प्रहरीका अनुसार विदेशी नागरिक नेपाल आउँदा लिएको भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न रहेको हुन सक्ने आशंकामा अनुसन्धान गरिएको हो ।
काभ्रे — काभ्रेको पाँचखाल र पनौतीस्थित बल्थलीका होटल तथा रिसोर्टमा शंकास्पद गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएका विदेशी नागरिकमाथि अनुसन्धान जारी छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पाँचखालबाट नियन्त्रणमा लिइएका विदेशी नागरिकलाई बुधबार नै काठमाडौं पठाइएको थियो । बल्थलीस्थित माउन्टेन रिसोर्टबाट नियन्त्रणमा लिइएका जापानी तथा चिनियाँ नागरिकलाई भने बिहीबार अध्यागमन विभागमा बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार दुवै स्थानबाट नियन्त्रणमा लिइएका नागरिकलाई काठमाडौंमै राखिएको छ ।
प्रहरीले उनीहरू बसेका होटल तथा रिसोर्टबाट विभिन्न विद्युतीय उपकरण बरामद गरेको उनले बताए । ती उपकरण परीक्षणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको विष्टले जानकारी दिए । 'उनीहरू फौजदारी कसुरमा संलग्न रहेको भन्ने आशंका मात्रै हो । अहिलेसम्म कुनै कसुर पुष्टि भएको छैन,' विष्टले भने, 'हामीले प्रारम्भिक अनुसन्धान गरेर बरामद भएका सामग्री थप परीक्षणका लागि पठाउने र व्यक्तिहरूलाई अध्यागमन विभागमा बुझाउने काम गरेका छौं ।'
प्रहरीका अनुसार विदेशी नागरिक नेपाल आउँदा लिएको भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न रहेको हुन सक्ने आशंकामा अनुसन्धान गरिएको हो । उनीहरूले प्रयोग गरेका डिजिटल उपकरणमा के-कस्ता गतिविधि भएका थिए भन्ने विषय परीक्षणपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।
बरामद उपकरणको परीक्षणका क्रममा अनलाइन ठगी वा अन्य कुनै फौजदारी कसुरसँग सम्बन्धित प्रमाण फेला परेमा सोहीअनुसार थप कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । विदेशी नागरिकहरूको नेपाल बसाइ र भिसासम्बन्धी विषयमा भने अध्यागमन विभागले थप छानबिन गर्नेछ । 'डिजिटल डिभाइस परीक्षण भएपछि मात्रै केही कुरा खुल्न सक्छ । अहिले नै उनीहरूले यस्तो कसुर गरेका हुन् भनेर निष्कर्षमा पुग्ने अवस्था छैन,' विष्टले भने ।
प्रहरीले पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले रिसोर्टका कोठालाई कार्यालयजस्तो बनाएर ल्यापटप र मोबाइलमार्फत गतिविधि सञ्चालन गरिरहेको पाइएको थियो । त्यस्तै, पनौतीको बल्थलीस्थित माउन्टेन रिसोर्टबाट पनि चिनियाँ र जापानी गरी ४० जना नागरिकलाई नियन्त्रणमा लिइएको थियो ।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।