Trending
Prev Story
Next Story

जे भए पनि बजार बढ्नुपर्छ भन्ने सोच्नु हुँदैन : सेयर विश्लेषक ढुंगाना

Ekantipur •
November 18, 2026 • 01:03 PM
2
2 reads 0 reactions

सेयर बजार लगानीको अवसर हो कि जुवाको अर्को रूप ? सेयरमा लगानी गरेर धनी बन्ने सपना कति व्यावहारिक छ ? लगानीकर्ता तथा सेयर विश्लेषक सुभासचन्द्र ढुंगानासँगको कुराकानी ।

जे भए पनि बजार बढ्नुपर्छ भन्ने सोच्नु हुँदैन : सेयर विश्लेषक ढुंगाना

सेयर बजार लगानीको अवसर हो कि जुवाको अर्को रूप ? सेयरमा लगानी गरेर धनी बन्ने सपना कति व्यावहारिक छ ? लगानीकर्ता तथा सेयर विश्लेषक सुभासचन्द्र ढुंगानासँगको कुराकानी ।

काठमाडौँ — नेपालको सेयर बजारमा उतारचढाव बढ्दो छ । लगानीकर्ताको विश्वास अपेक्षाअनुसार बजार बढ्न सकेको छैन । ब्याजदर, तरलता, राजनीतिक अस्थिरता र नीतिगत अन्योलले बजारलाई कति प्रभावित गरिरहेका छन् ? सेयर बजार लगानीको अवसर हो कि जुवाको अर्को रूप ? सेयरमा लगानी गरेर धनी बन्ने सपना कति व्यावहारिक छ ? यिनै विषयमा कान्तिपुर टेलिभिजनका प्रस्तोता सुरेन्द्र कट्टेलले लगानीकर्ता तथा सेयर विश्लेषक सुभासचन्द्र ढुंगानासँग कुराकानी गरेका छन् ।उक्त कुराकानीको सम्पादित अंश :

अहिलेको समय लगानीका लागि कत्तिको उपयुक्त छ भनेर सोध्दा प्रायः सधैँ ‘ठिकै छ’ भन्ने उत्तर आउँछ । तर अहिले साना लगानीकर्ता खुसी छैनन् । तपाईंले कसरी विश्लेषण गरिरहनुभएको छ ?

सामान्य हिसाबले समय सधैँ ठीक हुन्छ, फरक त कुन क्षेत्र वा कुन कम्पनीमा लगानी गर्ने भन्नेमा पर्छ । हाम्रो निर्णय दीर्घकालीन हो कि अल्पकालीन भन्नेले पनि फरक पार्छ । अहिलेको समग्र नेप्सेको अवस्था, पुँजी बजारप्रति नियामक निकाय र सरकारको सकारात्मक नीति र रणनीति हेर्दा समय अनुपयुक्त छैन तर अध्ययन भने आवश्यक छ ।

नेप्सेमा वर्षमा दुईवटा बुल साइकल आउँछन् : एउटा ‘समर साइकल’ र अर्को ‘विन्टर साइकल’ । ‘विन्टर साइकल’ असोज र कात्तिकबाट सुरु भएर पुस–फागुनसम्म चल्छ, जसमा ट्रेडरहरू हाबी हुन्छन् र उनीहरूका लागि राम्रो समय हुन्छ । ‘समर साइकल’ जेठ र असारमा सुरु भएर साउन–भदौतिर अन्त्य हुन्छ । यो बेला दैनिक कारोबार रकम बढ्छ । ट्रेडरले त जुनसुकै बेला पनि कमाउन सक्छन् । लगानीकर्ताले आधारभूत (फन्डामेन्टल) कुरा हेर्नुपर्छ । तर बजारका हिसाबले यो उपयुक्त समय नै हो ।

पहिले राजनीतिक अस्थिरता नै उतारचढावको मुख्य कारण भनिन्थ्यो । अहिले दुई तिहाइको सरकार छ, अर्थशास्त्र बुझेका अर्थमन्त्री पनि हुनुहुन्छ । तर जनता किन ढुक्क छैनन् ?

