३० कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप र कर्जा लगानीको प्रदेशगत अवस्था हेर्दा सबैभन्दा कमजोर गण्डकी प्रदेश देखिएको छ ।
गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको आधा पनि कर्जा लगानी गर्न नसकेको राष्ट्र बैंक अध्ययनले देखाएको छ ।
गत आर्थिक वर्ष गण्डकीको कर्जा–निक्षेप अनुपात ५०.०७ प्रतिशत मात्रै छ । नेपाल राष्ट्र बैंक अनुसार बैंक तथा वित्तीय संस्थाले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गर्न सक्छन् ।
केन्द्रीय बैंकको अध्ययन अनुसार पनि न्यून कर्जा–निक्षेप अनुपात भएको गण्डकीमा निक्षेपको तुलनामा कर्जा लगानी बढाउन आवश्यक छ ।
कर्जा–निक्षेप अनुपात गणना गर्दा बैंक तथा वित्तीय संस्थाले पूँजीकोष र पूँजीकोष अङ्गका रूपमा रहेका ऋणपत्र बाहेक ऋणपत्र, एक वर्ष वा बढी अवधिका विदेशी मुद्रामा लिएको ऋण तथा पुनर्कर्जा रकम निक्षेपका रूपमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिँदा ४ प्रतिशत अनिवार्य नगद मौज्दात बापत राष्ट्र बैंकमा राख्नुपर्छ । त्यसैगरी सोही १ सयबाट वाणिज्य बैंकले १२, विकास बैंक र फाइनान्स कम्पनीले १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने छ ।
त्यसपछिको बाँकी निक्षेपबाट कर्जा लगानी गर्नुपर्छ । यसरी कर्जा लगानी गर्दा निक्षेपको ९० प्रतिशतसम्म जान सकिने सीमा छ । गण्डकीको कर्जा–निक्षेप अनुपात हेर्दा केन्द्रीय बैंकले तोकेको सीमा पुग्न बैंक तथा वित्तीय संस्थाले निक्षेप रोक्दै कर्जामा केन्द्रित हुनुपर्ने स्पष्ट हुन्छ ।
गण्डकीमा वित्तीय स्रोत उपलब्धता पर्याप्त भए पनि मधेस प्रदेशमा भने अभाव देखिएको छ । मधेसमा निक्षेपभन्दा पनि कर्जा लगानी धेरै देखिएको राष्ट्र बैंक अध्ययनले देखाएको छ ।
केन्द्रीय बैंकको अध्ययन अनुसार मधेसको कर्जा–निक्षेप अनुपात १०३ प्रतिशतभन्दा धेरै छ । यो केन्द्रीय बैंकले तोकेको माथिल्लो सीमाभन्दा १३ प्रतिशत विन्दुले धेरै हो । मधेसका बैंक तथा वित्तीय संस्थाले निक्षेप लिनेभन्दा धेरै कर्जा लगानी गरेको देखिन्छ ।
अध्ययन अनुसार कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात ६०.१५ प्रतिशत छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म १ खर्ब ११ अर्ब १५ करोड निक्षेप संकलन गरेका छन् ।
सोही अवधिसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६६ अर्ब ८५ करोडमात्र छ । रकमका आधारमा सबैभन्दा थोरै कर्जा लगानी भएको प्रदेश पनि कर्णाली नै हो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा केही सुधार देखिएको छ । २०८३ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात ७९.३० प्रतिशत छ ।
सोही अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले २ खर्ब ६ अर्ब ९ करोड ९५ लाख निक्षेप संकलन गरेर १ खर्ब ६३ अर्ब ४१ करोड २८ लाख बराबर कर्जा लगानी गरेका छन् ।
सबैभन्दा धेरै कर्जा–निक्षेप अनुपात भएको मधेसका बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ७८ अर्ब ३७ करोड निक्षेप संकलन गरेर ४ खर्ब ७ अर्ब ७३ करोड कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । २०८३ असार मसान्तमा कर्जा–निक्षेप अनुपात १०३.४६ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात १२१.६१ प्रतिशत थियो ।
केन्द्रीय बैंक अध्ययन अनुसार कोशी प्रदेशको कर्जा–निक्षेप अनुपात ९९.६ प्रतिशत छ । २०८३ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६ खर्ब ४१ अर्ब ९३ करोड थियो । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा ६ खर्ब ३९ अर्ब ३२ करोड छ ।
कोशीमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८९.४ प्रतिशत छ भने अन्य जिल्लाको हिस्सा १०.६ प्रतिशतमात्र छ ।
सबैभन्दा थोरै कर्जा–निक्षेप अनुपात भएको गण्डकीका बैंक तथा वित्तीय संस्थाले २०८३ असारसम्म ७ खर्ब २६ अर्ब ६३ करोड निक्षेप संकलन गरेर ३ खर्ब ६३ अर्ब ८३ करोडमात्र कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
गण्डकीका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामध्ये कृषि क्षेत्रमा २२ अर्ब ९८ करोड, औद्योगिक २९ अर्ब ८ करोड, सेवा १ खर्ब ७ अर्ब १२ करोड र अन्य क्षेत्र (रियल इस्टेट, शिक्षा, उपभोग लगायत) मा २ खर्ब १ अर्ब ६५ करोड छ ।
त्यसैगरी गत आव लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात ७५.५ प्रतिशत छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ९१ अर्ब ९४ करोड ६ लाख निक्षेप संकलन गरेर ५ खर्ब ९७ अर्ब ९९ करोड ४० लाख कर्जा लगानी गरेका छन् ।
यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा ७.२४ प्रतिशत छ भने गत वर्ष सोही अवधिमा ५.९८ प्रतिशत थियो ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा धेरै ३६.७१ प्रतिशत हिस्सा रहेको बागमती प्रदेशका बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात ६८.८२ प्रतिशत छ ।
२०८३ असारसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले ५२ खर्ब ६७ अर्ब २३ करोड निक्षेप संकलन गरी ३६ खर्ब २४ अर्ब ७७ करोड कर्जा लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।