४ मंसिर, काठमाडौं । झापा दमकस्थित भाटभटेनी सुपर स्टोर ५ मंसिर शनिबारदेखि पुन: सञ्चालनमा आउने भएको छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार दमक स्टोरबाट भोलिदेखि दैनिक नियमित सेवा पुन: सुरु हुनेछ ।
२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलन क्रममा भाटभटेनीको दमक स्टोरमा आगजनी गरिँदा पूर्णरूपमा क्षति भएको थियो । यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारी बेवास्ता नगरी भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको थियो ।
पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनर्निर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबिसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुन: सेवा उपलब्ध गराउन सफल भएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए ।
‘ग्राहकहरूको सुविधा मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् छ,’ गुरुङले भने ।