Trending
Prev Story
Next Story

आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’

Onlinekhabar •
November 19, 2026 • 05:01 AM
2
2 reads 0 reactions 4 comments

आँखा रातो भएको छ, निरन्तर आँसु बगिरहेको छ, पोल्ने र चिलाउने समस्या पनि छ । आँखामा केही परेको जस्तो असहज महसुस भइरहेको छ । धेरैले यस्तो अवस्थालाई सामान्य आँखाको संक्रमण ठानेर बेवास्ता गर्न सक्छन् । तर …

आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’

आँखा रातो भएको छ, निरन्तर आँसु बगिरहेको छ, पोल्ने र चिलाउने समस्या पनि छ । आँखामा केही परेको जस्तो असहज महसुस भइरहेको छ । धेरैले यस्तो अवस्थालाई सामान्य आँखाको संक्रमण ठानेर बेवास्ता गर्न सक्छन् ।

तर यही सामान्य जस्तो देखिने समस्या अत्यन्तै संक्रामक भाइरल संक्रमणको संकेत पनि हुन सक्छ ।

यो संक्रमण एउटा व्यक्तिमा मात्र सीमित रहँदैन । संक्रमित व्यक्तिको सम्पर्कबाट परिवारका सदस्य, विद्यालयका विद्यार्थी, कार्यालयका सहकर्मी हुँदै स्वास्थ्य संस्थासम्म फैलिन सक्छ । अझ चिन्ताको कुरा, यसले आँखाको बाहिरी झिल्लीमा मात्र नभई दृष्टिका लागि महत्त्वपूर्ण कर्नियामा समेत असर पुर्‍याउन सक्छ । जसका कारण दृष्टि धमिलो हुने र उज्यालो प्रकाश हेर्न गाह्रो हुने समस्या देखिन सक्छ ।

यस्तो समस्यालाई इपिडेमिक केराटोकन्जङ्क्टिभाइटिस भनिन्छ ।

के हो इपिडेमिक केराटोकन्जङ्क्टिभाइटिस ?

इपिडेमिक केराटोकन्जङ्क्टिभाइटिस आँखाको कन्जङ्क्टिभा तथा कर्नियामा हुने संक्रामक भाइरल संक्रमण हो । यसलाई छोट्करीमा ‘इकेसी ?’ पनि भन्ने गरिन्छ । यस्तो हुँदा हामीले अत्यन्तै संक्रामक भाइरल आँखा संक्रमण भनेर पनि बुझ्छौं ।

यो मुख्यतः एडिनोभाइरसका केही प्रकारबाट हुन्छ । कन्जङ्क्टिभाइटिस अर्थात् आँखाको बाहिरी झिल्लीमा सुन्निने विभिन्न कारणमध्ये भाइरस प्रमुख हो । सबै उमेर समूहका व्यक्तिमा भाइरल कन्जङ्क्टिभाइटिस देखिन सक्छ । विभिन्न प्रकारका भाइरसले यस्तो संक्रमण गराउन सक्छन् । तीमध्ये सबैभन्दा बढी एडिनोभाइरसको कारणले हुन्छ ।

त्यस्तै, हर्पिस सिम्प्लेक्स भाइरसले आँखामा गम्भीर समस्या, विशेषगरी कर्नियाको संक्रमणको कारण बन्न सक्छ । यसका भेरिसेला जोस्टर भाइरस इन्टेरोभाइरस ७० र कोक्साकी ए२४ जस्ता पिकोर्नाभाइरसले पनि भाइरल कन्जङ्क्टिभाइटिस गराउन सक्छन् ।

दुर्लभ अवस्थामा मोलस्कम कन्टाजियोसम तथा भ्याक्सिनिया जस्ता पोक्सभाइरससँग सम्बन्धित आँखाको संक्रमण पनि देखिन सक्छ । दादुरा, रुबेला, एपस्टिन–बार भाइरस तथा अन्य प्रणालीगत भाइरल संक्रमणका क्रममा पनि आँखामा सूजन देखिन सक्छ ।

यद्यपि सबै भाइरल कन्जङ्क्टिभाइटिसको प्रकृति र जटिलता समान हुँदैन । एडिनोभाइरसका केही विशिष्ट प्रकारले गराउने इकेसी विशेष रूपमा संक्रामक हुन्छ र यसले कन्जङ्क्टिभासँगै कर्नियालाई समेत प्रभावित गर्न सक्छ ।