हामीले इतिहास पनि हेर्नुपर्छ । नेपालमा यसअघि ३–४ पटक बुल मार्केट आयो, तर त्यतिबेला स्थिर सरकार थिएन । एउटै बुल अवधिमा ३–४ वटा सरकार फेरिँदा पनि बजार बुलमै थियो र जीडीपी घट्दा पनि बजार बुलमै थियो । यसको अर्थ, स्थिर सरकार एउटा कारक हो तर एक्लै पर्याप्त होइन । अर्थतन्त्र विकासमा त्यसले सहयोग गर्छ तर हाम्रो बजार फन्डामेन्टली होइन, टेक्निकल्ली बुल जस्तो चलेको देखियो ।

बजारलाई सेन्टिमेन्ट र कन्फिडेन्स चाहिन्छ । दुई तिहाइको सरकार बनेपछि लगानीकर्तामा जुन विश्वास आउनुपर्ने थियो, त्यो देखिएन, जबकि अपेक्षा उच्च भइसकेको थियो । चुनावअघि धेरै लगानीकर्ताको धारणा थियो, बहुमतको एकल सरकार बन्यो भने बजार माथि जान तयार छ । तर केही समय उक्लिएर ३००० को विन्दु परीक्षण गरेपछि बजार करेक्सनमा गयो, २४००–२५०० को रेन्जबाट केही रिबाउन्ड आयो र अहिले माथिल्लो क्षेत्रमा साइडवेजमै छ ।

अर्को ध्यान दिनुपर्ने कुरा कारोबार रकम, समग्र अर्थतन्त्र, बैंकको ब्याजदर र तरलताको अवस्था हो । ब्याजदर केही घटे पनि कर्जा लगानीमा जान सकेको छैन । बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको देखिन्छ तर कर्जाको माग त्यसको आधा जति मात्र छ र नेपाल राष्ट्र बैंकले राखेको लक्ष्य पूरा हुने स्थिति देखिँदैन । ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु सकारात्मक संकेत होइन ।

लगानीकर्ता मात्र होइन, उद्योगी–व्यवसायीहरू पनि लगानीका लागि उपयुक्त वातावरण छ कि छैन भनेर ढुक्क हुन सकेका छैनन् । सबै कुराले साथ दिँदा पनि ठूला लगानीकर्ताले किन विश्वास गर्न सकेनन्, त्यो नियामक निकाय र सरकारले विचार गर्नुपर्ने विषय हो । राजनीतिक अस्थिरताले बजारलाई प्रभाव पार्छ नै तर स्थिरतातर्फ जाँदा पनि ‘पर्ख र हेर’ को स्थिति बन्यो ।

ठूला उद्योगी–व्यवसायी पक्राउ पर्दा बजारमा असर पर्‍यो भन्ने गुनासो छ । साना लगानीकर्तामा सरकारले किन यस्तो गरेको होला, बजारलाई राम्रो भएन भन्ने बुझाइ छ । यसलाई कसरी बुझ्ने ?

जे भए पनि बजार बढ्नुपर्छ भन्ने सोच्नु हुँदैन । यो सरकार जुन धरातलबाट बनेको हो र जे कुरा गरेको छ, त्यो बिर्सन पनि हुँदैन । तर प्रक्रियामा केही कमजोरी भएका होलान् । उद्योगी र लगानीकर्तालाई बिचौलिया र भ्रष्टाचारीसँग एउटै डालोमा हालेको कुरा अलि नपचेको हो कि जस्तो लाग्छ । प्रधानमन्त्रीले पछि व्यवसायीलाई बोलाएर सुधारको संकेत दिएको पनि सुनिएको छ ।

तर बजार संवेदनशील हुन्छ । एकदुईवटा कम्पनी वा क्षेत्रमा केही नराम्रो भयो भन्दैमा समग्र बजारको नकारात्मक नेरेटिभ बनाउने बानी छ । ठूला मान्छेहरू पनि त्यसको प्रभावमा परेर बोल्छन् । आज बोल्दा भोलि नै अर्बौं रुपैयाँ ध्वस्त हुन सक्छ र त्यो फेरि रिकभर नहुन पनि सक्छ । त्यसैले संवेदनशील अवस्थामा सोचेर बोल्नुपर्छ ।

साना–ठूला सबैले सेयरलाई दीर्घकालीन सम्पत्तिका रूपमा स्थापित गर्न सक्छन् भनिन्छ । तर लगानीमा ‘टाइम भ्यालु अफ मनी’ जस्ता कुरा पनि हेरिन्छ । सबैले सरल भाषामा कसरी बुझ्ने ?

