सशस्त्र प्रहरीका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम रहेको छ र थप अनुसन्धानका लागि भन्सारमा बुझाइँदैछ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलका अनुसार दुबईबाट हिमालयन एयरलाइन्सको उडानमार्फत बुधबार बिहान ११:४१ बजे काठमाडौं आएका चिनियाँ नागरिक बीन बीन लीलाई विमानस्थल भन्सार सुरक्षा बेसले नियन्त्रणमा लिएको हो ।
नियमित जाँचका क्रममा विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा उनको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याइएका सुनजस्तो देखिने पदार्थका चारवटा पोका फेला परेका थिए ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम छ ।
नियन्त्रणमा लिइएका लीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।