जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
काठमाडौँ — जुम्लामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ चन्दननाथको महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाने सडकमा सरकारी नम्बर प्लेटको १५० सीसीको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय हेमबहादुर महत घाइते भएका थिए । उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याएको थियो । उपचारका क्रममा साँझ ७ बजे चिकित्सकले महतलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।