नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणमा ‘Powered By’ पार्टनरका रूपमा जोडिएको छ। यसका लागि नेपाल लाइफ र हिमालय स्पोर्ट्स एचडीबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो।
यस वर्षको एनपीएल टी–२० क्रिकेट प्रतियोगिता कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगिताका खेल टेलिभिजनमार्फत प्रसारण हुनेछन्।
नेपाल लाइफले एनपीएलको प्रसारणसँगको सहकार्यलाई क्रिकेटमार्फत देशका विभिन्न भूगोल, समुदाय र पुस्तासम्म पुग्ने अवसरका रूपमा लिएको जनाएको छ। कम्पनीका अनुसार क्रिकेट पछिल्लो समय खेलकुदमा मात्र सीमित नरही साझा उत्साह र भावनासँग जोडिएको माध्यमका रूपमा स्थापित हुँदै गएको छ।
एनपीएलको प्रसारणमार्फत देशभरका लाखौँ दर्शकलाई एउटै खेलकुद उत्साहसँग जोड्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ। यही माध्यमबाट आफ्नो ब्रान्डलाई नेपाली दर्शकसँग थप जोड्ने लक्ष्य नेपाल लाइफको छ।
कम्पनीले यो सहकार्यलाई प्रसारण साझेदारीमा मात्र सीमित नराखी नेपाली खेलकुदको प्रवर्द्धन तथा विकासमा सहयोग पुर्याउने प्रयासका रूपमा समेत व्याख्या गरेको छ। नेपाली खेलप्रतिको रुचि र खेलाडी तथा समर्थकबीचको आत्मीयतालाई थप बलियो बनाउन सहकार्यले भूमिका खेल्ने कम्पनीको अपेक्षा छ।
सम्झौता कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको बताए।
उनका अनुसार खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणसँग जोडिनु नेपाल लाइफका लागि महत्वपूर्ण अवसर हो।
पराजुलीले हिमालय स्पोर्ट्स एचडीसँगको सहकार्यले नेपाल लाइफलाई ठूलो दर्शक समुदायसम्म पुग्ने अवसर दिने बताए। साथै, जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास र भविष्यका लागि जिम्मेवार तयारीको महत्वबारे सन्देश प्रवाह गर्न पनि यस सहकार्यले सहयोग पुर्याउने उनको भनाइ छ।