सहरमा घर र व्यवसाय भए पनि दसैं मनाउन गाउँ फर्किनेहरू बढेका छन् । आफन्तसँगको भेटघाट, स्थानीय परिकारको स्वाद र गाउँको आत्मीयताले उनीहरूलाई पुर्ख्यौली थलोसँग जोडिरहेको छ ।
अर्घाखाँची — सहरमा घर र व्यवसाय छ, सुविधासम्पन्न जीवन छ । तर दसैं लागेपछि धेरैको मन गाउँतिरै तानिन्छ । वर्षभरि सुनसान रहने पुर्ख्यौली घरका ढोका खुलेका छन् । आँगनमा आफन्त र साथीभाइको जमघट, गाउँका बाटाघाटा र मन्दिरमा चहलपहल छ । कच्ची घरका भित्तामा रातो माटो र कमेरो पोतिएको छ । अर्घाखाँचीका गाउँबस्तीमा दसैंले यसरी नै रौनक फर्काएको छ ।
लामो समय वैदेशिक रोजगारीमा बिताएका राम बेल्वासेको काठमाडौंको बानेश्वरमा घर छ । तर दसैं मनाउने बेला उनी शितगंगा नगरपालिका–३, ठाडास्थित गाउँको घरमा आए । यसपालि दसैंको टीका नभए पनि उनी काठमाडौं छाडेर गाउँ फर्किए ।
‘दसैंमा काठमाडौंभन्दा गाउँमै रमाइलो हुन्छ,’ बेल्वासेले भने, ‘सहरमा दसैंका बेला धेरै मानिस जन्मथलो फर्किन्छन् । गाउँमा भने नातेदार, इष्टमित्र र विद्यालयमा सँगै पढेका साथीभाइसँग भेटघाट हुन्छ । अरू बेला गाउँ आउँदा परिवारका सदस्यसँग मात्रै भेट हुन्छ, दसैंमा सबैसँग भेटेर पुराना कुरा साट्न पाइन्छ ।’
दसैं आफन्तसँग भेटघाट गर्ने अवसर मात्रै होइन, बाल्यकालका सम्झना ताजा बनाउने र स्थानीय रहनसहनसँग जोडिने समय पनि भएको उनी बताउँछन् । गाउँमा बसेर स्थानीय परिकार र खसीबोकाको मासुको स्वाद लिनु, छिमेकीसँग दुःखसुख साट्नु र साथीभाइसँग घुमघाम गर्नुको आनन्द बेग्लै हुने उनले बताए ।
दसैंमा जन्मथलो फर्किँदा बेल्वासे सराय नाच हेर्न र सहभागी हुन पनि उत्साहित हुन्छन् । एकादशीदेखि पूर्णिमासम्म विभिन्न दुर्गाभगवती मन्दिरमा तरबार, खुँडा र भाला नचाउँदै बाजागाजासहित सराय नाच्ने परम्परा छ । यो अर्घाखाँचीको सांस्कृतिक पहिचान पनि हो । ‘सराय नाच्दा र हेर्दा साह्रै रमाइलो हुन्छ । यसले हाम्रो परम्परा र संस्कृति जोगाउन पनि मद्दत गर्छ,’ उनले भने, ‘दसैंमा गाउँमा बस्दा साथीभाइसँग भेटघाट हुन्छ, घुमघाम गर्न पाइन्छ । सहरको व्यस्तताबाट टाढा भएर मनलाई ताजा बनाउन पनि आउँछु ।’
जन्मघर ठाडामा साथीभाइ र छिमेकीसँग भेटघाट गरेपछि बेल्वासे श्रीमतीसहित परिवार लिएर सन्धिखर्क नगरपालिका–१२, डिभर्नास्थित ससुराली घरमा पनि पुगे । गाउँको घर, स्थानीय पर्यटकीय स्थल, दुर्गाभगवती मन्दिर र साथीभाइसँगका भेटघाटका तस्बिर तथा भिडियो फेसबुक र टिकटकमा राखेर उनले गाउँको दसैं, पर्यटकीय गन्तव्य डमरु दह र भूगोललाई सामाजिक सञ्जालमार्फत अरूसँग पनि बाँडेका छन् ।
काठमाडौंमा व्यवसाय गर्दै आएकी सुभद्रा खत्रीलाई पनि दसैंमा आफ्नो गाउँको घर प्यारो लाग्छ । दसैंको टीकाभन्दा चार दिनअघि नै उनी सिद्धारा गाउँको घरमा पुगिन् । कच्ची घरका भित्तामा कमेरो र रातो माटोले लिपपोत गरिन् । घर वरिपरि सरसफाइ गरेर चिटिक्क पारिन् । दसैंको दिन त्यही घरमा सासू–ससुराको हातबाट टीका लगाएर पर्व मनाइन् ।
