Trending
Prev Story
Next Story

भान गगको पेन्टिङ बिक्यो १९ करोड डलरमा

Ekantipur •
November 19, 2026 • 05:32 AM
2
2 reads 0 reactions

सन् १८९० मा भान गगले बनाएको उक्त पेन्टिङलाई करिब २८ अर्ब ४५ करोड रुपैयाँमा बोलकबोल गरिएको हो । जून भान गगका पेन्टिङहरूमध्ये हालसम्मकै सर्वाधिक महंगो हो ।

भान गगको पेन्टिङ बिक्यो १९ करोड डलरमा

सन् १८९० मा भान गगले बनाएको उक्त पेन्टिङलाई करिब २८ अर्ब ४५ करोड रुपैयाँमा बोलकबोल गरिएको हो । जून भान गगका पेन्टिङहरूमध्ये हालसम्मकै सर्वाधिक महंगो हो ।

न्यूयोर्क — महान् चित्रकार भिनसेन्ट भान गगको ‘ब्लोजमिङ चेसनट ट्रिज’ शीर्षकको पेन्टिङ लिलामी हुनुभन्दा केही दिन अघिसम्म कला जगत्मा तीव्र विवादको घेरामा तानिएको थियो । तर, बुधबार राति ती सबै विवादलाई किनार लगाउँदै न्यूयोर्कको ‘साउथबाइज’ लिलाम घरमा उक्त पेन्टिङ ऐतिहासिक मूल्यमा बिक्री भएको हो ।

सन् १८९० मा भान गगले बनाएको उक्त पेन्टिङलाई १९ करोड ४ लाख अमेरिकी डलर (करिब २८ अर्ब ४५ करोड रुपैयाँ) मा बोलकबोल गरिएको हो । जून मूल्य भान गगका पेन्टिङहरूमध्ये हालसम्मकै सर्वाधिक महंगो हो । यस पेन्टिङले सन् २०२२ मा ‘क्रिस्टिज’ लिलामी घरमा माइक्रोसफ्टका सह–संस्थापक पोल एलेनको संग्रहमा रहेको एक ल्यान्डस्केप पेन्टिङले बनाएको ११ करोड ७२ लाख डलरको भान गगको पेन्टिङ लिलामीको कीर्तिमानलाई उछिनेको हो ।

मुद्रास्फीति समायोजन गर्दा लिलामीमार्फत बिक्री भएका संसारकै सबैभन्दा महंगा पेन्टिङहरूमध्ये यो छैटौं महंगो हो । कला संग्रहकर्ता एवं ‘अक्वाभेला ग्यालरीज’ का प्रमुख विलियम अक्वाभेलाले बोलकबोलमार्फत यो पेन्टिङ खरिद गरेका हुन् ।

उक्त पेन्टिङको लिलामी त्यति सहज भने भएन । गत साता मात्र नाजी युगका एक जर्मन–यहुदी प्रकाशक स्यामुएल फिसरका हकदारहरूले यस पेन्टिङमा आफ्नो कानुनी अधिकार रहेको दाबी पेश गरेका थिए । सन् १९३० को दशकमा नाजी अत्याचारका कारण बाध्य भएर आफ्ना पुर्खाले यो पेन्टिङ सस्तोमा बेच्नु परेको उनीहरूको दावा थियो ।

सोमबार लिलामी गृह र पेन्टिङका तत्कालीन मालिक अर्जेन्टिनाका धनाढ्य ब्लाक्वियर–आरिएटा परिवार बीच भएको झन्डै ११ घन्टा लामो गहन वार्तापछि दुवै पक्ष गोप्य सहमतिमा पुगेका थिए । उक्त सहमतिपछि मात्र भान गनको यस पेन्टिङलाई लिलामीमा राख्न बाटो खुलेको थियो ।

