Trending
Prev Story
Next Story

जात्राले जोड्दै सीमापारिका आफन्त

Ekantipur •
November 18, 2026 • 08:02 AM
3
3 reads 0 reactions

दसैंतिहारपछि यहाँका मन्दिरहरुमा चल्ने जात्राले रोजगारी र बसाइँसराइले छुट्याएका परिवारलाई थातथलो फर्काएर पुर्ख्यौली सम्बन्ध तथा सांस्कृतिक परम्परा पुनर्जीवित गराइरहेकाे छ।

जात्राले जोड्दै सीमापारिका आफन्त

दसैंतिहारपछि यहाँका मन्दिरहरुमा चल्ने जात्राले रोजगारी र बसाइँसराइले छुट्याएका परिवारलाई थातथलो फर्काएर पुर्ख्यौली सम्बन्ध तथा सांस्कृतिक परम्परा पुनर्जीवित गराइरहेकाे छ।

बैतडी — बैतडीका जात्रा–मेला रोजगारी र बसाइँसराइका कारण वर्षौंदेखि टाढिएका आफन्तलाई पुर्ख्यौली थलोमा जोड्ने अवसर बनेका छन् । दसैंतिहार सकिएलगत्तै सुरु हुने जात्रामा गाउँ छोडेर तराई तथा भारतका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका मानिससमेत पुर्ख्यौली थलो फर्किने गर्छन् ।

वर्षभरि टाढिएका आफन्तबीच भेटघाट र भलाकुसारी हुने यस्ता जात्राले धार्मिक आस्थासँगै पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई पनि जीवन्त राख्दै आएका छन् ।

भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लाको सुनकुरी गाउँमा बसोबास गर्दै आएका मदनसिंह सावन्त हरेक वर्ष कात्तिक शुक्ल सप्तमी र अष्टमीका दिन बैतडीको शिवनाथधाम पुग्छन् । उनको गाउँका अन्य परिवारका सदस्य पनि पुर्ख्यौली परम्परालाई निरन्तरता दिँदै तीन–तीन वर्षमा देउरो लिएर शिवनाथ जात्रामा सहभागी हुन आउँछन् ।

पुस्तौँअघि शिवनाथ गाउँपालिका–२ का शर्माली, बछला र पुडील गाउँबाट बसाइँ सरेर भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लाका सुनकुरी र सुल्ल गाउँ पुगेका सावन्त परिवारले आफ्नो पुर्ख्यौली थलो र कुलदेवताको सम्बन्धलाई अझै टुट्न दिएका छैनन् ।

सुनकुरी र सुल्ल गाउँबाट दमाहा बजाउँदै, ध्वजा र लौरो बोकेर शिवनाथबाबाको जयजयकार गर्दै आउने उनीहरूको देउरो यात्राले सीमापारि पुगेको पुर्ख्यौली सम्बन्धलाई हरेक वर्ष शिवनाथ जात्रामार्फत फेरि जोड्ने गरेको छ ।

५८ वर्षीय मदनसिंह सावन्तका अनुसार पुर्ख्यौली चलन र कुलदेवताको आस्थाले आफूहरूलाई हरेक वर्ष शिवनाथधामसम्म ल्याउने गरेको छ । ‘कुलदेवताको पूजामा वर्षमा एकपटक सकेसम्म पुग्ने गर्छौं । परिवारका सबै आउन नसके पनि एक–एक जना सधैं नै आउने गरेका छौँ,’ उनले भने, ‘यही शिवनाथधामले हामीलाई अर्काको देशमा पनि फूल जस्तै फुलाएको छ ।’

यो जात्रा पूजाआजाको अवसर नभई पुर्ख्यौली थलो, संस्कृति र आफन्तसँगको सम्बन्ध जोड्ने माध्यम पनि बनेको मदनसिंह बताउँछन् । वर्षौँअघि आफ्ना दुई बाजे छुट्टिएर भारतको सुनकुरी र सुल्ल गाउँमा बसाइँ सरेर गएकाले अहिले पनि उनीहरू आफ्नो परम्परालाई निरन्तरता दिइरहेको ग्राम बहुमुखी क्याम्पस शिवनाथका क्याम्पस प्रमुख महामल साउदले जानकारी दिए । आफूहरू पनि उनीहरूको गाउँ सुनकुरी र सुल्ल पुग्दा आफ्ना भाइबन्धु आएको भन्दै खुबै स्वागत गर्ने गरेको उनले बताए ।

