सासू–ससुरा र छोराबीचको सम्बन्ध बिग्रिनुमा बुहारीलाई दोषी देखाउने फिल्मी प्रवृत्ति अझै हट्न सकेको छैन । महिलाका आकांक्षा र स्वतन्त्र निर्णयलाई नकारात्मक रूपमा चित्रण गर्ने यस्तो कथ्यले पितृसत्तात्मक सोच र सामाजिक पूर्वाग्रहलाई मलजल गरिरहेको छ ।
काठमाडौँ — सुखी परिवारमा बुहारीको प्रवेशसँगै छोराको बाबुआमासँग दूरी बढ्छ, पारिवारिक सम्बन्ध बिग्रिन्छ र घरको शान्ति भंग हुन्छ। पछिल्लो समय नेपाली फिल्ममा यस्ता दृश्य दोहोरिन थालेका छन्, जहाँ पारिवारिक द्वन्द्वको कारण बुहारीलाई देखाउँदै उनलाई घर भाँड्ने पात्रका रूपमा चित्रण गरिन्छ।
गत कात्तिकमा प्रदर्शन भएको दीपक आचार्य निर्देशित फिल्म ‘परान’ यसको पछिल्लो उदाहरण हो। फिल्ममा बा (नीर शाह) कान्छो छोरा (महेश त्रिपाठी) आफूसँगै रहोस् भन्ने चाहन्छन्। छोरा पनि बाबुआमालाई छाडेर विदेश जान चाहँदैनन्। तर उनकी श्रीमती भने अमेरिकामा सुविधाजनक जीवन बिताउने सपना देख्छिन्। उनको निरन्तर दबाबपछि छोरा डीभी भर्न बाध्य हुन्छन्। अन्ततः छोराबुहारी अमेरिका पलायन भएपछि बाको जीवनको लय बदलिन्छ।
फिल्मले वृद्धावस्थामा बाबुआमा एक्लिनुको पीडा देखाउँछ। तर त्यो पीडाको कारण खोज्दा बुहारीको विदेश जाने आकांक्षालाई मुख्य दोषीका रूपमा प्रस्तुत गरिएको छ। परिवारको विखण्डनमा छोराको निर्णय, आर्थिक तथा सामाजिक परिस्थिति र पुस्ताबीचको फरक आकांक्षाभन्दा बुहारीको चाहनाले कथामा बढी महत्त्व पाउँछ।
यस्तै कथ्य गत भदौमा प्रदर्शन भएको हरि लम्साल निर्देशित ‘बा एक योद्धा’मा पनि देखिन्छ। फिल्मका रुद्रप्रसाद (दिव्यदेव पन्त) ले छोरीको बिहे हुँदा जग्गाको लालपुर्जा थमाउँछन्। छोरीलाई सम्पत्ति दिएको विषयमा छोरा र बुहारी चिढिन्छन्। बुहारीले छोरालाई बाबुआमाप्रति नकारात्मक बनाउने र विदेश जान दबाब दिने भूमिका निर्वाह गर्छिन्। छोराले बाबुसँग गर्ने कठोर व्यवहारका कारण पनि बुहारीकै प्रभावलाई देखाइएको छ।
पारिवारिक द्वन्द्वको केन्द्रमा बुहारीलाई राख्ने प्रवृत्ति यी दुई फिल्ममा मात्रै सीमित छैन।
असोज ३० गते रिलिज भएको हरि लम्साल निर्देशित ‘आ बाट आमा’मा पनि देवकी (विपना थापा) को सुखी परिवारमा छोराको विदेश पलायनसँगै समस्या सुरु हुन्छ। छोरा अस्ट्रेलिया जानुका पछाडि श्रीमतीको निरन्तर दबाब देखाइएको छ। पछि छोराबुहारीको सन्तान हुने भएपछि देवकी पनि अस्ट्रेलिया जान बाध्य हुन्छिन्। बुहारीको स्वार्थ र बेवास्ताका कारण परिवारमा सिर्जना हुने परिस्थितिले दर्शकमा उनीप्रति नकारात्मक धारणा पैदा गर्छ।
दसैंमा प्रदर्शन भएको दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’मा पनि मुरलीधर (दीपकराज गिरी) की श्रीमती (केकी अधिकारी) सुविधायुक्त जीवनका लागि विदेश जान चाहन्छिन्। तर उनका बाबु गाउँमै बसेर राजनीति गरेको हेर्न चाहन्छन्। श्रीमतीको चाहना र बाबुको अपेक्षाबीच मुरलीधर अल्झिएका छन्। यहाँ पनि परिवारभित्रको द्वन्द्व सिर्जना गर्ने पात्र श्रीमती नै हुन्।