बुधबार भएको उक्त लिलामीमा ब्लाक्वियर–आरिएटा परिवारका अन्य १२ वटा दुर्लभ पेन्टिङहरू पनि बोलकबोलका लागि राखिएका थिए । जसबाट कुल ४१ करोड २० लाख डलर संकलन भएको थियो । तथापि, लिलामी घर ‘साउथबाइज’ ले अनुमान गरेको ४५ करोड डलरको न्यूनतम सीमा भने कट्न सकेन ।

यद्यपि, कला बजारमा ठूला लगानीकर्ताहरू जोखिम मोल्न अझै डराइरहेको विश्लेषण गरिएपनि उक्त समारोहमा पल सेजानको प्रख्यात पेन्टिङ ‘आर्लेक्विन’ पनि ११ करोड १० लाख डलरमा लिलामीमा बिक्री भएको थियो ।

‘साउथबाइज’ का वरिष्ठ सल्लाहकार साइमन सा भन्छन्, ‘हामीले यो संग्रहको लिलामीका लागि २० वर्षदेखि सपना देखिरहेका थियौं ।’ अन्तिम समयमा भएको सहमतिले लिलामी गृहलाई सम्भावित कानुनी संकट र ठूलो वित्तीय नोक्सानीबाट जोगाएको छ ।

भान गगले यो पेन्टिङ आफ्नो मानसिक स्वास्थ्य उपचार केन्द्रमा करिब एक वर्ष बिताएपछि फ्रान्सको ग्रामीण बस्ती ‘ओभर्स–सुर–ओइज’ पुगेको केवल चार दिनमा बनाएका थिए । यो उनको मृत्यु हुनुभन्दा केही साताअघिको सिर्जना पनि हो ।

प्रकृतिप्रतिको आशा र पुनर्जागरण झल्काउने यो पेन्टिङ कला इतिहास र भान गगको जीवनयात्रा दुवै हिसाबले अत्यन्त विशेष मानिन्छ । लामो मानसिक पीडा र संस्थागत बसाइपछि बाहिरी प्रकृति र खुला आकाशमा फर्कंदा भान गगले महसुस गरेको शान्ति, ताजापन र सिर्जनात्मक ऊर्जालाई यस पेन्टिङले प्रतिनिधित्व गर्छ । ओभर्समा पुगेको छोटो समयमै उनले अत्यन्त तीव्र गतिमा थुप्रै पेन्टिङ कोरेका थिए, जसको सुरुवाती चरणको साक्षी यो पेन्टिङ हो ।

पेन्टिङको मुख्य केन्द्रमा साँझको मधुरो उज्यालोमा फुलेका ठूला चेसनट (कटुस) का रूखहरू देखाइएको छ । वसन्त वा ग्रीष्मको सुरुवातमा फुलेका सेता/हल्का रङका फूलहरूले रूखलाई ढकमक्क ढाकेको दृश्य पेन्टिङमा देख्न सकिन्छ ।

गाउँले परिवेशको एक शान्त गल्ली वा सडकमा घामको बाछिटा परेको प्राकृतिक सौन्दर्यलाई भान गगले जीवन्त रूपमा उतारेका छन् । साँझ ढल्दै गर्दाको उज्यालो र छायाको कोलाजमा पेन्टिङलाई उज्यालो र आध्यात्मिक आभा दिएको अर्थ्याइन्छ ।

दुर्लभ निजी संग्रहको ‘क्राउन ज्वेल’

यो पेन्टिङ अर्जेन्टिनाका ब्लाक्वियर–आरिएटा परिवारको इम्प्रेसनिस्ट र आधुनिक कला संग्रहको सबैभन्दा मूल्यवान र प्रमुख कृति ‘क्राउन ज्वेल’ थियो । नेली आरिएटा दे ब्लाक्वियर र कार्लोस पेड्रो ब्लाक्वियरले जोडेको यो दुर्लभ संग्रह लामो समयसम्म निजी स्वामित्वमै रहेको थियो ।

(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।)

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612