प्रदेशस्तरीय छनोटबाट ६ सय खेलाडी चयन भएका छन् भने प्रशिक्षक, अफिसियल र कर्मचारीसहित टोलीमा ७२४ जना सहभागी हुनेछन्।
कैलाली — सुदूरपश्चिम प्रदेशले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३० विधामा प्रतिस्पर्धा गर्ने भएको छ । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि विभिन्न खेलका ६ सय खेलाडी छानिएका छन् ।
प्रदेश खेलकुद परिषद्ले सार्वजनिक गरेको खेलाडी छनोट सूचीमा भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल र खोखोलगायतका खेल समावेश छन् । छनोट भएका खेलमा महिला र पुरुष दुवै टोलीले प्रदेशको प्रतिनिधित्व गर्नेछन् । केही विधामा वैकल्पिक खेलाडीसमेत छनोट गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडीबाहेक प्रशिक्षक, अफिसियल र कर्मचारी पनि सहभागी हुनेछन्। प्रदेशको टोलीमा उनीहरूसहित कुल ७२४ जना रहने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले बताए । उनका अनुसार सहभागीमध्ये १२४ जना प्रशिक्षक, अफिसियल र कर्मचारी हुन् ।