गत भदौमा प्रदर्शन भएको ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ २’मा पनि पारिवारिक किचलो छ । दुई बुहारीबीचको स्वार्थ र द्वन्द्वले भाइभाइबीच सम्बन्ध बिगार्छ। अन्ततः आमाले घर छाड्नुपर्ने परिस्थिति सिर्जना हुन्छ।
गत माघमा प्रदर्शन भएको दिनेश राउत निर्देशित ‘महाभोज’मा पनि छोराको परिवारसँग सम्बन्ध चिसिनुको कारण बुहारीलाई नै बनाइएको छ। विश्व (खगेन्द्र लामिछाने) ले ससुराबासँग लिएको ऋण फिर्ता गर्न अञ्जना बराइलीको पात्रले दबाब दिन्छिन्। घरमा उनको रुखो व्यवहारले पनि सम्बन्धमा दूरी बढाउँछ।
यी फिल्ममा बुहारीका आकांक्षा, असहमति वा व्यवहारलाई पारिवारिक संकटको कारणका रूपमा प्रस्तुत गरिएको छ। तर घरभित्रको शक्ति सम्बन्ध, आर्थिक निर्णय, छोराको भूमिका र परिवारका सदस्यबीचको संवादको अभावलाई त्यति गहिराइमा खोतलिएको देखिँदैन। परिवारबाट अलग्गिने निर्णयमा छोराको भूमिका के छ, बुहारीका आफ्नै आकांक्षा के हुन् र परिवारका अन्य सदस्यले उनीमाथि कस्तो अपेक्षा राखेका छन् भन्ने प्रश्न कथामा गौण बन्न पुग्छन्।
बुहारीलाई घर भाँड्ने पात्रका रूपमा चित्रण गर्ने प्रवृत्तिको उल्टो उदाहरण पनि नेपाली फिल्ममा छन्। गत साउनमा प्रदर्शन भएको कपिल रिजा निर्देशित ‘गौँथली’मा भने घरको द्वन्द्वको कारण सासूलाई बनाइएको छ। घरमा उनकै रजगज चल्छ र बुहारी हिंसामा पर्छिन्। फिल्मभरि सासूलाई नकारात्मक पात्रका रूपमा चित्रण गरिएको छ। यसले पारिवारिक सम्बन्धमा महिला नै महिलाको शत्रु हुने भाष्यलाई अर्को कोणबाट प्रस्तुत गर्छ।
फिल्ममा महिला पात्रको चित्रण समाजमा विद्यमान पितृसत्तात्मक सोचकै प्रतिबिम्ब भएको महिला अधिकारकर्मी रीता साह बताउँछिन्। विगतमा टेलिभिजन सिरियलमा पनि घरभित्रै महिलालाई खलनायकका रूपमा प्रस्तुत गर्ने चलन थियो। अहिले पनि महिलालाई महिलाकै शत्रुका रूपमा देखाउने भाष्य कायम रहेको उनको बुझाइ छ।
‘हाम्रो समाजमा जसरी महिलालाई चित्रण गरिएको छ, फिल्म पनि त्यसैको प्रतिबिम्ब हो। पहिला सिरियलहरूमा पनि घरभित्रै महिलालाई भिलेनका रूपमा देखाइन्थ्यो। तर वास्तविकतामा त्यस्तो हुन्छ भन्ने होइन,’ उनी भन्छिन्। महिला पात्रलाई कसले लेखेको छ र निर्देशन गरेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुने साहको तर्क छ।
पटकथा लेखक सम्पदा मल्ल नेपाली फिल्ममा महिलालाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रवृत्ति हिन्दी टेलिभिजन सिरियलबाट प्रभावित रहेको बताउँछिन्। पात्रको चरित्र चित्रणमा लेखनलाई प्राथमिकता नदिँदा दर्शकले रुचाउने नाममा पुरानै ढर्रा दोहोरिने गरेको उनको भनाइ छ। ‘महिला मात्रै होइन, पुरुष वा कुनै पनि पात्रको चरित्र चित्रण गर्दा लेखनमा ध्यान दिनुपर्छ। तर हामीले लेखनलाई प्राथमिकता नै दिएका छैनौँ। मान्छेले यही रुचाउँछन् भन्ने हिसाबले महिलालाई त्यस्तै देखाइरहेका छौं,’ उनी भन्छिन्।
पात्रलाई गहिराइ दिने र उनीहरूका निर्णय पछाडिका कारण खोतल्ने हो भने महिला वा पुरुषलाई एकांगी रूपमा प्रस्तुत गर्नुपर्ने बाध्यता नरहने मल्लको तर्क छ।
