Trending
Prev Story
Next Story

असुरक्षित बन्दै आप्रवासी चराको बासस्थल

Ekantipur •
May 09, 2026 • 01:55 PM
3
3 reads 0 reactions

पछिलो समय बसाइँ सरेर आउने चराको बासस्थान भने खुम्चिँदै गएको छ। सीमसार क्षेत्र अतिक्रमण, कृषिमा रासायनिक मलको प्रयोग र वन डढेलोलगायतले पन्छी मर्कामा परेका छन् ।

असुरक्षित बन्दै आप्रवासी चराको बासस्थल

पछिलो समय बसाइँ सरेर आउने चराको बासस्थान भने खुम्चिँदै गएको छ। सीमसार क्षेत्र अतिक्रमण, कृषिमा रासायनिक मलको प्रयोग र वन डढेलोलगायतले पन्छी मर्कामा परेका छन् ।

कपिलवस्तु — मुलुकका वन क्षेत्र गृष्मकालीन चराका कोकिलकण्ठे बोली र चिरबिराहटले मनोरम बनेका छन् । पन्छीका सुरिला आवाजले वनपाखा गुन्जायमान बनिरहेका छन् । यतिबेला कतिपय चरा वन, घाँसे मैदान र कृषि भूमिमा ओथारो बसेका छन् । कतिलाई बचेरा हुर्काउन भ्याइनभ्याइ छ । यी चरा अनुकूल ठाउँ खोज्दै सयौं माइल पार गरेर यहाँ आइपुगेका हुन् ।

पछिलो समय बसाइँ सरेर यहाँसम्म आउने चराको बासस्थान भने खुम्चिँदै गएका छन् । सीमसार क्षेत्र अतिक्रमण, कृषिमा रासायनिक मलको प्रयोग र वन डढेलोले पन्छी मर्कामा परेका हुन् । यसले चराको दैनिकी, प्रजनन् र जीवनयापनमा चुनौती थपिएको छ । जसले चराको बसाइँसराइ पनि प्रभावित भएको छ । चराको सुरक्षित बसाइँसराइबारे सचेतना जगाउन अन्तर्राष्ट्रिय ‘वर्ल्ड माइग्रेट्री बर्ड डे’ मनाउने गरिन्छ । प्रत्येक वर्ष मे र अक्टुबरको दोस्रो शनिबार विश्वभर यो दिवस मनाइन्छ । यस पटक वैशाख २६ मा बसाइँसराइ दिवस परेको हो ।

चरा पर्यटनकालागि उत्कृष्ट गन्तव्य भए पनि पछिल्लो समय जलवायु परिवर्तनले चराको बसाइँसराइ चक्र प्रभावित बनाएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘आहारविहारका लागि एक ठाउँ जानुपर्ने चरा अर्को ठाउँमा पुगिरहेका छन्,’ उनले भने, ‘नयाँ गन्तव्यमा जाँदा चुनौती थपिएको छ । आगन्तुक चरा रैथाने बन्न पुगेका छन् ।’ राम्रो आहारविहार नपाउँदा बचेरा हुर्काउन समस्या भएर चरा संकटमा पर्न थालेको उनले बताए । नदी–ताल प्रदूषित हुनु, जलस्रोतमा विषादी प्रयोग, वातावरण प्रदूषण र चोरी सिकारले बसाइँसराइ गरेर आउने चरा प्रभावित बनेका छन् । निर्वाध रूपमा आवागमन गर्ने वातावरण बनाउन आहारविहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि विश्वव्यापी रूपमा हातेमालो गर्दै सचेतना अभिवृद्धि गर्न विश्व बसाइँसराइ दिवस मनाइन थालेको चराविद् कृष्णप्रसाद भुषालले बताए । ‘यसले थोरै भए पनि सचेतना गरेको छ,’ उनले भने, ‘त्यसलाई अझ प्रभावकारी बनाउनेतिर लाग्नु पर्छ ।’

नेपालमा वर्षको दुईपटक चरा बसाइँ सरेर आउँछन् । हिउँदमा सिमसार क्षेत्र पानी हाँस र अन्य जलपन्छीले भरिभराउ देखिन्छन् । गर्मीयाममा आफ्नै थातथालोमा फर्किन्छन् । हिउँदे चरा फर्किएपछि वन, बुटयान घासेमैदान र कृषिभूमि मन पराउने चरा आउँछन् । चराले प्रजनन् क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष मौसम अनुसार नियमितरुपमा यात्रा गर्छन् । जसलाई चराको बसाइँसराइ भनिन्छ ।

