कार्गो रेल सञ्चालनमा देखिएका नीतिगत, भौतिक तथा प्रशासनिक समस्या समाधान गरी पारवहन लागत घटाउन उद्योगी–व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।
विराटनगर — विराटनगरलाई सामान ओसारपसार, भण्डारण र वितरण गर्ने (लजिस्टिक हब) का रूपमा विकास गर्न कार्गो रेल नियमित सञ्चालनसँगै पारवहन लागत न्यूनीकरण र आवश्यक पूर्वाधार निर्माण गर्न उद्योगी–व्यवसायीले माग गरेका छन् ।
मोरङ उद्योग व्यापार संघले मंगलबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा सहभागी उद्योगी–व्यवसायीले कार्गो रेल सञ्चालनमा देखिएका नीतिगत, भौतिक तथा प्रशासनिक समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् ।
संघका अध्यक्ष अनिलकुमार साहले विराटनगरमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी), चार लेनको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच मार्ग, भारतीय बन्दरगाहसँग जोडिएको कार्गो रेल सञ्जाल र नेपाल कस्टम्स यार्ड (एनसीवाई) जस्ता पूर्वाधार उपलब्ध भए पनि तिनको प्रभावकारी उपयोग हुन नसकेको बताए । उनका अनुसार आईसीपी तथा रेल्वे यार्डमा मौसमअनुकूल आधुनिक गोदाम र सुरक्षित भण्डारणको अभाव, उच्च कार्गो ह्यान्डलिङ शुल्क, बल्क कार्गो अनलोडिङ उपकरणको कमी तथा पारवहन प्रक्रियामा प्रभावकारी समन्वय नहुँदा कार्गो रेल सेवा नियमित हुन सकेको छैन । रेल्वेका पूर्वाधारसमेत जीर्ण हुँदै गएको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
‘विराटनगरसँग मुलुककै सक्षम लजिस्टिक हब बन्न आवश्यक आधारभूत पूर्वाधार छन्,’ उनले भने, ‘तर उपलब्ध संरचनाको प्रभावकारी सञ्चालन र व्यवस्थापन हुन नसक्दा अपेक्षित लाभ लिन सकिएको छैन ।’
अध्यक्ष साहले कार्गो सेवा शुल्क तथा पारवहन लागत घटाउन, आधुनिक गोदाम निर्माण गर्न र कन्टेनर तथा बल्क कार्गोको व्यवस्थापनलाई वैज्ञानिक बनाउनुपर्ने बताए । नियमित कार्गो रेल सञ्चालनले राजस्व, रोजगारी र व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले थोरै परिमाणमा कन्टेनर आयात गर्ने उद्योगी–व्यवसायीले समेत रेल सेवाबाट लाभ लिन सक्ने नीति बनाउनुपर्ने बताए । पूर्वाधार विकाससँगै व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने गरी नीतिगत सुधार आवश्यक रहेको उनले औंल्याए ।
वाणिज्य उपाध्यक्ष विकासकुमार बेगवानीले कार्गो सेवा शुल्क घटाउन सके उद्योगी, व्यवसायी र उपभोक्ता सबै लाभान्वित हुने बताए । संघका महासचिव अमितकुमार सारडाले नेपाली र भारतीय कस्टम यार्डबीचको शुल्क तथा ढुवानी लागतसम्बन्धी समस्या समाधान गर्नुपर्ने र रेल सेवा नियमित सञ्चालनका लागि स्पष्ट कार्यढाँचा बनाउनुपर्ने धारणा राखे ।
छलफलमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सहभागीले उठाएका समस्या समाधानका लागि आफ्नो निकायबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक इन्जिनियर आदर्श काफ्ले, ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिका प्रबन्ध निर्देशक मुकेशकुमार राठी, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका उपसचिव डिल्ली सञ्जेल, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका विराटनगर प्रमुख उद्धवराज कोइराला र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मालगायतले पनि व्यापारिक समस्या र समाधानका सन्दर्भमा बोलेका थिए ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।