मध्यरातमा होटल बन्द हुँदा पर्यटकलाई आवास र खानपानमा समस्या भएको भन्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंले प्रशासनसँग माग गरेको हो ।
काठमाडौँ — जिल्ला होटल व्यवसायी संघ काठमाडौंले होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
संघका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरुले रातिको समयमा बजार तथा पर्यटनसम्बद्ध गतिविधिहरू बन्द हुँदा पर्यटकहरू निराश हुनुपर्ने अवस्था रहेको बताए ।
‘हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा लामो दूरीका यातायातका साधन २४सै घण्टा सञ्चालनमा छन्, विशेषगरी भारतका विभिन्न सहरबाट लामो दूरी पार गरी आफ्नै सवारीसाधनमा पर्यटकहरू प्रायः रातिको समयमा काठमाडौं आइपुग्ने गर्छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तर राति ११ बजेपछि होटलहरू बन्द हुँदा उनीहरूलाई आवास तथा खानपानको सेवा उपलब्ध गराउन कठिनाइ भएको छ, विदेशी पर्यटकहरू यहाँको मौलिक कला, संस्कृति, परम्परा तथा स्थानीय जीवनशैलीको अनुभव लिन इच्छुक हुन्छन् ।’
छिटो होटल बन्द हुँदा पर्यटको बसाईमा समेत असर पार्ने भएकाले काठमाडौंलाई पर्यटकमैत्री गन्तव्यका रूपमा विकास गर्न होटल तथा पर्यटन व्यवसायहरूलाई २४सै घण्टा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यक रहेको संघको भनाइ छ । ‘यसबाट पर्यटकले सहज सेवा पाउनुका साथै रोजगारी सिर्जना, व्यवसाय विस्तार र राज्यको राजस्व वृद्धिमा समेत योगदान पुग्नेछ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘अतः प्रचलित कानुन, शान्ति सुरक्षा तथा आवश्यक मापदण्डको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित काठमाडौं जिल्लाभित्र विधिवत् दर्ता भई सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायहरू २४सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाई पर्यटनमैत्री वातावरण निर्माण गरिदिनुहुन अनुरोध गर्दछौं ।’