अनकुल मौसम, सुरक्षित बासस्थान, अहारविहार र प्रजनन्कालागि चरा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँसरी आउनेजाने गर्छन् । हिउँदमा चखेवाचखेवी, खोया, नकटा, खडखडे, फुर्के, सिन्दुरे, नादुन, सुनजुरे र बेल्चाठुडेलगायत १ सय ५० बढी प्रजातिका चरा बसाइँसराइ गरेर नेपालमा आउँछन् ।

रुस, चीन, मङ्गोलिया, किर्गिस्तानका साथै युरोप, कोरिया र तिब्बतबाट जाडो छल्न नेपालमा हिउँदे आगन्तुक चरा आउँछन् । गृष्ममा स्वर्गचरी, राजचरी, निलपुछ्रे र कटुसटाउके मुरलीचरा, जुरे कोइली, चित्रक र गाजले पिट्टा, रानी चरी र लालचुच्चे ठेउवालगायत ६२ बढी प्रजातिका चरा आउँछन् । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाईल्यान्ड, म्यानमार, मलेसिया र ईण्डोनेशियासम्मबाट चरा यहाँ आई पुग्छन् । हिउदे आगन्तुक चरा गर्मीयामको सुरुवातसँगै आफ्नो बासस्थान फर्किसक्दा गृष्म आगन्तुक चरा बसाइँसराइ गर्दै यहाँ आउँछन् ।

सयौं माइल जोखिमपूर्ण यात्रा गर्दै आएका चरा नांगो बिजुलीका तारमा छोइएर मर्ने, उडान मार्गमा हुने अवरोधले समस्यामा पर्ने र जलवायु परिवर्तनले दिशा पछिल्याउन नसकेर गन्तब्यमा पुग्न नसक्दा अहिलेको जल्दोबल्दो चुनौती बनेको डब्लुडब्लुएफ नेपालका देशीय प्रतिनिधि डा. घनश्याम गुरुङले बताए । ‘जलवायु परिर्वतनले बचेरालाई आहाराको समस्या भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा बचेरा हुकाउन गाहैं भएको छ । जलवायुले प्रजनन् समयनै परिवर्तन हुन थाले पछि अर्को समस्या थपिएको छ ।’

विश्वमा पाइने ११ हजार भन्दा बढी चरा प्रजातिमध्ये करिब ४० प्रतिशत नियमित रुपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गरिरहन्छन् । बसाइँसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानकालागि सूर्य तथा ताराहरुको अवस्थिती, नदीलगायतको सहयोग लिएर उड्छन् । चराले बसाइँसराइका बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ । अहिलेसम्म बिश्वमा नौ वटा यस्ता उडान मार्ग पहिचान गरिएका छन् । नेपाल मध्य एशियाली उडान मार्गमा पर्छ । चराले बसाइँसराइ गर्ने बेला यिनै निश्चित उडानमार्ग हुँदै आवतजावत गर्छन् । नेपालमा बसाइँसराइ गरी आउने चरा भने पछिल्लो समय घट्दै गएका छन् ।

गृष्मयाममा आउने चरा गणना नगरिए पनि हिउँदेयामका चरा घट्दै गएको पाइएको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक तथा राष्ट्रिय चरा गणना संयोजक लक्ष्मण पौड्यालले बताए । सन् २०२५ मा ९४ प्रजातिका ९९ हजार ५६५ पानी चरा गणना भएको र २०२६ मा ८९ प्रजातिका ९० हजार ६८८ चरा गणना भएको उनले बताए ।

मुलुकभरका १८ प्रमुख सिमसार क्षेत्र र त्यस अन्तर्गत पर्ने ७८ साना सिमसार, खोला, नाला र पोखरीमा गणना गरिएको थियो । पानी चरा पाइने मुलुकका प्रमुख ठाउँ जगदीशपुर ताल, कोशी टप्पु, बर्जुताल, चितवन, बाँके र बर्दिया निकुञ्ज र वरपर क्षेत्रमा पनि पानी चराको बसाइँसराइ घटेको छ ।

गृष्म आगन्तुक चरा भने नेपाल आउन निकै मन पराउँछन् । विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रात भन्दा दिन लामो हुने भएकाले बढी समय आहारविहार गर्न पाउने हुँदा चरा यता आकर्षित हुने चराविद् डीबी चौधरीले बताए । ‘बच्चा कोरलेर हुर्काउन सुरक्षित ठाउँ रोजीरोजी पाउँछन्,’ उनले भने, ‘आहारविहारमा गर्न पनि प्रतिस्पर्धा हुँदैन् ।’ त्यही भएर यहाँ आकर्षित हुने उनले बताए । तर, पछिल्लो समय बासस्थान विनास, वनजंगल अतिक्रमण र प्रदुषणले चराको दैनिकी गाहैं बनाउँदै लगेको छ ।

