‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’
यो विश्व बाल दिवसको नारा हो । तर, के यो नाराले सबै तप्काका बालबालिकालाई समेट्छ ?
यही प्रश्न बोकेर हामी ती बालबालिकाको खोजीमा निस्कियौँ, जसले जेनजी विद्रोहमा आफ्ना अभिभावक गुमाए ।
सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । तीमध्ये कतिले आफ्ना अभिभावक गुमाएका थिए ।
खोज्दै जाँदा उनीहरू खुला क्यानभासमा रङ र ब्रस चलाइरहेका भेटिए । काँचो माटोबाट आफ्नो रुचिअनुसारका आकृति बनाइरहेका देखिए । गोल्यान फाउन्डेसनले यसको तारतम्य मिलाइदिएको रहेछ ।
कस्तो चित्र बनाउने ? कस्तो भाँडो बनाउने ? यसमा कुनै रोकटोक थिएन । उनीहरू स्वच्छन्द रूपमा आफ्नो कला र सीप देखाउन सक्थे । क्यानभासमा जस्तो रङ पोते पनि हुन्थ्यो, काँचो माटोमा जस्तो आकार निकाले पनि हुन्थ्यो ।
यो ती अबोध बालबालिकाका लागि एउटा सांकेतिक उत्सवजस्तै थियो । किनभने उनीहरू काँचो माटो त हुन्। उनीहरू खुला क्यानभास त हुन् ।
उनीहरूलाई खाँचो थियो अटुट माया र अविचलित मार्गदर्शनको ।
यही भूमिकामा रहेछ गोल्यान फाउन्डेसन । यी बालबालिकाका लागि ‘धाईआमा’ जस्तै बनेर शिक्षादीक्षा र स्याहारसुसार गरिरहेको छ ।
आज विश्व बाल दिवसको अवसरमा गोल्यान फाउन्डेसनले नै ती बालबालिकालाई यसरी खुला क्यानभास र काँचो माटो दियो । त्यसमा स्वच्छन्द रमाउन दियो ।
कोही क्यानभासमा सप्तरङ्गी चित्र बनाउँदै थिए, कोही भाँडाकुँडामा आफ्नो कला देखाउँदै थिए ।
पृष्ठभूमिमा राखिएको ब्यानरमा लेखिएको थियो, ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य ।’