देवप्रसाद पाण्डेको अध्ययनले ४६ पाठ्यपुस्तकमध्ये १६ मा सर्पदंशसम्बन्धी जानकारी र एउटामा मात्र सही विधि भेटाएको छ।
चितवन — सर्पले टोकेपछि के गर्ने ? यसबारे विद्यालय र विश्वविद्यालय तहका पाठ्यपुस्तकमा अझै पनि गलत विधि उल्लेख हुने गरेको विज्ञको अध्ययनले देखाएको छ । सर्पदंश (सर्पको टोकाइ)का बारेमा जर्मनीबाट विद्यावारिधि (पीएचडी) गरेका चितवनका देवप्रसाद पाण्डेले विद्यार्थीले पढ्ने किताबहरूको अध्ययन गरेर अन्तर्राष्ट्रिय जर्नलमा यसबारे लेख प्रकाशित गरिसकेका छन् ।
पाण्डेको अनुसन्धानमूलक लेख अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्स (पीएलओएस)को जर्नल नेग्लेक्टेड ट्रपिकल डिजिजमा गत वर्ष डिसेम्बर २ मा प्रकाशित भएको छ । ‘त्यसयता पनि गत वर्ष शैक्षिक सत्र आरम्भ भयो । अब केही महिनापछि फेरि नयाँ सत्र सुरु हुन्छ । तर पाठ्यपुस्तकका गलत जानकारी सुधार हुने संकेत मैले पाएको छैन,’ पाण्डेले भने ।
सर्पले टोकेमा टोकेको ठाउँभन्दा थोरै माथि कसेर बाँध्नुपर्छ (टर्निकेट) र त्यसलाई बेला–बेला खोल्नुपर्छ भन्ने निकै प्राणघातक गलत जानकारी अझै पनि पढाइ हुने गरेको पाण्डेले बताए । विश्व स्वास्थ्य संगठनले धेरै पहिलेदेखि सर्पले टोकेका बेला यो विधि नअपनाउन भन्दै आएको उनले सुनाए । उनले विभिन्न १६ वटा पाठ्यपुस्तकमध्ये ६ वटामा यो विधि समावेश भएको बताए ।
कक्षा ६ र ७ मा पढाइ हुने किताबमा यो जानकारी समावेश रहेको पाण्डेले बताए । स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र त्यसको अंग्रेजी संस्करणमा यस्तो जानकारी राखिएको उनले बताए । पाण्डेले विभिन्न ४६ वटा पाठ्यपुस्तक अध्ययन गरेका थिए । जसमध्ये १६ वटामा सर्पदंशको उपचार तथा प्राथमिक उपचारका बारेमा जानकारी थियो । १६ मध्ये एउटा पाठ्यपुस्तकमा मात्रै सही जानकारी थियो ।
‘कक्षा ६ र ७ अनि बीएड र प्यारामेडिकल स्टुडेन्ट अर्थात् सीएमए, फार्मेसी, नर्सिङका कोर्समा पनि गलत जानकारीहरू रहेको पाइयो । यो विषय गम्भीर छ,’ उनले भने ।
टर्निकेटले ठूला नसालाई अवरोध गर्ने र रक्तप्रवाह रोक्ने उनले बताए । तर सर्पले टोक्दा रक्तनलीमै विष पर्ने गरी टोक्ने सम्भावना कम हुने पाण्डेको भनाइ छ । प्रायः सर्पको विष छाला हुँदै तन्तुमा पुग्छ ।
‘सर्पले टोक्दा रगत बग्ने नलीमा नभएर छाला र तन्तुहरूमा परेको विष लिम्फ्याटिक सिस्टमले कलेजो हुँदै मुटुमा पुर्याउँछ । अनि विषाक्त रगत शरीरमा फैलन्छ । त्यसैले सर्पले टोकेमा बाँधेर यो प्रणालीलाई अवरुद्ध गर्न सकिँदैन,’ पाण्डेले भने । रक्तनलीमै विष पर्ने गरी टोकेको अवस्थामा पनि कसेर बाँध्ने काम गलत भएको उनले बताए । किनकि बाँधेको ठाउँ खोल्दा रक्तप्रवाह अत्यधिक तीव्र हुन्छ ।
‘बाँध्ने र बेला–बेला खोल्ने भनेर पाठ्यपुस्तकमा छ । खोलेको बेला तीव्र रक्तप्रवाह हुन्छ । रगत चाँडो मुटुमा पुगेर फैलन्छ,’ पाण्डेले भने । आफूसँग उपलब्ध डब्लूएचओको सन् १९९९ को गाइडलाइनमा यसलाई नअपनाउन भनिएको उनले बताए । त्यसभन्दा अघिदेखि नै यसरी बाँध्न नहुने भनेर रोक लगाउन सुरु भएको उनले सुनाए । तर पाठ्यक्रममा अझै गलत जानकारी दिनु चिन्ताजनक भएको उनको भनाइ छ ।
‘प्राथमिक उपचारको उद्देश्य भनेको मान्छेहरू समस्यामा पर्दा आउन सक्ने जटिलता रोक्दै मुख्य उपचार केन्द्रसम्म पुर्याउने हो । नयाँ जटिलता भए रोक्ने, नभए पनि यथास्थितिमा राख्ने भन्ने हो । तर यहाँ प्राथमिक उपचारको नाममा ज्यानै जोखिममा पार्ने जानकारीहरू छन्,’ पाण्डेले भने । सर्पले टोकेको घाउमा धारिलो वस्तुले थोरै चिर्ने, रगत तान्ने भनेर पनि पाठ्यपुस्तकमा उल्लेख भएको उनले बताए ।
