४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् ।
चाडपर्व मनाउन घर आएका नेपालीहरू पुन: कर्मथलो फर्किन थालेपछि सीमा नाकामा यात्रुको चाप ह्वात्तै बढेको हो ।
आफन्तसँग चाडपर्व मनाएर परदेश फर्किन लागेका उनीहरूको मनमा घर छाड्नुपर्दाको पीडासँगै देशको अवस्था सुध्रिने आशा पनि छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।
भारतको बैंगलोरमा गाडी चलाउने काम गर्दै आएका कैलाली मसुरियाका रमेश विष्ट दुई वर्षपछि घर फर्किएका थिए । एक महिना परिवारसँग बिताएर पुन: भारत जान लागेका उनले सीमानाकामा हुने सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् ।
‘बोर्डरको सास्ती हटोस् । आउन र जान सहज हुने व्यवस्था मिलाइदिए हुन्थ्यो,’ उनले भने, ‘हाम्रा प्रधानमन्त्रीज्यूको भारत भ्रमण राम्रो हुनेछ भन्ने विश्वास लागेको छ ।’
डडेल्धुरा आलिताल गाउँपालिका–५ का लालबहादुर गट्टी पनि रोजगारीकै सिलसिलामा भारतको बैंगलोर जाँदै थिए । पढेलेखेका भए पनि गाउँमा रोजगारी नपाएपछि ज्याला–मजदुरी गर्न भारत जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।
‘जाने बेला दु:ख लाग्छ । पढेलेखेको मान्छे हुँ, तर गाउँमा रोजगारी छैन । त्यसैले भारतमै मजदुरी गर्न जानुपरेको छ,’ उनले भने, ‘हामी कमाएर खाने मान्छेलाई आउँदा–जाँदा दु:ख नहोस् । गलत काम गर्नेलाई कारबाही होस् र सीमानाकामा सहज वातावरण बनोस् भन्ने अपेक्षा छ ।’
प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे आफू जानकार रहेको बताउँदै गट्टीले दुई देशबीच हुने सम्झौताले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्नुपर्ने बताए । ‘युवा प्रधानमन्त्री हुनुहुन्छ, अपेक्षा पनि छ र विश्वास पनि । नेपालीका लागि केही सम्झौता होस् र रोजगारीको अवसर नेपालमै मिलोस् भन्ने चाहना छ,’ उनले भने ।
भारतमै लामो समयदेखि बस्दै आएकी पुष्पा बोहरा पनि प्रधानमन्त्रीको भ्रमणलाई नेपाली नागरिकको हितसँग जोडेर हेर्छिन् । दुई देशका प्रधानमन्त्रीबीच हुने छलफल र सम्झौताले सर्वसाधारणको जीवन सहज बनाउनुपर्ने उनको माग छ ।
१५ वर्षदेखि भारत आउने–जाने गर्दै आएका कैलाली चौमालाका हरिप्रसाद आचार्यले दुई देशबीचको सम्बन्धलाई नागरिकको सुविधासँग जोड्नुपर्ने बताए ।
‘दुई देशका प्रधानमन्त्रीले आवतजावतलाई सहज बनाउने र विकासको बाटो खोल्ने गरी काम गरिदिए हुन्थ्यो,’ उनले भने, ‘युवाले रोजगारी खोज्दै विदेश जानुपर्ने अवस्था अन्त्य भएर आफ्नै देशमा काम गर्ने वातावरण बनोस् भन्ने चाहना छ ।’
सीमानाकामा वर्षौंदेखि भोग्न परेको झन्झट अन्त्य गर्न प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्नुपर्ने उनी बताउँछन् ।
गौरीफन्टा नाकामा भेटिएका सर्वसाधारणका अपेक्षा ठूला राजनीतिक एजेन्डाभन्दा पनि दैनिक जीवनसँग जोडिएका छन् । सीमा पार गर्दा हुने झन्झट कम होस्, दु:ख गरेर कमाएको पैसा र श्रमको सम्मान होस् र आफ्नै देशमा रोजगारीको अवसर सिर्जना होस् भन्ने चाहना उनीहरूको रहेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई उनीहरूले दुई देशबीचको कूटनीतिक भेटघाटका रूपमा मात्र हेरेका छैनन् । भारतमा पसिना बगाइरहेका लाखौँ नेपाली श्रमिकको हित, सहज सीमा आवागमन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा परोस् भन्ने अपेक्षा गरेको बताएका छन् ।
विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।