प्रतियोगिताको सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन् । तर निर्णायक खेलअघि एपीएफलाई भने कप्तान अनिता बस्नेतको चोटले चुनौती थपेको छ ।
सुनसरी — धरानमा पहिलो पटक आयोजना भइरहेको रात्रिकालीन अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप–२०८३ को उपाधिका लागि शनिबार दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन् । तर निर्णायक खेलअघि एपीएफलाई भने कप्तान अनिता बस्नेतको चोटले चुनौती थपेको छ । नियमित कप्तान अनिता चोटका कारण फाइनल खेलमा सहभागी नहुने भएपछि उनको स्थानमा रेनुका नगरकोटेले टोलीको नेतृत्व गर्नेछिन् ।
धरान–१६ स्थित धरान रंगशालामा फ्लडलाइटको उज्यालोमा हुने फाइनलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । एपीएफका प्रशिक्षक जिवेशकुमार पाण्डे र कार्यवाहक कप्तान रेनुका नगरकोटेले कप्तान अनिताको अनुपस्थिति टोलीका लागि खड्किने भए पनि अन्य खेलाडी लयमा रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे । नेपाल पुलिसका प्रशिक्षक भोला सिलवाल र कप्तान अमृता जैसीले पनि पहिलो संस्करणको उपाधि उचाल्न आफ्नो टोली तयार रहेको बताएका छन् ।
प्रतियोगितामा अहिलेसम्मको प्रदर्शन हेर्दा दुवै विभागीय टोलीको आक्रामक क्षमता बलियो देखिएको छ । क्वार्टरफाइनलदेखि नै विभागीय टोलीले विपक्षीमाथि ठूलो अन्तरको जित निकाल्दै आएका छन् । तीनवटा क्वार्टरफाइनल खेलमा एपीएफ, आर्मी र पुलिसले विपक्षीविरुद्ध कुल २४ गोल गर्दा कुनै गोल खाएका थिएनन् । यसले विभागीय टोली र अन्य क्लबबीचको प्रतिस्पर्धात्मक अन्तरसमेत देखाएको छ ।
एपीएफले क्वार्टरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । उक्त खेलमा पूर्णिमा राईले चार गोल र रश्मिकुमारी घिसिङले दुई गोल गरेकी थिइन् । सेमिफाइनलमा अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई २–० गोलले हराउँदै एपीएफ फाइनल पुगेको हो । आर्मीविरुद्ध कप्तान अनिता बस्नेतले नवौं मिनेटमा र गीता राणाले ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । महत्त्वपूर्ण सेमिफाइनलमा गोल गरेकी अनिता नै फाइनलमा नहुँदा एपीएफको अग्रपंक्तिमा त्यसको प्रभाव पर्न सक्नेछ ।
यता नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा फराकिलो जितको शृंखला कायम राखेको छ । क्वार्टरफाइनलमा झापाको काँकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलले पराजित गर्दा रेखा पौडेलले दोहोरो ह्याट्रिक अर्थात् ६ गोल गरेकी थिइन् । सम्झना लावती र मीना देउवाले १–१ गोल गरेका थिए । दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा मीना देउवा र रेखा पौडेलले २–२ तथा बिर्षणा चौधरी र अनुष्का शेर्पाले १–१ गोल गरेका थिए ।
दुवै टोलीको प्रदर्शनमा अग्रपंक्तिका खेलाडीको भूमिका महत्त्वपूर्ण देखिएको छ । पुलिसका लागि रेखा पौडेल र मीना देउवाको गोल गर्ने लय फाइनलमा पनि निर्णायक हुन सक्ने देखिएको छ । एपीएफले भने पूर्णिमा राई, रश्मिकुमारी घिसिङ र गीता राणासहितका खेलाडीबाट गोलको अपेक्षा गर्नेछ । कप्तान अनिताको अनुपस्थितिमा टोलीको आक्रमण र नेतृत्व व्यवस्थापन एपीएफका लागि महत्त्वपूर्ण पक्ष हुनेछ । दुवै टोलीमा राष्ट्रियस्तरका अनुभवी खेलाडीको बाहुल्यता रहेकाले फाइनलमा रणनीति, खेलाडीको लय र अवसरको सदुपयोगले नतिजा निर्धारण गर्नेछ ।
प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टोली सहभागी थिए । एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, भारतको अक्वा एफसी, बागमती युथ क्लब, काँकडभिट्टा महिला फुटबल क्लब, गाईघाट फुटबल क्लब उदयपुर र आयोजक स्वर्णिम फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए । डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महिला फुटबलको व्यावसायिक विकास र धरानलाई महिला फुटबलको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि कसले जित्ने भन्ने निर्णय शनिबारको फाइनलले गर्नेछ ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।