‘व्यापार गर्न काठमाडौं बस्छु, दसैं मनाउन आफ्नो ठाउँ आउँछु,’ खत्री भन्छिन्, ‘भरसक दसैं काठमाडौंमा मनाउँदिनँ । स्थानीय खसीबोकाको मासु, काँक्रा, तितेकरेला र गिठाको अचार खान पाइन्छ । आफ्नो गाउँको स्वाद नै बेग्लै हुन्छ ।’ गाउँ फर्किनुको खुसी खानपिनमा मात्रै सीमित छैन । घरमा टीका लगाएपछि नजिकै रहेको माइतीघर पुगेर बुवाआमा र दाजुभाउजूको हातबाट टीका तथा आशीर्वाद लिन पाउँदा थप आनन्द मिल्ने उनले बताइन् । सँगै पढेका साथीभाइदेखि पुराना चिनजानका मानिससँग भेटघाट गर्न पाउनु पनि दसैंको अर्को आकर्षण भएको उनको भनाइ छ ।
‘दसैंमा मलाई गाउँकै घर प्यारो लाग्छ । साथीभाइसँग भेटघाट हुन्छ, सराय नाच्न र हेर्न पाइन्छ । डाँडाकाँडा घुमेर रमाइलो गर्छौं,’ उनी भन्छिन्, ‘पूर्णिमाको भोलिपल्ट काठमाडौं फर्किने तयारीमा छौँ ।’
बुटवलमा बस्दै आएका मालारानीका गोकर्ण राना पनि परिवारसहित दसैं मनाउन गाउँ फर्किएका छन् । अघिल्लो वर्ष उनले सहरमै दसैं मनाएका थिए । तर गाउँमा जस्तो रमाइलो अनुभव गर्न पाएनन् । ‘दसैंका दुई–चार दिन बजार सुनसान भयो । भेटघाट गर्ने मानिस पनि भएनन्,’ रानाले भने, ‘यसपालि गाउँमा आएपछि पुराना साथीभाइसँग भेट भयो । उनीहरूका छोराछोरीसँग पनि चिनजान गर्ने अवसर मिल्यो ।’
रानाले केही समयअघि गाउँको कच्ची घरका भित्ता र भुइँमा सिमेन्टको प्लास्टर गरेर बस्नयोग्य बनाएका छन् । दसैंमा, कुलपूजा र अन्य अवसरमा गाउँ आएर बस्न पाइयोस् भनेर घरजग्गाको संरक्षण गर्दै आएका छन् । सहरमा बसे पनि पुर्ख्यौली घरसँगको सम्बन्ध कायम राख्न उनी चाहन्छन् । अग्लो डाँडामा रहेको गाउँको घरमा बस्दा मन फुरुंग हुन्छ । यहाँको वातावरणमा रमाउन पाउनुका साथै छोराछोरीलाई गाउँको परिवेश बुझाउने अवसर पनि मिलेको उनले बताए । ‘दसैं–तिहारको बिदामा छोराछोरीलाई गाउँ ल्याउँदा उनीहरूले धेरै कुरा सिक्छन् । खेतीपाती कसरी गरिन्छ, अन्न कहाँ कसरी फल्छ र पशुपालन कसरी हुन्छ भन्ने बुझ्छन्,’ रानाले भने, ‘गाउँमा आउनु उनीहरूका लागि रमाइलो मात्रै होइन, सिकाइ पनि हो । त्यसैले दसैं गाउँमै मनाउन मन लाग्छ ।’ उनका छोराछोरीले कच्ची घर, खेतीपाती, अग्ला पाखापखेरामा पुगेर तस्बिर खिचेर सामाजिक सञ्जालमा रमाएका छन् ।
दसैंसँगै अर्घाखाँचीका गाउँबस्तीमा चहलपहल बढेको छ । वर्षभरि सुनसान रहने घरका ढोका खुलेका छन् । कतै कच्ची घरका भित्तामा रातो माटो र सेतो कमेरो पोतिएको छ, कतै घरआँगन सफा गरेर चिटिक्क पारिएको छ । ढुंगाको छानो भएका पुराना घरमा समेत विजया दशमी तथा दीपावलीका शुभकामना लेखिएका छन् ।
स्वदेशका विभिन्न सहरमा पेसा, व्यवसाय, अध्ययन र रोजगारीमा रहेका तथा विदेश पुगेका मानिस दसैं मनाउन गाउँ फर्किएपछि बस्तीमा रौनक थपिएको छ । घरआँगनमा बालबालिकाको चहलपहल बढेको छ । लामो समयदेखि नभेटिएका आफन्त र साथीभाइबीच भेटघाट भइरहेको छ । गाउँका बाटाघाटा, मन्दिर र पर्यटकीय स्थलमा पनि मानिसको आवागमन बाक्लिएको छ ।
सहरमा घर बनाएर बसेका धेरैका लागि गाउँको घर दसैंमा फर्किने थलो बनेको छ । आफन्तसँगको भेटघाट, स्थानीय परिकारको स्वाद, परम्परागत सराय नाच र गाउँको आत्मीयताले उनीहरूलाई पुर्ख्यौली थलोप्रति जोडिरहेको छ । नयाँ पुस्तालाई गाउँको रहनसहन बुझ्ने अवसर मिल्ने गरेको छ ।
वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।