बागमती प्रदेशले दसौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि पाँच करोड ६० लाख रुपैयाँ स्रोत सुनिश्चित गर्दै पदक विजेतालाई एक लाखसम्म पुरस्कार दिने तयारी गरेको छ।
हेटौंडा — बागमती प्रदेशले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने भएको छ । प्रदेशले एथलेटिक्स र उसुका खेलाडी छनोट गर्न बाँकी छ । अन्य ३० खेलका खेलाडी छनोट गरी ‘क्लोज क्याम्प’समेत सञ्चालन भइरहेको छ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले प्रतियोगितामा बागमतीबाट ६ सय ५८ खेलाडीसहित कुल ७ सय ८४ जनाको सहभागिता रहने जानकारी दिए । प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता तथा मेडिकल टोली गरी थप १ सय २६ जना सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल संघले खेलाडी छनोटको काम गरिसकेका छन् । आगामी कात्तिक १५ गतेभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दुई खेलबाहेक सबैका खेलाडी छनोट भइसकेको सदस्यसचिव लामाले बताए । कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिएको छ भने बाँकी खेलमा खुला छनोट गरिएको छ । खुला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो ।
यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि दसौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको थियो । उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिएको थियो । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई ‘क्लोज क्याम्प’मा राखेर विशेष प्रशिक्षण दिइरहेको परिषद्ले जनाएको छ । खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, फिजियोथेरापी, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइएको परिषद्को दाबी छ ।
दसौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि बागमती प्रदेशले पाँच करोड ६० लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । प्रदेश सरकारले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थासमेत अघि बढाएको छ । स्वर्ण पदक विजेतालाई एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।