर खेर गएको देखेपछि पोस्ट हार्भेस्ट उद्योग सञ्चालन गर्ने सोच आएको उनको भनाइ छ । ‘संखुवासभामा फलेको कोइरालाको फूल कतार र मलेसिया कसरी पुर्‍याउने ?,’ उनले भनिन्, ‘सुकाउने प्रविधि, रैथाने वस्तु, फलफूल र मसलामा काम गर्न थाल्यौं । अहिले अन्तर्राष्ट्रिय बजार बनाइसकेका छौं ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सरकारले व्यवसायीको मनोबल उकास्दै नीतिगत स्थिरता सुनिश्चित गर्नुका साथै लगानीका लागि विश्वासिलो वातावरण बनाउनुपर्ने बताए । ‘उज्यालो पूर्व’ एउटा भौगोलिक क्षेत्रको नामसँग जोडिएको कार्यक्रम मात्र नभई सम्भावनाप्रतिको विश्वास भएको उनको भनाइ छ । ‘यो आर्थिक रूपान्तरणप्रतिको प्रतिबद्धता हो । उद्यमशीलता विकास र निजी क्षेत्रको प्रवर्द्धनमा सञ्चार क्षेत्रको प्रतिबद्धता पनि हो,’ उनले भने, ‘कोशी प्रदेशको सम्भावनालाई समृद्धिमा बदल्न गर्नुपर्ने पहलबारेको बृहत् बहस पनि हो ।’

नेपाल अहिले आर्थिक र राजनीतिक रूपमा महत्त्वपूर्ण मोडमा रहेको बताउँदै उनले युवाहरूमा निराशा अझै कम नभएको औंल्याए । ‘रोजगारीका लागि विदेसिने क्रम रोकिएको छैन । निजी क्षेत्रले नीतिगत अनिश्चितता, प्रशासनिक जटिलता र लगानीको कमजोर वातावरणका कारण अपेक्षित उत्साहका साथ काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘अर्थतन्त्रको विस्तार निजी क्षेत्रको मनोबलसँग जोडिएको हुन्छ । उद्यमीले भविष्यप्रति भरोसा गर्न सकेन भने नयाँ लगानी आउँदैन । उद्योग विस्तार हुँदैन र रोजगारी सिर्जना हुँदैन ।’

उद्यमशीलतालाई प्रवर्द्धन गर्दै औद्योगिकीकरणको तीव्र विस्तारमा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘सम्भावनाहरूलाई सहज रूपमा उजागर गरी काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । कामका लागि दैनिक २ हजार युवा विदेसिनु सुखद होइन । औद्योगिकीकरणमा हामीले बढी समय बितायौं भने स्वदेशमै रोजगारी सम्भव छ,’ उनले भने, ‘वर्तमान सरकार गठनको ८ महिना हुँदैछ । धेरै सूचक अनुकूल छन् । बैंकमा उच्च रकम छ । त्यो रकम लिन उद्यमीलाई प्रोत्साहित गरिनुपर्छ ।’

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मुलुकमा सम्भावना अथाह रहे पनि त्यसको सही सदुपयोग नभएकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#अर्थमन्त्री #विराटनगर
Compare →
Nagarik News
4h ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री
Compare →
Bizshala
9h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#उद्योगी
Compare →
Arthasansar
2d ago
काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

#पूर्व
Compare →
Hamro Patro News
3d ago
नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको र त्यसको कारण नीतिगत सुधार भएको दाबी गरेका छन्। आन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित...

#अर्थमन्त्री
Compare →

Related Stories

World News
Build #2612