अविनाशविक्रम शाह निर्देशित ‘इलिफेन्ट्स इन द फग’को उदाहरण दिँदै उनी पात्रका ‘ग्रे’ पक्षलाई बलियो ढंगले प्रस्तुत गर्नुपर्ने बताउँछिन्। ‘पहिले हिरो भनेपछि एकदमै राम्रो र भिलेन भनेपछि एकदमै नराम्रो भन्ने ट्रेन्ड थियो। अब पात्रका ग्रे साइड पनि देखायो भने यस्तो समस्या आउँदैन,’ उनी भन्छिन्।
अभिनेत्री ऋचा शर्मा पनि नेपाली फिल्म लेख्ने र निर्माण गर्ने अधिकांश पुरुष भएकाले कथाहरू पुरुष दृष्टिकोणबाट आउने बताउँछिन्। समाजमा पुरुषलाई नायक र असल मान्छेका रूपमा स्थापित गर्ने मानसिकताले महिलालाई खलनायक बनाउँदा कथा अगाडि बढाउन सहज ठान्ने प्रवृत्ति रहेको उनको भनाइ छ।
‘हाम्रो समाजमा हिरो वा राम्रो मान्छे भनेको पुरुष नै हो भन्ने धारणा छ। त्यही कारण महिलालाई भिलेन बनाइदियो भने कथा अगाडि बढाउन सजिलो हुन्छ भन्ने लाग्छ,’ उनी भन्छिन्।
समाजले असल महिलाका रूपमा असल श्रीमती, आमा, त्याग गर्न सक्ने र क्षमाशील पात्रलाई स्वीकार गर्छ। तर स्वतन्त्र, महत्त्वाकांक्षी र आत्मविश्वासी महिलालाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति अझै कायम रहेको शर्मा बताउँछिन्। दक्षिण एसियाली सिनेमामा महिलालाई आदर्शका रूपमा प्रस्तुत गर्ने वा खलनायक बनाउने प्रवृत्ति दुवै रहेको उनको भनाइ छ। ‘जब महिलाको ठाउँ घरभित्र मात्रै हो, दुई जना काम गर्दा पनि घर सम्हाल्ने जिम्मेवारी महिलाकै हो भन्ने मानसिकताबाट हामी बाहिर निस्किँदैनौँ, तबसम्म सिनेमामा परिवर्तन आउँदैन,’ उनी भन्छिन्।
फिल्म अध्ययनमा यस्तो दृष्टिकोणलाई ‘मेल गेज’ भनिन्छ। सन् १९७५ मा बेलायती फिल्म समालोचक लौरा मल्भीले प्रतिपादन गरेको यो सिद्धान्तले परम्परागत फिल्ममा महिलालाई कथाको सक्रिय पात्रभन्दा पुरुषको दृष्टिबाट हेरिने वस्तुका रूपमा प्रस्तुत गरिने प्रवृत्तिलाई व्याख्या गर्छ। पुरुष दृष्टिकोणबाट कथा भनिँदा महिलाका इच्छा, निर्णय र संघर्षलाई गौण बनाइने सम्भावना रहन्छ।
अभिनेत्री रेखा थापाले आफूले निर्माण गरेका फिल्ममा महिलालाई शक्तिको केन्द्रमा राख्दै परम्परागत भूमिकालाई चुनौती दिएकी छन्। हिरोइनलाई बचाउन पुरुषले मात्रै लड्ने प्रचलन उल्ट्याउँदै उनले हिरो बचाउन हिरोइनले लड्ने कथा पनि बनाइन्। पुरुष दृष्टिकोणबाट बन्ने फिल्ममा पुरुषको पीडा प्राथमिकतामा पर्ने र महिलाका मुद्दा ओझेलमा पर्ने गरेको उनको बुझाइ छ।
‘मेरो फिल्ममा जहिले पनि महिला नै शक्तिको केन्द्रमा हुन्छिन्, महिला नै नायक हुन्छिन्, महिलालाई नजरअन्दाज गर्न मिल्दैन र महिलाले शारीरिक तथा मानसिक रूपमा पनि क्षमता बोकेकी हुन्छिन्,’ उनी भन्छिन्। पुरुष फिल्मकर्मीले पनि आफूले देखेको र भोगेको संसारलाई फिल्ममा उतार्ने भएकाले उनीहरूको दृष्टिकोण कथामा प्रतिबिम्बित हुने रेखाको तर्क छ।