बसाइँसराइ गर्ने चराका यात्रा निकै रोचक र साहसिक हुन्छन् । कतिपय अवस्थामा चमत्कारिक पनि हुन्छ । परेवा जत्रो शरीर हुने आर्कटिक टर्न चरा संसारकै सबैभन्दा लामो दुरीको यात्रा तय गर्ने प्राणी भएको चराविद् कृष्णप्रसाद भुषालले बताए । यसले हरेक वर्ष करिब ९० हजार किलोमिटर दुरी पार गर्दै उत्तरी ध्रुवबाट दक्षिण धु्रवसम्म बसाइँसराइ गर्ने गरेको उनले बताए । त्यस्तै ग्रेट स्नाइप भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा निरन्तर उड्दै ६ हजार ८ सय किलोमिटर दुरी पार गर्ने उनले बताए । करिब १० दिनसम्म खाना र आराम नगरी उडेर बार टेल गुडवीट १३ हजार किलोमिटर दुरी पार गरी अलास्काबाट न्युजील्याण्डसम्म पुग्ने उनले बताए ।

त्यसैगरी सर्वोच्च शिखर सगरमाथा भन्दामाथि ९ हजार ३७५ मिटरबाट खोया हाँस उडेर नेपालमा हिउँद बिताउन बसाइँ सरेर आउने गरेको अभिलेख गरिएको छ । धेरै उचाइँमा अक्सिजन र तापक्रम अत्यन्त न्यून हुन्छ । अझ जीवजन्तु उड्न निक्कै गाहैं हुन्छ । बढी उचाइँमा श्वासप्रश्वासको समस्या बल्झिन्छ । तर खोया हाँस कसरी त्यत्रो उचाइँमा सजिलै उडेर आउजाउ गर्छन् सबैलाई आश्चर्य र कौतुहल बनाएको डब्लुडब्लुएफ नेपाल प्रोग्राम पाटनरसिप डिपाटमेण्ट हेड राजेन्द्र सुवालले बताए । नेपालमा हिउँदमा उत्तरबाट चराहरु हिमालका बीचमा पर्ने होचा खोचबाट उड्दै नेपालमा बसाइँसराइ गर्छन् ।

गृष्मकालीन आगन्तुक चरा पनि हजारौं किलोमिटर दुरी पार गरी नेपाल भित्रिन्छन् । अफ्रिकी महादेशबाट प्रिमनसुनको हावाको बहाबसगसँगै जुरे कोइली करिब ५ हजार किलोमिटर लामो दुरी पार गर्दै नेपाल भित्रिन्छन् । मानवसँग नजिकको सम्बन्ध राख्ने प्राणीमध्ये एक महत्वपूर्ण प्राणी चरा हुन् । चराहरू मानव जीवन, कृषि र पारिस्थितिक प्रणाली सन्तुलन राख्न निकै महत्वपूर्ण मानिन्छन् । यिनले परागसेचन र बालीनाली हानी नोक्सानी गर्ने कीरा फट्यांग्रा मुसा खाएर नियन्त्रण कृषकको साथीका रुपमा रहेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका देशीय प्रतिनिधि डा. भगवान दाहालले बताए ।

चराले फलफुलका बीउ एक ठाउँबाट अर्को पुर्‍याएर बनस्पतिको बृद्धि र विकासमा सहयोग गर्छन् । चराले प्रकृतिको सुन्दरता र सन्तुलन कायम राख्न उत्तिकै मद्दत गरेका छन् । चरा पर्यटनको महत्वपूर्ण गन्तब्यका रुपमा रहेको नेपालमा अहिलेसम्म ९ सय ३ प्रजातिका चरा पाइएको अभिलेख छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
15h ago
रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना

रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना

साइबेरियालगायत हजारौं किलोमिटर टाढाबाट हिउँद छल्न नेपालका सिमसार क्षेत्रमा आउने आगन्तुक चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ। ‘बर्ड कञ्जरभेसन’ नेपालको वार्षिक पानीचरा गणनाले काठमाडौं उपत्यका...

#चरा #आउने
Compare →

Related Stories

World News
Build #2612