सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना दिनुपर्ने धितोपत्र बोर्डको व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनका अनुसार पारदर्शिता आवश्यक भए पनि कारोबार हुनुअघि नै बिक्रीको सूचना सार्वजनिक गर्दा त्यसले बजारको स्वाभाविक माग–आपूर्ति र मूल्य निर्धारण प्रक्रियालाई प्रभावित पार्न सक्छ।
भट्टराईको विचारमा कुनै संस्थापक वा आधारभूत सेयरधनीले सेयर बिक्री गर्न लागेको जानकारी वास्तविक कारोबार हुनुअघि नै सार्वजनिक भएपछि लगानीकर्ताले कारोबार सम्पन्न हुनुअगावै त्यसमा प्रतिक्रिया जनाउन सक्छन्। यसले वास्तविक बिक्री हुनुभन्दा पहिले नै बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने र मूल्य प्रभावित हुने सम्भावना रहन्छ। त्यसैले यस्तो व्यवस्थाले बजार विकास, पारदर्शिता र स्वच्छ मूल्य निर्माणको उद्देश्यसँग कति मेल खान्छ भन्ने विषयमा पुनर्विचार आवश्यक रहेको उनको धारणा छ।
उनले कारोबारअघि सूचना सार्वजनिक गराउनुको सट्टा प्रमुख पदाधिकारी, सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीले गरेको सेयर कारोबारलाई कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सार्वजनिक तथा ट्र्याक गर्ने प्रणाली विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
भट्टराईका अनुसार यस्ता व्यक्तिले सेयर बिक्री गरेको तीन दिनभित्र, अर्थात् कारोबारको सेटलमेन्ट सम्पन्न भएपछि, सम्बन्धित कम्पनीमार्फत तोकिएको प्रणालीमा कारोबारको सम्पूर्ण विवरण अद्यावधिक गर्ने व्यवस्था गर्न सकिन्छ। यस्तो विवरण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमार्फत सर्वसाधारणले सहज रूपमा हेर्न सक्ने बनाउनुपर्ने उनको सुझाव छ।
निर्धारित समयमा कारोबारको विवरण अद्यावधिक नगरेमा सम्बन्धित कम्पनी तथा जिम्मेवार पदाधिकारीमाथि कडा जरिवाना गर्ने व्यवस्था गर्न सकिने उनको भनाइ छ।
यस्तो प्रणालीबाट संकलित कारोबार विवरणलाई दीर्घकालीन रूपमा विश्लेषण गर्न सकिने भट्टराईको धारणा छ। उनका अनुसार संस्थापक, सञ्चालक वा ठूला सेयरधनीले सेयर बिक्री गर्नुअघि र बिक्री गरेपछिको कम्पनीको सेयर मूल्य, कारोबार परिमाण, कम्पनीको व्यवसाय तथा वित्तीय अवस्थामा आएको परिवर्तनलगायतका विषयलाई तथ्यांकका आधारमा अध्ययन गर्न सकिन्छ।
यसबाट लगानीकर्ताले ‘कसले कति सेयर बेच्यो?’ भन्ने जानकारीमा मात्र सीमित नभई ठूलो सेयरधनीको कारोबार र त्यसपछि बजार तथा कम्पनीको अवस्थामा देखिएको परिवर्तनबीचको सम्बन्धसमेत अध्ययन गर्न सक्ने वातावरण बन्ने उनको भनाइ छ।
भट्टराईका अनुसार यस्तो प्रणालीले कारोबार हुनुअघि बजार प्रभावित हुने सम्भावना घटाउने र कारोबार सम्पन्न भएपछि भने सम्बन्धित व्यक्तिले कहिले, कति र कुन मूल्यमा सेयर बिक्री गरेको हो भन्ने जानकारी लगानीकर्तालाई उपलब्ध गराउनेछ। यसले प्रमुख पदाधिकारी, संस्थापक तथा आधारभूत सेयरधनीको कारोबारलाई लगानी विश्लेषणको एउटा महत्वपूर्ण आधारका रूपमा विकास गर्नसमेत सहयोग पुग्न सक्ने उनको तर्क छ।