३ मंसिर, काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो।
एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लर्ड्समा खेल्नेछ। उक्त खेल सोही दिन लर्ड्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना हुनेछ। यो लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकै दिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ।
बंगलादेशले लर्ड्समा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले लर्ड्समा खेलेको थियो। नेपालले भने लर्ड्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो। नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग त्यहाँ खेलेको थियो।
भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि खेल्नेछ। ती खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त हुनेछन्।
नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल हुनेछ। जुन ६ मा वर्म्स्लीमै आयरल्यान्डसँग ५० ओभरको खेल हुनेछ।
त्यसपछि जुन ९ मा वर्म्स्लीमा आयरल्यान्डसँग टी–२० खेल्ने नेपालले जुन ११ र १२ मा बेकनहममा पनि आयरल्यान्डसँग दुई टी–२० खेल खेल्नेछ।
लर्ड्समा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली र बंगलादेशी दर्शकलाई लक्षित गरी टेलिभिजन प्रसारणको समयअनुसार तय गरिएको एमसीसीले जनाएको छ। जुन ३ मा हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु तालिका सार्वजनिक भएपछि तय हुनेछ।