यो विधिले पनि विष फैलन नरोक्ने बरु अन्य जोखिम थप्ने उनले बताए । यस्तो विधि कक्षा ७ को किताबमा रहेको पाण्डेले बताए । त्यसैगरी सर्पले टोकेमा तातो कफी र चिया खुवाउनुपर्छ भनेर बीएडको पाठ्यपुस्तकमा उल्लेख भएको उनले बताए । नेपालमा करेत र गोमन सर्पले धेरै टोक्ने र यी सर्पको विषले स्नायु प्रणालीमा असर पार्ने पाण्डे बताउँछन् । जसका कारण श्वास फेर्न वा निल्न गाह्रो हुन्छ ।
‘यस्तो बेला चिया–कफी खाँदा निल्न नसकेर सर्केर मान्छेको ज्यानै खतरामा पर्छ,’ उनले भने । आइस प्याकले सेक्ने जस्ता उपाय पनि पाठ्यपुस्तकमा रहेको र ती उपयुक्त नभएको पाण्डेले बताए । त्यसैगरी सम्भव भएमा टोकेको सर्पलाई मारेर बिरामीसँगै उपचार केन्द्रमा ल्याउनु भन्ने अत्यन्त गलत र नकारात्मक विधि पनि पाठ्यपुस्तकमा रहेको उनले पाएका छन् ।
सर्पले टोकेमा अस्पताल वा स्वास्थ्य केन्द्र लैजानुपर्छ भनेर १२ वटा किताबमा लेखिएको उनले बताए । यो अर्धसत्य भएको उनको भनाइ छ । ‘अस्पताल या स्वास्थ्य केन्द्र लैजाऊ मात्र भन्नु अपुरो जानकारी हो । सर्पले टोकेपछि ती व्यक्तिलाई छिटोभन्दा छिटो सर्पको टोकाइको उपचार सुविधा भएको अस्पतालमा पुर्याउनुपर्छ । त्यहाँ प्रतिविष (एन्टी स्नेक भेनम) होस् । दक्ष चिकित्सक पनि हुनु पर्दछ,’ पाण्डेले भने ।
सर्पले टोकेको थाहा भएमा त्यस्तो व्यक्तिलाई शान्त रहन दिनुपर्ने र डर तथा त्रासमा पार्न नहुने पाण्डे बताउँछन् । कतै अडेस लगाएर आराम गरे जसरी बसाउनुपर्ने उनले बताए । मांसपेशीमा दबाब नपर्ने गरी, हातले मालिस नगरी सफा पानीले घाउ धुनुपर्ने उनले बताए । टोकेको व्यक्तिको शरीर हलचल नगराउने, टोकेको अंग पनि चलाउन नहुने उनको भनाइ छ । शरीरमा कसिलो कपडा र गहना खोल्नुपर्ने उनले बताए ।
‘प्राथमिक उपचारको मुख्य र उपयुक्त विधि भनेको व्यक्तिलाई शान्त राख्ने हो । किताबमा पनि यो जानकारी छ । १६ मध्ये १३ वटामा यो कुरा छ । यो महत्त्वपूर्ण हो । तर पाठ्यपुस्तकमा भएका तीनवटा कुरा प्राणघातक नै भेटिए । यी सुधार गर्न आवश्यक देखिन्छ,’ पाण्डेले भने ।
अध्ययनकर्ताले अध्ययन, अनुसन्धान र नतिजा सार्वजनिक गर्ने तर परिवर्तनका लागि पैरवी गर्ने समय र स्वभाव नहुने उनको भनाइ छ । ‘तर यो निकै नै संवेदनशील विषय भएका कारण मैले अध्ययन गरेर नतिजा पनि दिएँ । अब यहीअनुसार अरूले पहल गरून् भन्ने पक्षमा मात्रै पनि म छैन । म कम्तीमा शिक्षामन्त्रीसमक्ष चाँडै यो कुरा पुर्याउँदै छु,’ पाण्डेले भने ।
सर्पले टोकेको व्यक्ति छिटोभन्दा छिटो सर्पको टोकाइको उपचार सुविधा भएको अस्पतालमा जानुपर्ने हुन्छ । तर विद्यालयमा दिइने जानकारी त्यस्तो नभएको उनको भनाइ छ ।
विद्यालय तहका पाठ्यपुस्तक प्रकाशनको स्वीकृति दिने पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेले पाठ्यपुस्तकमा समावेश भएका कुरा गलत छन् भन्ने उपयुक्त आधारसहित जानकारी आए आफूहरू सच्याउन तयार रहेको बताए । ‘छापिएका कुरा अन्य जानकारी नआउँदासम्म सही नै हो भन्ने मान्नुपर्यो । ती गलत हुन् भन्ने तथ्य आए सुधार हुन्छ,’ उनले भने ।
पाठ्यक्रम विकास केन्द्रमा यसबारे वैज्ञानिक जानकारी आए आफूहरूले पाठ्यपुस्तकमा तत्कालै सुधार गर्ने उनको भनाइ छ । ‘छापियो, त्यो नै सही हो भनेर बस्दैनौं । गलत हो भन्ने आएपछि सुधार गर्दै आएका छौं । छापिएको गलत परेछ भने पनि ल है, यो गलत रहेछ, त्यसरी नपढाउनु होला भनेर परिपत्र गर्ने र पछि सुधार पनि गर्छौं । जानकारीहरूलाई हामी स्वागत नै गर्छौं,’ निर्देशक घिमिरेले भने ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।