विशेषगरी एडिनोभाइरसका ८, १९, ३७, ५३ र ५४ जस्ता प्रकारसँग सम्बन्धित छन् । यसलाई ‘इपिडेमिक’ भनिनुको कारण यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो फैलिन सक्छ र एकै समयमा समुदायका धेरै व्यक्तिलाई प्रभावित बनाउन सक्छ । परिवार, विद्यालय, कार्यालय तथा विशेषगरी आँखा अस्पताल र क्लिनिकमा यसको संक्रमण फैलिने जोखिम रहन्छ ।

इकेसी मुख्यतः संक्रमित व्यक्तिको आँखाबाट निस्कने आँसु वा स्रावको सम्पर्कबाट फैलिन्छ । संक्रमित व्यक्तिले आँखा छोएपछि हात नधोई ढोकाको ह्यान्डल, मोबाइल, टेबल, तौलिया वा अन्य वस्तु छोएमा ती वस्तुबाट अर्को व्यक्तिमा संक्रमण सर्न सक्छ ।

संक्रमित वस्तु वा सतह छोएपछि आफ्नै आँखा छुँदा पनि भाइरस आँखामा प्रवेश गर्न सक्छ । विशेषगरी आँखाको जाँचमा प्रयोग हुने स्लिट ल्याम्प, टोनोमिटर तथा अन्य उपकरण उचित रूपमा सफा र संक्रमणमुक्त नगरी अर्को बिरामीमा प्रयोग गर्दा स्वास्थ्य संस्थाभित्र संक्रमण फैलिन सक्छ ।

एडिनोभाइरस धेरै सामान्य डिसइन्फेक्टेन्टप्रति प्रतिरोधी हुन सक्छ र सतह तथा चिकित्सकीय उपकरणमा केही समयसम्म संक्रामक अवस्थामा रहन सक्छ । त्यसैले सामान्य सफाइ मात्र पर्याप्त नहुन सक्छ । संक्रमण नियन्त्रणका लागि एडिनोभाइरसविरुद्ध प्रभावकारी तथा उपकरणसँग मिल्दो प्रमाणित डिसइन्फेक्टेन्ट प्रयोग गर्नु आवश्यक हुन्छ ।

संक्रमण भएको व्यक्तिमा लक्षण देखिनुअघि पनि भाइरस सर्ने सम्भावना हुन्छ । सामान्यतया लक्षण सुरु हुनुभन्दा केही दिनअघि देखि लक्षण सुरु भएको करिब १४ दिनसम्म संक्रमण फैलिन सक्छ । तर व्यक्तिको अवस्था र संक्रमणको गम्भीरताअनुसार यो अवधि फरक हुन सक्छ ।

सामान्यतया संक्रमण एउटा आँखाबाट सुरु हुन सक्छ र केही दिनभित्र अर्को आँखामा पनि फैलिन सक्छ । दुवै आँखामा लक्षण देखिए पनि एउटाको तुलनामा अर्को आँखामा संक्रमण कम वा बढी गम्भीर हुन सक्छ ।

भाइरल कन्जङ्क्टिभाइटिसमा प्रायः आँखाको कन्जङ्क्टिभामा फोलिकल्स भनिने साना दानाजस्ता परिवर्तन देखिन्छन् । साथै, कानको अगाडिको भागमा रहेको लिम्फ नोड सुन्निनु पनि भाइरल संक्रमणको महत्त्वपूर्ण लक्षण हो ।

इकेसी हुँदा आँखाको सेतो भाग रातो हुने, आँखाबाट निरन्तर पानी बग्ने, पोल्ने, चिलाउने वा दुख्ने समस्या देखिन सक्छ । आँखामा बालुवा वा कुनै वस्तु परेको जस्तो महसुस हुनु, परेला तथा आँखाको वरिपरि सुन्निनु पनि यसका सामान्य लक्षण हुन् ।

त्यस्तै, उज्यालो प्रकाश हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने तथा कानको अगाडिको भागमा रहेको लिम्फ नोड सुन्निने समस्या देखिन सक्छ । केही बिरामीमा ज्वरो आउने, टाउको दुख्ने तथा शरीर थकित हुने समस्या पनि हुन सक्छ ।

यी लक्षण अन्य प्रकारका आँखाका संक्रमणमा पनि देखिन सक्ने भएकाले आँखाको रातोपनका आधारमा मात्र इकेसी भएको निष्कर्ष निकाल्नु हुँदैन । सही पहिचानका लागि आँखा विशेषज्ञबाट जाँच गराउनु आवश्यक हुन्छ ।

भाइरल कन्जङ्क्टिभाइटिस कति समयसम्म रहन्छ ?