भारतको सीमावर्ती बजार झुलाघाटमा व्यापार गर्दै आएका लवदेव भट्ट पनि हरेक वर्ष बैतडीका त्रिपुरासुन्दरी, निङ्गलाशैनीलगायत मन्दिरमा आएर पूजाआजा गर्ने गरेको बताउँछन् । बैतडीका जात्रामा सहभागी हुन भारतको उत्तराखण्डका पिथौरागढ, लोहाघाट, चम्पावत, सुनकुरी, सुल्ल, मझरकाँडा, लेटी र रौसाल क्षेत्रका मानिस मात्र होइन, छिमेकी जिल्ला दार्चुला र डडेल्धुराबाट समेत दर्शनार्थी आउने गर्छन् ।

जिल्लाभित्रै रोजगारी तथा अन्य कारणले तराई र अन्य सहरमा बसोबास गर्दै आएका मानिस पनि जात्राका बेला गाउँ फर्किने गर्छन् । जात्राले भूगोल र सीमाले टाढिएका परिवारलाई एकै ठाउँमा भेला गराउने गरेको स्थानीय बताउँछन्।

तिहारपछि बैतडीका विभिन्न मठमन्दिरमा लाग्ने जात्रा बिभिन्न स्थानीय नामले परिचित छन् । शिवनाथ मन्दिरमा लाग्ने जात्रालाई शिवनाथ जात्रा, मेलौली भगवती मन्दिरको जात्रालाई मेलौली जात्रा, खोलाकेदार मन्दिरमा लाग्ने जात्रालाई खेलदेउ जात्रा र धुराकेदार मन्दिरको जात्रालाई धुराबे जात्रा भनिन्छ । त्यस्तै, त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने जात्रालाई त्रिपुरा जात्रा, रौलाकेदार धामको जात्रालाई रौलाकेदार जात्रा, निङ्गलाशैनी भगवती मन्दिरको जात्रालाई देहिमाण्डौँ जात्रा, डिलासैनी भगवती मन्दिरको जात्रालाई डिलासैनी जात्रा र पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने जात्रालाई पाटन जात्राका नामले चिनिन्छ । यी जात्रा दसैं सुरु भएदेखि मंसिर बिभिन्न तिथिअनुसार फरक–फरक दिन लाग्ने गर्छन् ।

धार्मिक आस्था र आफन्तसँगको आत्मीयतासँगै जात्राको अर्को आकर्षण देउडा खेल हो । जात्रा अवधिभर महिला र पुरुष छुट्टाछुट्टै तथा सामूहिक रूपमा देउडा खेल्ने गर्छन् । थातथलो छोडेर गएका तथा पुस्तौँदेखि अर्कै देशमा बसोबास गर्दै आएका मानिसको जमघटले आपसी सद्भाव बढाउनुका साथै सांस्कृतिक परम्पराको पुस्तान्तरणमा समेत सहयोग पुर्‍याइरहेको वीरेन्द्र मावि, शाहीलेकका पूर्वशिक्षक एवं लेखक चन्द्रमोहन तिवारीले बताए ।

जात्रा धार्मिक र सांस्कृतिक जमघटमा मात्र सीमित छैनन् । स्थानीय व्यापार व्यवसायका लागि पनि यी जात्रा महत्त्वपूर्ण अवसर बन्ने गरेका छन् । जात्रा अवधिमा स्थानीय तथा घरायसी प्रयोजनका सामग्री, खाद्यान्न, कृषि औजार, लत्ताकपडा र भाँडाकुँडासम्मको कारोबार हुन्छ । लाखौँ रुपैयाँको व्यापार हुने यी मेलामा भारतको मथुरा क्षेत्रबाट समेत व्यापारी आउने गरेका छन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#जात्रा
Compare →
Onlinekhabar
1w ago
‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल …

#जात्रा
Compare →

Related Stories

World News
Build #2612