४ मंसिर, काठमाडौं । म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णुसमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।