सुरुमा किन्दा २० वर्षपछि यो कम्पनी रहन्छ कि रहँदैन भनेर सोच्नुपर्छ । प्रतिफल वा लाभांश केही नदिए पनि कम्पनी रहनु न्यूनतम मापदण्ड हो । त्यसले मुद्रास्फीतिलाई जित्ने गरी केही प्रतिफल दिन्छ भने दीर्घकालका लागि लगानी गर्न सकिन्छ तर नेपालमा त्यस्ता कम्पनी कमै छन् ।

यसका लागि २–३ वटा शब्द बुझ्नुपर्छ । पहिलो, मुद्रास्फीति दर अर्थात् वर्षमा पैसाको मूल्य कति घटिरहेको छ । मुद्रास्फीति ५ प्रतिशत भए आज १०० रुपैयाँ बराबरको चीज किन्न एक वर्षपछि १०५ रुपैयाँ चाहिन्छ । बैंकमा राख्दा निक्षेपको ब्याज (अहिले करिब ३.१ प्रतिशत) मुद्रास्फीतिभन्दा कम भए पैसाको वास्तविक मूल्य घट्छ । बजारमा राख्दा प्रतिफल २ भागमा आउँछ : मूल्य बढेर हुने पुँजीगत लाभ र कम्पनीले दिने लाभांश । दुवै जोड्दा मुद्रास्फीति जितिन्छ कि जितिँदैन भनेर हेर्नुपर्छ ।

तर हाम्रा लगानीकर्ताले एकदुई कम्पनीको अल्पकालीन उतारचढाव हेरेर ठूलो प्रतिफल अपेक्षा गर्छन् । बढेको बजार ५० प्रतिशत तल ओर्लिन पनि सक्छ भन्ने सोच्दैनन् । त्यो ट्रेडरको खेल हो । दीर्घकालका लागि सोच्ने हो भने लगानी विविधीकरण गर्नुपर्छ । केही बजारमा, केही बैंकमा आकस्मिक कोषका रूपमा, केही बीमाआदिमा लगानी गर्नुपर्छ । यसरी सुरक्षित तरिकाले मुद्रास्फीति जित्न सकिन्छ ।

यस्तै एउटा माध्यम नियमित लगानी (एसआईपी) पनि मानिन्थ्यो । यसमा मानिसले धेरै अपेक्षा गरेका थिए तर राम्रो नतिजा आएको छैन र निरुत्साहित भइरहेका छन् भन्ने छ । यसमा कत्तिको सत्यता छ ?

आंशिक सत्यता छ । छिमेकी भारतले दिइरहेको प्रतिफलसँग तुलना गर्दा यहाँ अपेक्षा पूरा भएको छैन । कमिसन आदिका कारण एसआईपी चलाउने संस्थाले कमाएका छन् तर लगानीकर्ताको प्रतिफल आकर्षक देखिएको छैन । यहाँ कमजोरी धेरै छन् । लगानीकर्ताले आफूले खरिद गरेको इकाइ खातामा समयमा नदेखिनेदेखि भनेको समयमा बेच्न नपाउनेसम्मको समस्या छन् । मेरो सुझाव दीर्घकालसम्म टिक्न सक्ने २–३ वटा क्षेत्रमा राम्रा कम्पनी छानेर विविधीकरण गर्नुस् ।

एसआईपीमा प्रत्येक महिना तोकिएको रकम राख्नुको सट्टा बजार घटेको बेला आफैँ नियमित सेयर किन्दै जानुस् । यसमा बरु प्रतिफल राम्रो देखिन्छ ।

सेयर बजारको जोखिम न्यूनीकरणका लागि के गर्ने ?

