प्रतियोगिताका विभिन्न काम सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियाबाट गर्नुपर्ने भएकाले स्थानीय व्यवसायीलाई मात्रै प्राथमिकता दिन नसकिने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्द्रले बताएका छन्।
सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा स्थानीय व्यवसायी र उत्पादनलाई जोड्ने कर्णाली प्रदेशको योजना छ। तर प्रतियोगिताका विभिन्न काम सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियाबाट गर्नुपर्ने भएकाले स्थानीय व्यवसायीलाई मात्रै प्राथमिकता दिन नसकिने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्द्रले बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिताको सह(आयोजक रहेकाले प्रदेशको भूमिका समन्वय र सहजीकरणमा सीमित हुने उनले बताए। टेन्डर प्रक्रियामा सबै व्यवसायीले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था भएकाले स्थानीय व्यवसायीले पनि आवश्यक क्षमता र योग्यता देखाएर प्रतिस्पर्धा गर्नुपर्ने भएपनि टेन्डरमा स्थानीय व्यापारीले चासो नदिएकोले प्रतियोगिको धेरै कामको जिम्मा बाहिर गएको बताए ।
‘टेन्डर खुलिसकेपछि सबैलाई समान रूपमा प्रतिस्पर्धा गर्ने अधिकार हुन्छ,’ उनले भने, ‘स्थानीय व्यवसायीले पनि आफूले गर्न सक्ने काममा प्रतिस्पर्धा गर्नुपर्छ।’ प्रतियोगिताका क्रममा होटल, खानपान र अन्य सेवा क्षेत्रमा स्थानीय व्यवसायी जोडिने अपेक्षा गरिएको छ।
त्यसबाहेक कर्णालीका स्थानीय तथा अर्गानिक उत्पादनको प्रदर्शनी र बिक्रीका लागि स्टल राख्ने योजना बनाइएको चन्दले बताए। स्थानीय उत्पादनको प्रवर्द्धनका लागि नगरपालिकाले स्टल उपलब्ध गराएर प्रदर्शनी र बिक्रीमा सहयोग गर्ने तयारी गरेको छ। ती स्टल निःशुल्क उपलब्ध गराउने वा शुल्क लिने भन्ने विषय भने टुंगिन बाँकी रहेको उनले बताए।
यसका लागि स्रोत परिचालन उपसमितिसँग छलफल गरेर निर्णय गरिने उनको भनाइ छ। ‘खेलकुदलाई व्यवसायमा रूपान्तरण गर्ने हाम्रो उद्देश्य होइन,’ उनले भने, ‘प्रतियोगितासँग स्थानीय व्यवसायी र उत्पादनलाई जोड्नुपर्छ भन्ने हो।’ प्रतियोगिता सञ्चालनका लागि सरकारले बजेट खर्च गर्ने भए पनि त्यसबाट स्थानीय व्यवसाय र उत्पादनले लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए।
होटल, खाना तथा अन्य आवश्यक सेवामा स्थानीय व्यवसायीको सहभागिता हुने भएकाले प्रतियोगिताले स्थानीय बजारमा आर्थिक गतिविधि बढाउन सक्ने अपेक्षा गरिएको उनको भनाइ छ।प्रतियोगिताको बजेट र खर्च व्यवस्थापन सरकारी योजनाअनुसार हुने भए पनि स्थानीय व्यवसायीको सहभागिता र उत्पादनको प्रवर्द्धनलाई थप व्यवस्थित गर्ने प्रयास भइरहेको चन्दले बताए।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।