धेरैजसो भाइरल कन्जङ्क्टिभाइटिस सामान्यतया आफैँ निको हुने प्रकृतिको हुन्छ । तर ब्याक्टेरियाका कारण हुने तीव्र कन्जङ्क्टिभाइटिसको तुलनामा भाइरल संक्रमणको अवधि लामो हुन सक्छ ।

सामान्य भाइरल कन्जङ्क्टिभाइटिस करिब दुईदेखि चार हप्तासम्म रहन सक्छ । तर रोगको कारण र गम्भीरताअनुसार यसको अवधि फरक हुन सक्छ । विशेषगरी इकेसीमा आँखाको रातोपन, आँसु बग्ने र जलनजस्ता लक्षण करिब दुईदेखि तीन हप्तासम्म रहन सक्छन् ।

कर्निया प्रभावित भएको अवस्थामा भने निको हुन अझ बढी समय लाग्न सक्छ । विशेषगरी कर्नियामा सबइपिथेलियल इन्फिल्ट्रेट्स देखा परेमा दृष्टि धमिलो हुने तथा प्रकाशप्रति संवेदनशीलता बढ्ने समस्या धेरै हप्तादेखि महिनौँसम्म रहन सक्छ । त्यसैले, लक्षण कम हुँदैमा रोग पूर्ण रूपमा निको भएको निष्कर्ष निकाल्नु हुँदैन ।

इकेसीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसले कर्नियालाई समेत प्रभावित गर्न सक्नु हो । संक्रमणका कारण कन्जङ्क्टिभा सुन्निने हुँदा केही बिरामीमा आँखाको भित्री सतहमा सेतो झिल्लीजस्तो तह बन्न सक्छ । यसलाई स्युडोमेम्ब्रेन भनिन्छ ।

त्यस्तै, कर्नियाको बाहिरी तहमा साना–साना संक्रमणसम्बन्धी परिवर्तन वा घाउ देखिन सक्छन् । संक्रमण सुरु भएको केही दिनदेखि करिब एक–दुई हप्तापछि कर्नियाको सतहमुनि सेता धब्बाजस्ता परिवर्तन देखा पर्न सक्छन्, जसलाई सबइपिथेलियल इन्फिल्ट्रेट्स भनिन्छ ।

यी धब्बा शरीरको प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध प्रतिक्रिया दिँदा सुन्निने समस्यासँग सम्बन्धित हुन्छन् । यिनले दृष्टि धमिलो बनाउने, उज्यालो प्रकाश सहन नसक्ने तथा आँखामा असहजता हुने समस्या निम्त्याउन सक्छन् ।

केही बिरामीमा यस्ता परिवर्तन महिनौँसम्म रहन सक्छन् भने कतिपयमा पुनः देखिन पनि सक्छन् । त्यसैले, संक्रमणको रातोपन कम हुँदैमा कर्नियासम्बन्धी समस्या पूर्ण रूपमा निको भयो भन्ने मान्नु हुँदैन ।

धेरैजसो बिरामीमा इकेसीले केही हप्ताभित्र क्रमशः निको हुँदै जान्छ । तर कर्नियामा गम्भीर असर परेको अवस्थामा निको हुन लामो समय लाग्न सक्छ । विशेषगरी सबइपिथेलियल इन्फिल्ट्रेट्स देखा परेमा दृष्टि धमिलो हुने, प्रकाशप्रति संवेदनशीलता बढ्ने र दृष्टिको गुणस्तरमा असर पर्ने समस्या महिनौँदेखि कहिलेकाहीँ वर्षौँसम्म रहन सक्छ ।

धेरैजसो अवस्थामा उचित उपचार र अनुगमनबाट सुधार सम्भव हुन्छ । यद्यपि कर्नियामा दाग वा अन्य जटिलता विकसित भएमा दृष्टिमा दीर्घकालीन असर पर्न सक्छ । त्यसैले, दृष्टि घटेको वा धमिलो भएको अवस्थामा यसलाई सामान्य आँखाको संक्रमण भनेर बेवास्ता गर्नु हुँदैन ।