जहाँ बढी अवसर हुन्छ, त्यहीँ जोखिम पनि धेरै हुन्छ । बजार छिर्दा कति कमाउँछु भनेर मात्र होइन, कति नोक्सान बेहोर्न सक्छु भन्ने मानसिक तयारी गरेर छिर्नुपर्छ । ट्रेडर बनेर आउँदा धेरैले माथिको मात्र हेर्छन्, यति कमाए करोडपति हुन्छु भन्ने । तर  तल झर्दा मैले आफ्नो कुल पोर्टफोलियोको यति प्रतिशतभन्दा बढी धान्न सक्दिनँ, एक करोडको लगानीमा यति लाखभन्दा बढी नोक्सान बेहोर्न सक्दिनँ भन्ने सीमा तोक्नुपर्छ र त्यहाँ पुगेपछि निस्कनुपर्छ ।

यो बजार मात्र होइन, आफ्नो सम्पूर्ण पोर्टफोलियोका आधारमा विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ, किनकि सूचीकृत क्षेत्रहरूको पनि ‘बजार चक्र’ हुन्छ । एउटा क्षेत्र नचल्दा अर्को चल्छ, त्यसैले विविधीकरणले जोखिम घटाउँछ । सेयर बजारमा एकोहोरो सोचेर १०० प्रतिशत धनी भइन्छ भन्ने व्यावहारिक होइन । दीर्घकालका लागि बजार माथि नै जान्छ र कम्पाउन्डिङको प्रभावमा पनि विश्वास गर्नुपर्छ । केही समय नोक्सानमा रहिएला, तर कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरिएको छ भने दीर्घकालमा नोक्सान हुँदैन ।

अहिले लगानीकर्ताले सरकार र नियामक निकायसँग गरेको अपेक्षा पूरा नभएको जस्तो देखिन्छ । बजार माथिल्लो रेन्जमा लामो समयदेखि साइडवेजमा छ । तपाईं के भन्न चाहनुहुन्छ ?

बजार ३२०० लाई ब्रेक गर्न केही समय लाग्छ र फेरि वियरिस प्रवृत्तिमा जान्छ कि भन्ने लागेको हुनसक्छ । तर इतिहास हेर्दा अघिल्लो बुलको उच्च विन्दु ब्रेक गर्न धेरै महिना लागेको छ । कतिपयले यसअघिको बुल मात्र देखेकाले यस्तो लाग्न सक्छ । यो बुल मार्केट हो भने अघिल्लो बुलको उच्च बिन्दु नतोडिने भन्ने हुँदैन ।

नेप्से (इन्डेक्स) हेरेर लगानी नगर्नुस् । कुनै समूहगत परिसूचक हेरेर किनबेच नगरौँ । कम्पनी हेरेर लगानी गर्नुस्, त्यसले दीर्घकालमा फाइदा दिन्छ ।

सुरेन्द्र कट्टेल कान्तिपुर टिभीमा आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
3d ago
सरकार फेरियो नीति फेरियो तर सेयर बजारको दुर्दशा फेरिएन !  किन उठेन लगानीकर्ताको मनोबल ?

सरकार फेरियो नीति फेरियो तर सेयर बजारको दुर्दशा फेरिएन ! किन उठेन लगानीकर्ताको मनोबल ?

सुजता थापा काठमाण्डौ । नयाँ सरकार गठन भयो। सेयर बजार सुधारका लागि नीतिगत प्रतिबद्धता आए। बजारमैत्री भनिएका कतिपय नियम...

#शेयर-बजार #लगानीकर्ता
Compare →
Hamro Patro News
5d ago
चैतमा  स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

चैतमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारलाई निर्वाचनको तयारी र योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्। शुक्रबार जनकपुरमा आयोजित...

#भन्ने #हुँदैन
Compare →

Related Stories

Business & Economy
Build #2612