जसरी पुरुषहरूले आफ्नो जीवन निर्माणका लागि काम गर्छन्, त्यसरी नै महिलाहरूले पनि आफ्नै कलम समातेर आफ्नो जीवनको निर्देशक र निर्माता बनेमा बलिया दृष्टिकोणहरू जन्मिने कुरामा उनको जोड छ। महिलाका कथा महिलाले नै भन्नुपर्छ भन्ने उनको तर्कले फिल्म निर्माणमा विविध दृष्टिकोणको आवश्यकतालाई औंल्याउँछ।
फिल्ममा महिलाको चित्रण समाजको बदलिँदो संरचनासँग पनि जोडिएको छ। समाजशास्त्री मेनुका केसीका अनुसार विवाहपछि छोराछोरी छुट्टै बस्ने चलन बढ्दै गए पनि परिवार अलग्गिने निर्णयमा पुरुषको भूमिका वा बदलिँदो आर्थिक र सामाजिक परिस्थितिको विश्लेषण नगरी त्यसको दोष बुहारीमाथि थोपर्ने गरिएको छ।
‘पहिले घरमा पुरुषहरू खासै घरायसी काममा सामेल हुँदैन थिए। महिलाहरू नै घरका काममा आबद्ध हुने हुँदा सासू-बुहारीबीच द्वन्द्व सिर्जना हुन्थ्यो। अहिले प्रायः छोराबुहारी बा आमाबाट अलग्गिएर बस्ने चलन छ। छुट्टै बस्दा पनि घर बिग्रियो भने त्यसको दोष महिलालाई नै दिने गरिन्छ,’ उनी भन्छिन्।
समाजमा देखिएका पारिवारिक समस्या र द्वन्द्वलाई फिल्मकर्मीले सतही रूपमा प्रस्तुत गर्दा समस्या हुने उनको बुझाइ छ। परिवारभित्रको द्वन्द्व, पुस्ताबीचको दूरी र बदलिँदो जीवनशैली नेपाली समाजका वास्तविक मुद्दा हुन्। तर यी विषयलाई एउटै पात्रको स्वार्थ वा व्यवहारमा सीमित गर्दा फिल्मले समस्याको जटिलता बुझाउनुको सट्टा स्थापित सामाजिक पूर्वाग्रहलाई दोहोर्याउन सक्छ।
नेपाली फिल्ममा महिलालाई केन्द्रमा राखेर कथा भन्ने प्रयास भने हुँदै आएको छ। विनोद पौडेल निर्देशित ‘बुलबुल’, दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ र उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ शृंखलाले महिलाको जीवन, संघर्ष र निर्णयलाई महत्त्व दिएका छन्। यसै वर्ष रिलिज भएको त्रिवेणी राई निर्देशित नेपालीभाषी फिल्म ‘सेप अफ म:म:’ले पनि महिलालाई कमजोर ठान्ने सामाजिक मनोविज्ञानविरुद्ध छोरी पात्रको प्रतिरोध प्रस्तुत गरेको छ।
तर महिला पात्रलाई केन्द्रमा राख्नु मात्रै पर्याप्त हुँदैन। उनीहरूका निर्णय, आकांक्षा, कमजोरी र विरोधाभासलाई पनि उत्तिकै गहिराइमा प्रस्तुत गर्न आवश्यक छ। पटकथा लेखक सम्पदा मल्ल पात्रको चरित्र चित्रणमा यही गहिराइको अभाव रहेको बताउँछिन्।
‘पहिले हिरो भनेपछि एकदमै राम्रो र भिलेन भनेपछि एकदमै नराम्रो भन्ने ट्रेन्ड थियो। अब पात्रका ग्रे साइड पनि देखायो भने यस्तो समस्या आउँदैन,’ उनी भन्छिन्।
नेपाली फिल्ममा महिला पात्रलाई सकारात्मक वा नकारात्मक देखाउनु आफैंमा समस्या होइन । समस्या उनीहरूका निर्णय र व्यवहारलाई पुरुष पात्रको तुलनामा फरक मापदण्डले मूल्यांकन गर्नु र पारिवारिक द्वन्द्वको दोष उनीहरूमाथि मात्रै थोपर्नु हो । परिवारभित्रको सम्बन्ध, शक्ति संरचना र बदलिँदो सामाजिक परिस्थितिलाई समग्रतामा नखोतली बुहारीलाई घर भाँड्ने पात्रका रूपमा प्रस्तुत गरिरहँदा फिल्मले समाजको यथार्थ देखाउनेभन्दा पुरानै पूर्वाग्रहलाई बलियो बनाउने जोखिम भने रहन्छ ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।
आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।