१ मङ्सिर, दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना भएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ ।
उपचार केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकाका सर्वसाधारणले सामान्य आँखा परीक्षण तथा उपचारका लागि पोखरा वा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
केन्द्रको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीलाई सहज, सुलभ र स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध गराउने उद्धेश्यले उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए। नगरपालिकाभित्रै आँखा उपचार सेवा सुरु भएपछि सामान्य समस्या लिएर पनि पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास थियो ।
उनले स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पुर्याउनु स्थानीय सरकारको प्राथमिकतामध्येको एक भएको उल्लेख गर्दै उपचार केन्द्रलाई प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष एवं हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापाले हिमालय आँखा अस्पतालले आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको आँखा उपचारमा निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए।
उनले कुनै पनि स्वास्थ्य संस्था वा उपचार केन्द्र शुभारम्भ गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु र सेवाग्राहीले नियमित सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण हुने बताए। उपचार केन्द्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य प्राडा दिलबहादुर क्षेत्रीले आँखाको स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने बताए। उनले आँखाको नियमित परीक्षणमा लापरवाही नगर्न आग्रह गर्दै समयमै परीक्षण र उपचार गर्न सके आँखासम्बन्धी धेरै समस्याबाट बच्न सकिने धारणा राखे।
व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न समयमा स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै नगरभित्र उपलब्ध गराउने प्रयासअन्तर्गत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।
हिमालय आँखा अस्पतालबाटै जनशक्ति व्यवस्थापन
उपचार केन्द्रमा आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन हिमालय आँखा अस्पताल पोखराले गर्ने व्यवस्था मिलाइएको छ । यसले उपचार केन्द्रबाट प्रदान गरिने सेवाको गुणस्तर र निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शुभारम्भको दिन सेवाग्राहीका लागि निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको छ । बुधबारदेखि भने आँखा परीक्षणका लागि प्रतिव्यक्ति रु ५० शुल्क निर्धारण गरिएको छ ।
स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध हुन थालेपछि व्यास नगरपालिकाका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत सहज हुने अपेक्षा गरिएको छ । सामान्य आँखा परीक्षण तथा उपचारका लागि टाढा जानुपर्ने समय र खर्च बचत हुनुका साथै समयमै उपचार सेवा प्राप्त गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए। रासस