एकाबिहानै अर्जुन घिमिरेले आफ्ना शुभेच्छुकलाई एउटा खुसी खबर बाँढे, ‘चाडै आउँदैछ, सक्किगोनी ।’ अर्जुन घिमिरे, जसलाई तपाईं ‘पाँडे’ पात्रको रुपमा चिन्नुहुन्छ । उनै र कुमार कट्टेल ‘जिग्री’को संयुक्त खुराक हो यो । यसले समसामयिक विषयबस्तुलाई भरपूर हास्यरसमा प्रस्तुत गर्ने गर्छ ।
सक्किगोनीको बारेमा धेरै बखान गर्नुपर्दैन । टेलिभिजनको यो लोकप्रिय हास्य शृंखलाको तपाईं पक्कैपनि नियमित दर्शक हुनुन्छ । यसमा के हुन्छ ? कस्तो हुन्छ ? कसरी हुन्छ ? त्यसको इतिबृतान्त तपाईंलाई थाहै छ । किनभने यो दर्शकले औधि रुचाउको हास्य शृंखलामध्ये एक जो परे ।
यही शृंखला केही समययता हेर्न पाइएको थिएन । आज विहान भने अर्जुन घिमिरे ‘पाँडे’ले ‘सक्किगोनी’को चौथो शृंखला आउने पक्कापक्की गरे । तर, कहिलेबाट ? कुन प्लेटफर्ममा ? यसपाली कस्तो विषय उठान गरिन्छ ? यावत् कुरा खुलाइएको छैन ।
हामीले अर्जुन घिमिरेसँग यही प्रश्न राख्दा उनको जवाफ थियो, ‘हामी अन्तिम तयारीमा छौं । तर, कहाँबाट प्रशारण गर्ने र कहिलेबाट भन्ने कुरा आन्तरिक छलफल भइरहेको छ ।’ गाउँको सामान्य जीवनदेखि राजनीतिक चलखेल, सामाजिक विसंगति, बेरोजगारी, गरिबी, प्रेम र पारिवारिक झगडासम्मका विषयलाई कथामा समेट्ने यसको शैली छ।
सक्किगोनि केवल हँसाउने शृंखला मात्र होइन, समाजमा भइरहेका गलत अभ्यास, मानिसको स्वार्थ र विभेदमाथि व्यङ्ग्य गर्ने माध्यम पनि हो। स्थानीय भाषा, पात्रको स्वभाव र परिस्थितिजन्य हास्य यसको विशेषता हुन्। नेपाली परिवेश र आम मानिसले भोग्ने घटनालाई सहज ढंगले प्रस्तुत गर्ने भएकाले यो शृंखला दर्शकमाझ लोकप्रिय बनेको छ।