भारतबाट खरिद गरिएको ३० हजार टन युरिया र २० हजार टन डीएपीमध्ये वीरगन्ज कार्यालयले ७ हजार ९५४ टन युरिया र ५ हजार ८०७ टन डीएपी प्राप्त गरेको छ।
पर्सा — हिउँदे बालीका लागि भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरिएको रासायनिक मल आयात भइसकेको छ। गत भदौ ३० देखि वीरगन्ज नाकाबाट भित्रिन थालेको मलको आयात प्रक्रिया पूरा भएको हो।
भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ७ हजार ९ सय ५४ टन र २० हजार टन डीएपीमध्ये ५ हजार ८ सय ७ टन मल वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले प्राप्त गरेको छ। यसअनुसार कुल खरिदको करिब ३८ प्रतिशत मल वीरगन्ज कार्यालयको भागमा परेको छ।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको सबै मल आयात भएको बताए । वीरगन्ज कार्यालयको भागमा पर्नेबाहेक बाँकी विराटनगर र भैरहवा प्रादेशिक कार्यालयलाई उपलब्ध गराइएको उनले बताए।
भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाकाबाटै आयात गरिएको थियो। वीरगन्जमा भित्रिएको उक्त मल यहाँबाट ढुवानी गरी भैरहवा पठाइएको हो भने विराटनगर कार्यालयका लागि छुट्याइएको मल विराटनगर नाकाबाटै भित्रिएको उनले बताए।
आयात भएको मल आगामी हिउँदे बालीका लागि वितरण गरिनेछ। विशेषगरी गहुँ तथा तेलहन बाली लगाउने समयमा युरिया र डीएपी मलको माग बढ्ने भएकाले सोहीअनुसार वितरणको तयारी भइरहेको शर्माले बताए।
हिउँदे खेतीको मुख्य समयमा मलको अभाव हुन नदिन आयात भएको मल समयमै किसानसम्म पुर्याउने गरी कम्पनीले वितरणको गृहकार्य गरिरहेको उनले बताए।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।