सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी, स्टार्टअप पभिलियन तथा दुई विषयगत छलफल आयोजना गरिने छ ।
काठमाडौँ — नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा 'आकाशटेल नास-आईटी एक्स्पो २०२६' आयोजना गर्ने भएको छ । एक्स्पोमा स्टार्टअप पभेलियन र दुईवटा विषयगत छलफल पनि हुनेछन् ।
दुईदिने एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको नास-आईटीले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रसँग देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने ठूलो सम्भावना रहेको बताए ।
‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन्, अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ,' उनले भने, 'नास-आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’
यस्तै नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन् । ‘खरिदकर्ता, स्टार्टअप र विद्यार्थी सबैले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। एक्स्पोमार्फत प्रविधि कम्पनीका उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै नयाँ सहकार्य र व्यावसायिक सम्भावनाको खोजी गर्न सकिनेछ,’ उनले भनिन् ।
एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, एआई तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् । युरोपेली संघको सहयोगमा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप पभिलियन थप गरिएको छ । एक्स्पोकी संयोजक तथा नास-आईटीकी कार्यसमिति सदस्य प्रार्थना साख: ले एक्स्पो सफल बनाउन प्रायोजक, साझेदार तथा प्रदर्शकको सहकार्य महत्वपूर्ण रहेको बताइन् ।