इकेसीको पहिचान मुख्यतः बिरामीका लक्षण, रोगको इतिहास तथा आँखाको चिकित्सकीय परीक्षणका आधारमा गरिन्छ । आँखा विशेषज्ञले स्लिट ल्याम्प प्रयोग गरेर कन्जङ्क्टिभा र कर्नियाको अवस्था जाँच गर्छन् ।

आवश्यक परेको अवस्थामा कन्जङ्क्टिभाबाट नमुना लिएर पीसीआर परीक्षणमार्फत एडिनोभाइरसको पहिचान गर्न सकिन्छ। तर प्रत्येक बिरामीमा यस्तो परीक्षण आवश्यक हुँदैन । विशेषगरी संक्रमणको प्रकोप देखिएको अवस्था, निदानमा अन्योल भएको अवस्था वा संक्रमण नियन्त्रणका लागि थप जानकारी आवश्यक परेको अवस्थामा परीक्षण उपयोगी हुन सक्छ ।

भाइरसका कारण हुने संक्रमण भएकाले सामान्य एन्टिबायोटिक औषधिले भाइरसलाई नष्ट गर्न सक्दैन । हालसम्म यसको नियमित उपचारका लागि स्थापित र स्वीकृत निश्चित एन्टिभाइरल औषधि उपलब्ध छैन । त्यसैले उपचार मुख्यतः लक्षण कम गर्ने, आँखालाई सहज बनाउने र सम्भावित जटिलता नियन्त्रण गर्ने उद्देश्यले गरिन्छ ।

आँखामा पोल्ने र सुन्निने समस्या कम गर्न सफा कपडामा चिसो पानी प्रयोग गरी हल्का सेकाइ गर्न सकिन्छ । चिकित्सकको सल्लाहअनुसार प्रिजर्भेटिभरहित कृत्रिम आँसु प्रयोग गर्दा आँखाको सुख्खापन, जलन तथा असहजता कम गर्न मद्दत पुग्छ ।

कर्नियामा असर परेको वा दृष्टि धमिलो भएको अवस्थामा आँखा विशेषज्ञबाट नियमित जाँच गराउनु आवश्यक हुन्छ । कर्नियामा गम्भीर असर परेको अवस्थामा विशेषज्ञ चिकित्सकले आवश्यकताअनुसार विशेष उपचार गर्न सक्छन् ।

१.. साबुनपानीले कम्तीमा २० सेकेन्ड नियमित हात धुने ।

२. संक्रमित आँखालाई हातले नमिच्ने र अनावश्यक रूपमा नछुने ।

३. तौलिया, रुमाल, सिरानी र आँखाको मेकअप सामग्री अरूसँग साझा नगर्ने ।

४. आँखाबाट स्राव बगेमा सफा टिस्यु प्रयोग गर्ने र त्यसपछि हात धुने ।

५. मोबाइल, ढोकाको ह्यान्डल, टेबलजस्ता सतह नियमित सफा गर्ने ।

६. संक्रमणका लक्षण देखिँदा अरूसँग नजिकको सम्पर्क कम गर्ने र आवश्यक परे विद्यालय वा कार्यस्थल नजाने ।

७. आँखा अचानक धमिलो हुने, अत्यधिक दुख्ने वा उज्यालो सहन नसक्ने भए तुरुन्तै आँखा विशेषज्ञलाई देखाउने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
13h ago
त्रियुगामा तीनदिने निःशुल्क आँखा शिविर, पहिलो दिन २ सय बढीको जाँच

त्रियुगामा तीनदिने निःशुल्क आँखा शिविर, पहिलो दिन २ सय बढीको जाँच

सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबारदेखि तीनदिने निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ।

#आँखा
Compare →
Hamro Patro News
1d ago
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली– तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ ग...

#आँखा
Compare →
Ekantipur
4d ago
उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

आँखाले खेल नदेखे पनि कमेन्ट्री, बलको आवाज र दर्शकको हुटिङबाट क्रिकेटको रोमाञ्च महसुस गर्छन् जन्मजात दृष्टिविहीन किरण चलाउने र कविता मल्ल ।

#आँखा
Compare →

Related Stories

World News
Build #2612